मुलुकको छापा पत्रकारिताको इतिहासमा जगका रूपमा रहेको गोरखापत्रलाई सिङ्गो पत्रकारिताको विश्वविद्यालय पनि मानिन्छ । पत्रकारिताको आजको विकसित स्वरूपबाट पछाडि फर्किएर गोरखापत्रलाई नियाल्दा पत्रकारिताको ‘गुरुकुल’ का रूपमा रहेको विदित हुन्छ । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक पत्रिकाका रूपमा प्रकाशित गोरखापत्र एसिया महादेशमा प्रकाशन हुँदै आएका पुराना छापामध्येमा पर्नु गौरवबोधी विषय हो । राणा शासनकालमा सुधारवादी शासक श्री ३ देवशमशेरले जनतालाई देश दुनियाँका खबरद्वारा सुसूचित गराउने पवित्र उद्देश्यले सनद जारी गरेर प्रकाशन प्रारम्भ गरिएको साप्ताहिक ‘गोर्खापत्र’ राजनीतिक उतारचढावका अनेक शासन व्यवस्थाका घामपानी सहँदै निरन्तरताको १२४ औँ वर्षमा प्रवेश गरेको छ । विसं २०१७ फागुन ७ गतेदेखि दैनिक रूपमा प्रकाशित हुँदै आएको गोरखापत्रले समाचार तथा सूचना प्रवाहमा अग्रणी भूमिका खेल्दै नेपाली भाषा, साहित्य, कला, धर्म र संस्कृतिको उन्नयनमा समेत विशिष्ट योगदान पुर्याउँदै आएको जगजाहेर छ ।