काठमाडौं। सौरभ ग्रूपको लगानी रहेको जगदम्बा स्पिनिङ मिल्सले आर्थिक वर्ष सन् २०२३ को ९ महीनामा २ अर्ब ७८ करोड रुपैयाँ सञ्चालन आम्दानी कमाएको छ । रेटिङ कम्पनी इक्रा नेपालका अनुसार कम्पनीले आर्थिक वर्ष सन् २०२२ मा भने २ अर्ब ३२ करोड रुपैयाँ सञ्चालन आम्दानी कमाएको थियो । कम्पनीले उत्पादन गर्ने सिन्थेटिक धागो ठूलो परिमाणमा भारत र टर्की निर्यात हुँदै आएको छ ।
कम्पनीले ३ अर्ब रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ । इक्रा नेपालले कम्पनीको १ अर्ब १६ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि एल डबल बी र १ अर्ब ९१ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि ए फोर रेटिङ दिएको छ ।
सन् २००५ मा स्थापित यस कम्पनीले पोलिस्टर धागो, पोलिस्टर भिस्कोज, मिश्रित धागो र एक्रेलिक धागोलगायत फाइबरमा आधारित धागो उत्पादन गर्छ । कम्पनीको उद्योग रूपन्देहीमा रहेको छ । कम्पनीमा दुर्गाप्रसाद न्यौपानेको ४० प्रतिशत, विष्णुप्रसाद न्यौपानेको २२ प्रतिशत र वैभव न्यौपानेको १६ प्रतिशत शेयर रहेको छ । कम्पनीको अध्यक्षमा विष्णुप्रसाद न्यौपाने छन् ।