जेठ १७, काठमाडौं । राधी विद्युत् कम्पनीको १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय सार्वजनिक भएपछि सोमवार शेयरमूल्य सर्किट लेबलमा वृद्धि भएको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार २५६ पुगेको हो ।हकप्रद शेयर निष्कासन गर्ने निर्णयपछि कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढ्दा शेयरमूल्य वृद्धि भएको हो । ।
कम्पनीले प्रस्तावित ३६ दशमलव ५ प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजी रू.६४ करोड ६४ लाख ४ हजार ६२२ को आधारमा हकप्रद शेयर विक्री गर्न लागेको हो ।
कम्पनीको गत जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर विक्री गर्ने निर्णय गरेको हो । कम्पनीले हकप्रद शेयरको प्रस्ताव आगामी साधारण सभाबाट पारित गराउने जानकारी दिएको छ ।
कम्पनीले कोभिडका कारण ढिलाइ भएको १५ औं वार्षिक साधारण सभा यथाशिघ्र सम्पन्न गर्नेसमेत जानकारी दिएको छ । हाल कम्पनीको चुक्तापूँजी रू.४७ करोड ३५ लाख ५६ हजार ५०० रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले करबाहेक उक्त बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।