जेठ २३, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्सेमा कारोबारमा आएका २१८ ओटा कम्पनीमध्ये सबैभन्दा बढी चार ओटा कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।
ती कम्पनीमध्ये सबैभन्दा बढी राधी विद्युत् कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको हो । योदिन कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ५६ प्रतिशतले कमि आएको छ ।
योदिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ४७ मा झरेको हो । कम्पनीले बोनस शेयर वितरणपछि कायम चुक्तापूँजीको १४७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएसँगै शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ३०० भन्दा माथि पुगेको थियो ।
त्यसैगरी दोस्रोमा दिब्यशवरी हाइड्रोपावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव ९१ प्रतिशत,नारायणी डेभलपमेण्ट बैंकको ५ दशमलव ९७ प्रतिशत र आँखुखोला जलविद्युत् कम्पनीको शेयरमूल्य ५ दशमलव ४९ प्रतिशतले कमि आएको छ ।
दिब्यश्वरी हाइड्रोपावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.२२९,नारायणी डेभलपमेण्ट बैंकको रू.७२४ र आँखुखोला जलविद्युत् कम्पनीको रू. २४१ पुगेको छ ।
केहि दिनदेखि हाइड्रोपावर समूह र बैंक समुहको शेयर मूल्यमा सर्किट लेबलमा वृद्धि हुँदै आएको थियो ।
बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न लागेसँगै हाइड्रोपावर समूहका कम्पनीहरुमा गिरावट आएको हो । आइतवार केहि विकास बैंकहरुको शेयरमूल्यमा पनि गिरावट आएको छ ।
नारायणी विकास बैंकको शेयरमूल्य पनि विगत लामो समयदेखि वृद्धि हुँदै आएको छ । उक्त कम्पनीको शेयरमा लगानीकर्ताहरुले योदिन नाफा बुक गरेको देखिएको छ । पछिल्लो समयदेखि लगानीकर्ताहरुले समूहगत लगानी गर्न थालेका छन् ।
योदिन हाइड्रोपावर समूह,विकास बैंक समूह र वित्त समूहका कम्पनीहरुको शेयर मूल्यमा उच्च दरमा वृद्धि भएसँगै आइतवारदेखि लगानीकर्ताहरु फेरि बैंकिङ समूहमा लागेका छन् । सोही कारण अधिकांश वाणिज्य बैंकहरुको शेयरमूल्यमा वृद्धि भएको छ । आइतवार बजार बढेसँगै नेप्सेले नयाँ रेकर्ड बे्रक गरेको छ ।