कात्तिक ८, काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ ।
कम्पनीले असोज ७ गतेदेखि १४ गतेसम्म शिलबन्दी बोलपत्र मार्फत विक्री खुला गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको हो । कम्पनीले संस्थापक समूहको ३ लाख ३० हजार कित्ता र सर्वसाधारण समूहतर्फको ३२ लाख २९ हजार ७२४ कित्ता शेयर खरीदका लागि बोलपत्र आह्वान गरेको थियो ।
उक्त समयमा प्राप्त बोलपत्रहरु असोज २२ गते (शुक्रवार) कम्पनीको विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको फेसबुक लाइभ मार्फत खोलिएको हो ।
सर्वसाधारणतर्फ रू. २२५ दशमलव १० का दरले बोलपत्र पेश गरेकाहरुलाई माग बमोजिम र रू. २२५ का दरले बोलपत्र पेश गरेकाहरुलाई समानुपातिक रुपमा बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ ।
बाँडफाँटमा नपरेको शेयर बापतको रकम फिर्ता भुक्तानी आइतवारदेखि आवेदकले बोलपत्र फाराममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाहरुको खातामा जम्मा गरेको कम्पनीले जानकारी दिएको छ ।