काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. ५ करोड ७४ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा भने करीब २९ प्रतिशत कम हो । अघिल्लो आवमा कम्पनीले रू.७ करोड ९७ लाख नाफा कमाएको थियो ।
गत आवमा कम्पनीको सञ्चालन नाफा ऋणात्मक रहेकाले र खुद ब्याज आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । अघिल्लो आवमा कम्पनीको सञ्चालन नाफा रू. ४ करोड १६ लाख धनात्मक रहेकोमा गत आवमा रू. १ करोड ८८ लाख ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा १४ प्रतिशत कमि आएको हो ।
कम्पनीको चुक्ता पूँजी रू. ३९ करोड १४ लाख रहेको छ । कम्पनीले गत आवमा जगेडामा रू. १२ करोड ३६ लाख सञ्चिति गरेको हो । सो अवधिमा कम्पनीले रू. १ अर्ब ४० करोड सापटी लिएर, रू. ९८ करोड १४ लाख निक्षेप संकलन गरेर रू. २ अर्ब ९० करोडभन्दा बढी कर्जा लगानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ५६ पैसा (वार्षिक), तरलता अनुपात ५ दशमलव २१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव ३६ छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्