फागुन ३०, काठमाडौं । सोल्टी होटल लिमिटेडले चालू आर्थिक वर्षको ६ महीनासम्मको अपस्किृत वित्तीय विवरण सोमवार बल्ल सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस वर्ष होटलले खुद नाफा गरेको छ ।
गत वर्षको दोस्रो त्रैमाससम्म रू. ११ करोड ५१ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नोक्सानी सुधार्दै रू. ४ करोड ९० लाखभन्दा बढी खुद नाफा गर्न सफल भएको हो ।
यस वर्ष कम्पनीको आम्दानी १६३ दशमलव ६९ प्रतिशत बढेकाले पनि खुद नाफा गर्न सफल भएको हो । गत वर्ष रू. १६ करोड ९८ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ४४ करोड ७८ लाखभन्दा बढी आम्दानी गरेको हो ।
त्यस्तै, गत वर्ष रू. २८ करोड ४७ लाखभन्दा बढी खर्च गरेको कम्पनीले यस वर्ष रू. ३९ करोड ५४ लाखभन्दा बढी खर्च गरेको छ । कम्पनीको खर्च रकम गत वर्षभन्दा यस वर्ष करीब ३९ प्रतिशत बढी भएको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ८४ करोड २५ लाखभन्दा बढी छ । रिटेन्ड अर्निङ सहित कम्पनीको जगेडा कोष रकम भने गत वर्षभन्दा यस वर्ष ७ दशमलव ७१ प्रतिशत कम रू. ६३ करोड ८६ लाख कायम भएको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य दशमलव ५८ र प्रतिशेयर नेटवर्थ रू. १७ दशमलव ५८ रहेको छ ।
स्रोतः कम्पनीद्वारा जारी सूचना