मानवीय दिमागबाट सृजित अमूर्त सम्पत्तिका रूपमा रहेको सम्पत्तिको अधिकारका रूपमा कानूनले मान्यता र संरक्षण दिनुलाई बौद्धिक सम्पत्तिका रूपमा लिन सकिन्छ । यसको आर्थिक तथा नैतिक महत्त्व रहेको हुन्छ । बौद्धिक सम्पत्ति सृजनाकर्तालाई कुनै पनि आर्थिक शोषण हुनबाट संरक्षण गरेको हुन्छ । यसभित्र प्रतिलिपि अधिकार, पेटन्ट औद्योगिक नमुना, ट्रेर्डमार्क र ख्याति पर्न आउँछ ।
कानूनी व्यवस्थाले बौद्धिक सम्पत्ति धनीको हकअधिकारको संरक्षण हुने व्यवस्था छ । बौद्धिक सम्पतिका धनीका अनुमतिविना कसैले प्रयोग गरेमा हुने वा हुन सक्ने दण्ड जरीवाना, क्षति पूर्ति, अनुमति लिई वा नलिई प्रयोग गर्न सक्ने अवस्थाबारे कानूनी व्यवस्था गरिएको छ ।
मुलुकी देवानी संहिताको दफा २५१ ले उपभोग गर्न, खरीद, विक्री वा अन्य तवरले हक हस्तान्तरण वा कारोबार गर्न वा कुनै लाभ प्राप्त गर्न सकिने कुनै नगद, वस्तु वा कार्यलाई सम्पत्ति मानेको छ । उक्त संहिताको दफा २५२ ले भौतिक वा अभौतिक, मूर्त वा अमूर्त जुनसुकै अवस्थामा रहे भएको भए पनि सम्पत्ति चल वा अचलको सम्पत्तिका रूपमा विभाजन गरेको छ । उक्त संहिताको दफा २५४(ङ) (छ) ले चल सम्पत्तिमा बौद्धिक सम्पत्ति तथा व्यापारिक ख्याति वा फ्रेन्चाइजलाई राखिएको छ । उपभोग गर्न, खरीद, विक्री वा अन्य तवरले हक हस्तान्तरण वा कारोबार गर्न वा कुनै लाभ प्राप्त गर्न सकिने सम्पत्तिका रूपमा बौद्धिक सम्पत्तिलाई लिइन्छ । कानूनले, हक, अधिकार नदिएको अवस्थामा कुनै पनि सम्पत्तिको महŒव हुँदैन । सम्पत्तिलाई संरक्षण गर्नु हकअधिकारको व्यवस्था गरेको हुन्छ । नेपालको संविधानको धारा २५ (१)ले प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक दिएको छ । संविधानले सम्पत्तिभित्र बौद्धिक सम्पत्तिलाई पनि समेत समेटेको छ ।
बौद्धिक सम्पत्ति विशेष प्रकारका भएकाले यस सम्वन्धमा विशेष कानूनी व्यवस्था छ, जसमा प्रतिलिपि अधिकार ऐन २०५९, पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ रहेको छ । उक्त कानूनी व्यवस्थाले बौद्धिक सम्पत्ति धनीको हक अधिकारको संरक्षण हुने व्यवस्था छ । बौद्धिक सम्पत्तिका धनीका अनुमतिविना कसैले प्रयोग गरेमा हुने वा हुन सक्ने दण्ड जरीवाना, क्षति पूर्ति, अनुमति लिई वा नलिई प्रयोग गर्न सक्ने अवस्थावारे कानूनी व्यवस्था रहेको छ ।
बौद्धिक सम्पत्तिमध्ये पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ सम्बन्धी कानूनी व्यवस्थाले पेटेन्टलाई कुनै पदार्थ वा पदार्थ समूहको बनावट, सञ्चालन वा प्रसारणको नयाँ उपाय वा तरीकासम्बन्धी वा कुनै नयाँ सिद्धान्त वा फार्मुलाद्वारा पत्ता लगाएको कुनै उपयोगी आविष्कारका रूपमा लिएको छ । ऐनले पेटेन्टउपर अधिकार प्राप्त गर्न आफ्नो नाममा पेटेन्ट दर्ता गराउनुपर्ने व्यवस्था छ । दर्ता भएका पेटेन्ट अरू कसैले नक्कल गर्न वा प्रयोग गर्न नपाउने व्यवस्था छ । दर्ता भएको कसैको पेटेन्ट प्रयोग गर्न लिखत अनुमति वा सम्झौता वा नामसारी नगराई प्रयोग गर्न पाउँदैन । कसैको नाममा दर्ता भएको पेटेन्ट निजको अनुमतिविना प्रयोग गरेमा उक्त चिज वस्तु जफत हुने र ५ लाख रुपैयाँसम्म जरीवाना हुने व्यवस्था छ । यस्तो प्रयासमा वा दुरुत्साहन गरेकोमा २ लाख रुपैयाँसम्म जरीवाना हुने व्यवस्था छ । पेटेन्टको उपभोग कति समयसम्म हुने भन्ने सम्बन्धमा ऐनले ऐनको दफा ८ ले पेटेन्ट नवीकरण गरेको अवस्थामा बाहेक दर्ता भएको ७ वर्षसम्म पेटेन्टवालाले हक कायम गर्न सक्छ भने दफा २३ (ख) (३) ले पेटेन्टको हकमा ७ वर्ष कायम गरी दुईपटकसम्म नवीकरण गर्न सक्ने व्यवस्था छ ।
उक्त ऐनले डिजाइनका सम्बन्धमा कुनै प्रकारले तयार गरी बनाएको वस्तुको छाँट रूप वा आकारलाई लिएको छ । साथै डिजाइनको अवधि डिजाइन दर्ता भएको मितिले ५ वर्ष तोकी दर्ता नवीकरण भएमा अवधि थप हुन सक्ने व्यवस्था छ । ट्रेडमार्कका सम्बन्धमा कुनै फर्म, कम्पनी वा व्यक्तिले आफ्नो उत्पादित मालसामान वा आफूले प्रदान गर्ने सेवालाई अरूको मालसामान वा सेवाबाट फरक देखाउन प्रयोग गरिने शब्द, चिह्न वा चित्र वा यी तीनै कुराको संयोगका रूपमा लिएको पाइन्छ । ऐनमा ट्रेडमार्कका सम्बन्धमा कुनै फर्म, कम्पनी वा व्यक्तिले आफ्नो उत्पादित मालसामान वा आफूले प्रदान गरिने सेवालाई अरू मालसामान वा सेवाबाट फरक देखाउन प्रयोग गरिने शब्द, चिह्न चित्र आदिलाई लिएको छ । ट्रेडमार्कलाई पनि दर्ता गरी प्रमाण पत्र लिन पर्ने व्यवस्था छ । ऐनमा डिजाइनको हकमा ५ वर्षको एकपटक गरी दुईपटक र ट्रेडमार्कको हकमा ७/७ वर्षको एकपटक कायम गरी जतिपटक पनि नवीकरण गर्न सक्ने व्यवस्था छ । ट्रेडमार्क मार्कसम्बन्धी कानूनी व्यवस्था उल्लंघन गर्नेलाई ५० हजार रुपैयाँ जरीवाना र कसुरसँग सम्बद्ध चिज वस्तु जफत हुने व्यवस्था छ । साथै, ऐनमा पेटेन्ट डिजाइन र ट्रेडमार्क दर्तावालालाई हानिनोक्सानी पुगेको अवस्थामा हर्जना भराउन सक्ने व्यवस्था छ ।
त्यस्तै, २०२२ सालैमा प्रतिलिपि अधिकार ऐन जारी भई प्रतिलिपि अधिकार संरक्षणमा अग्रसर भएको पाइन्छ पछि त्यस ऐन खारेज गरी प्रतिलिपि अधिकार ऐन २०५९ र यस सम्बन्धी नियमावली जारी गरी प्रचलनमा ल्याएकोे छ । उक्त ऐनले प्रतिलिपि अधिकारको संक्षणका सम्बन्धमा रचयितालाई प्राप्त आर्थिक तथा नैतिक अधिकार रचयिताको जीवनभर र निज मृत्यु भएमा मृत्यु भएको ५० वर्षसम्म संरक्षित हुने व्यवस्था गरेको छ । उक्त ऐनले संरक्षित अधिकार उल्लंघन भएमा त्यस्तो उल्लंघन गर्ने व्यक्तिलाई कैद तथा जरीवाना हुने व्यवस्था गरेको छ । राष्ट्रि«य विकास प्राथमिकता तय गर्न, अन्तरराष्ट्रिय सन्धिसम्झौताबाट सृजित दायित्व पूरा गर्न र वैदेशिक लगानी भिœयाउन बौद्धिक सम्पत्तिसम्बन्धी कानूनी व्यवस्था र संरचना बलियो बनाउनुपर्छ । ऐनमा समेटिएका विषयहरूमा किताब, पर्चा, लेख, शोधपत्र, नाटक, सांगीतिक रचना, श्रव्यदृश्य, आर्किटेक्चर, फोटोग्राफी, उद्धरण, मानचित्र, योजना, भूगोल सम्बद्ध त्रिआयामिक रचना, टोपोग्रापी, वैज्ञानिक लेख रचना, कम्प्युटर प्रोग्राम आदि रहेका छन् । प्रतिलिपि अधिकारमा रचयिताले कानूनी रूपमा प्रतिलिपि अधिकार स्वत: संरक्षण प्राप्त गर्ने हुँदा स्वैच्छिक दर्ता गराउन सकिने व्यवस्था छ । पेटेन्ट, डिजाइन र ट्रेडमार्क कानूनी रूपमा दर्ता गर्न पर्ने व्यवस्था छ । दर्ता नगरेकाले कानूनी उपचार पाउन सक्दैन ।
बौद्धिक सम्पत्ति संरक्षण हुनुपर्छ भन्ने मान्यता अमेरिकी संविधानवाट शुरू भएको पाइन्छ । पछि यसले विश्वव्यापी मान्यता पाएको हो । अहिले प्राय: सम्पूर्ण राष्ट्रले त्यससम्बन्धी कानून बनाई लागू गरेको पाइन्छ । बौद्धिक सम्पत्तिसम्बन्धी कानूनको प्रमुख आधारको रूपमा रहेको सन् १९८६ वर्न महासन्धिलाई नेपालले अनुमोदन गर्नुका साथै विश्व बौद्धिक संगठन एवं विश्व व्यापार संगठनको सदस्य बनेको छ । यस्तै, बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय सन्धिहरूमा औद्योगिक नमूनाको संरक्षणको निम्ति पेरिस महासन्धि, व्यापारिक चिह्न कानून सन्धि, औद्योगिक नमूनाको अन्तरराष्ट्रिय डिपोजित (धरौटी) सम्बन्धी हेग सम्झौता आदि सन्धिहरू महŒवपूर्ण रहेका छन् । बौद्धिक सम्पत्ति संरक्षणले सृजनाकर्ता, उद्योग व्यवसाय, वाणिज्य क्षेत्रमा शाखको संरक्षण गर्दै तिनको चोरी हुनबाट जोगाउँछ । अन्तरराष्ट्रिय क्षेत्रमा बहुराष्ट्रिय कम्पनीहरूको आफ्नो लोगो, ब्रान्ड, ख्याति (गुडविल) ले व्यापार व्यवसायमा लगानी गर्ने हुँदा बौद्धिक सम्पत्ति संरक्षणका लागि अन्तरराष्ट्रिय रूपमा दबाव सृजना गर्ने गरेका छन् । स्रष्टा, अविष्कारक तथा लेखको बौद्धिक सम्पत्तिमाथिको अधिकारको प्रत्याभूति गर्न, उद्योग व्यवसायमैत्री वातावरण बनाउन, पेटेन्ट अधिकार सुरक्षित गर्न, विदेशी लगानी बढाउन, रोजगारीका अवसर सृजना गर्न, विदेशी प्रविधि आयात गर्न र प्रविधि हस्तान्तरण सघाउन तथा उपभाक्ता हित संरक्षण गर्नसमेत बौद्धिक सम्पत्तिको संरक्षण गर्नुपर्छ भन्ने मान्यता छ । पछिल्लो समयमा विकसित अन्तरराष्ट्रिय मान्यताअनुसार परम्परागत ज्ञान, परम्परागत सांस्कृतिक अभिव्यक्ति, आनुवंशिक सम्पदा र जैविक विविधतालाई समेत विद्यमान बौद्धिक सम्पत्ति प्रणालीसँग सम्बन्ध स्थापित गरिएको छ ।
लेखक अधिवक्ता हुन् ।