जेठ १५, काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड - इले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण आइतवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्ड वैशाख मसान्तसम्ममा रू. २ करोड ५ लाख नोक्सानीमा रहेको छ । चैत मसान्तसम्ममा पनि फण्ड रू. १ करोड ८५ लाख नोक्सानीमा रहेको थियो ।
यसरी हेर्दा फण्डको नोक्सानी चैत महीनाको तुलनामा वैशाख महीनामा बढेको देखिन्छ । वैशाख महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो ।
चैत मसान्तसम्ममा फण्डको जम्मा खर्च रू. ८७ लाख ८५ हजार रहेकोमा वैशाख मसान्तसम्ममा बढेर रू. ९६ लाख ६४ हजार पुगेको हो । त्यसैगरी फण्डको जम्मा आम्दानी वैशाख मसान्तसम्ममा रू. १ करोड ८ लाख ऋणात्मक रहेको छ । त्यसैगरी फण्डको एनएभी घटेको छ ।
चैत मसान्तसम्ममा फण्डको एनएभी रू. ९ दशमलव ६६ रहेकोमा वैशाख मसान्तसम्ममा रू. ९ दशमलव ६३ कायम भएको हो । फण्डको सूचीकृत धितोपत्रमा लगानी भने बढेको छ । चैत मसान्त सम्ममा सूचीकृत शेयरमा लगानी रू. २९ करोड ६० लाख रहेकोमा वैशाख मसान्तसम्ममा बढेर रू. ३२ करोड १ लाख पुगेको हो ।