कोरोनाबाट थलिएको पर्यटन बिस्तारै लयमा फर्कन थालेको छ । अहिले दैनिक २ हजारभन्दा बढी पर्यटक त्रिभुवन विमानस्थलबाट भित्रिइरहेका छन् । वसन्त याममा हिमाल आरोहण गर्नका लागि स्वीकृति लिनेको संख्या पनि बढेको छ । भारतीय नम्बर प्लेटका गाडी छ्याप्छ्याप्ती देखिन थालेका छन् । मुस्ताङका होटलहरू भारतीय तीर्थयात्रुले भरिएको समाचार आइरहेको छ । यसरी हेर्दा अपेक्षा गरिएभन्दा चाँडो पर्यटनले गति लिन सक्ने देखिएको छ । यद्यपि धेरै पर्यटक आउने चीनबाट भने पर्यटक आगमन करिब करिब शून्य नै छ ।
अहिले चीनमा कोरोना संक्रमण बढेको छ र कतिपय शहरमा लकडाउन लगाइएको छ । दक्षिण कोरियामा पनि कोरोना संक्रमण तीव्र फैलिएको छ । भारतमा पनि संक्रमण दर बढ्न थालेको छ । त्यसको असर पर्यटनमा फेरि नपर्ला भन्न सकिन्न । यस्तोमा पर्यटनसँग सम्बन्धित संघसंस्थाको चासो, प्रयास र दबावले पर्यटनलाई टेवा पुग्न सक्छ ।
नेपालमा व्यावसायिक संघसंस्थाहरूमा राजनीति हाबी भएको छ । त्यसको असरले यस्ता संस्थाहरू व्यावसायिक समस्याको समाधानमा भन्दा राजनीतिक रूपमा स्वार्थपूर्तिको माध्यम बनेको पाइन्छ । यस्ता संस्थाको अधिवेशनमा नै सदस्यहरू व्यावसायिक समस्या समाधान गर्ने नेतृत्वभन्दा राजनीतिक आस्थाका आधारमा नेतृत्व चुन्न तयार देखिन्छन् । त्यही भएर व्यवसायका समस्या ज्यूँका त्यूँ रहेको पाइन्छ ।
यसै सन्दर्भमा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स ( नाट्टा ) को नयाँ नेतृत्व चुनिएको छ । निर्वाचनका बेला जेजस्तो भए पनि अब नाट्टाले पूर्ण रूपमा व्यावसायिक बन्नु जरुरी छ । धेरै समयदेखि नाट्टाले उठाउँदै आएका थु्रप्रै मागहरू सरकारले पूरा गरिदिएको छैन । तिनको सम्बोधन भए पर्यटन व्यवसायीलाई केही राहत पुग्ने थियो ।
पूर्वाधारसहितको साहसिक पर्यटन, ग्रामीण पर्यटन, पर्यावरणीय पर्यटन लगायत सीमित पर्यटन उद्योगहरूलाई मात्र औद्योगिक व्यवसाय ऐन २०७३ ले राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता दिएको छ । त्यसैले यीबाहेक अन्य पर्यटन उद्योगहरूलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग सरहको सेवा सुविधा दिलाउन आवश्यक छ । पर्यटन उद्योगलाई अत्यावश्यक सेवा सञ्चालन ऐन अन्तर्गत राखी अन्य आकस्मिक सेवाहरू सरह सुविधा प्रदान गरी बन्द, हडताल र चक्काजामको स्थितिमा पनि पर्यटक बोकेका सवारीहरू निर्बाध रूपले सञ्चालन गर्न गराउन पाउने व्यवस्थाका लागि पहल गर्नुपर्छ ।
हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई २४ घण्टा खुल्ला गरिएको छ । अब गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट धेरै भन्दा धेरै उडानका लागि पहल गरिनु पर्छ । यसो हुन सके लुम्बिनीमा पर्यटक संख्या निकै बढ्न सक्छ । खासगरी श्रीलंका, थाइल्याण्ड, चीन, जापान आदि देशबाट सीधा उडानका लागि नाट्टाले पनि माग गर्नुपर्छ ।
काठमाडौंबाट लामो दूरीमा चल्ने पर्यटन नम्बर प्लेटका बसहरूको प्रस्थान र आगमन टर्मिनल नभएको हुँदा यस क्षेत्रले बारम्बार विभिन्न समस्याहरू झेल्नु परेको छ । तसर्थ, काठमाडौं लगायत देशका प्रमुख पर्यटकीय शहरहरूमा सरकारले उपयुक्त स्थल चयन गरी टुरिस्ट बस टर्मिनलको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु आवश्यक छ ।
पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जनका माध्यम हो । यसले ठूलो संख्यामा रोजगारी सृजना गरेको छ । तर, यस क्षेत्रले दक्ष जनशक्ति पाउन सकेको छैन । दक्ष जनशक्ति विदेशिँदा पनि समस्या भएको छ । त्यसैले पर्यटनको अध्ययन तथा तालिमका एकडेमीको स्थापना हुन आवश्यक देखिन्छ । त्यसका लागि नाट्टाले आवाज उठाउनुपर्छ ।
विद्यमान पर्यटन ऐन तथा यातायात व्यवस्था ऐनमा पर्यटक शब्दको परिभाषा बाझिएको सन्दर्भमा आन्तरिक पर्यटकहरूले पर्यटन सवारीमा यात्रा गर्न नपाएको तथा पटक पटक बस व्यवसायीहरू बीच तनाव सृजना भई विदेशी यात्रुहरूले समेत जोखिम उठाउनु परेको अवस्थालाई ध्यानमा राखी उपर्युक्त दुवै ऐनमा आवश्यक संशोधन गरिनु जरुरी छ ।
ट्राभल एजेन्ट्स तथा टूर अपरेटरहरूलाई पर्यटकहरूको सेवा सुविधाका लागि विदेशबाट पैठारी गरिने सवारी साधनमा भन्सार छूटको व्यवस्था गरिनु पर्छ । अन्तरराष्ट्रिय स्तरका सवारी साधनहरू प्रचलनमा नभएका तथा ती अत्यन्तै महँगा पनि हुने भएकाले ट्राभल व्यवसायीहरूलाई यस्ता सवारी साधन पैठारी गर्न भन्सार तथा अन्य कर छुटको आवश्यकता छ ।
नयाँ पर्यटकीय स्थलहरूमा पर्यटन सेवाका लागि स्थापना गरिने पूर्वाधार निर्माण गर्ने सम्बन्धित उद्यमी/व्यवसायीहरूलाई सरकारबाट समुचित प्रोत्साहन दिनु जरुरी छ ।
नाट्टा पर्यटनसँग सम्बन्धित संस्थाहरूमध्ये पुरानो र ठूलो पनि हो । त्यसैले पर्यटन बोर्ड, पर्यटन विभागसँग छलफल गरी व्यवसायीका समस्या समाधान गर्न पहल गर्नुपर्छ । नाट्टाले पर्यटन विभाग, पर्यटन बोर्ड तथा विभिन्न वायु सेवा कम्पनीहरूसँग राम्रो सम्बन्ध कायम गरी सहकार्यको वातावरण बनाउनुपर्छ ।
अहिले बिस्तारै उठ्न थालेको पर्यटनलाई गति दिन प्रचारप्रसारको पनि आवश्यकता छ । त्यसका लागि बोर्डलाई झक्झक्याउने काम नाट्टाको हो । सातै प्रदेशमा बोर्ड स्थापनाका लागि पनि पहल गर्नुपर्छ । नाट्टा आफैले पनि पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ ।
सरकार नयाँ आर्थिक वर्षका लागि बजेट निर्माणको चरणमा छ । सरोकारवालाहरूसँग आगामी आर्थिक वर्षमा लिनुपर्ने नीतिहरू बारे अर्थमन्त्रालयले छलफल गरिरहेको छ । अर्थमन्त्रालयसँग समन्वय गरी पर्यटन उकास्नका लागि कार्यक्रमहरू ल्याउन नाट्टाको पहल जरुरी छ ।
पर्यटन व्यवसायीहरूका अनेकौं संघसंगठन छन् । विधागत रूपमा यस्ता संगठनको आवश्यकता पनि छ । तर, पर्यटन एकअर्कासँग सम्बन्धित भएकाले सामूहिक आवाजको महत्त्व पनि छ । त्यसैले पर्यटन महासंघको स्थापना अहिलेको आवश्यकता हो । यसका लागि पनि नाट्टाले पहल गर्न सक्छ यद्यपि त्यो सहज भने छैन ।
पर्यटन क्षेत्रले डलर भित्र्याएर अर्थतन्त्रमा राम्रो योगदान दिए पनि गुणस्तरीय पर्यटक ल्याउन सकिएको छैन । यसका लागि नेपाली विमान युरोपेली मुलुकमा उड्न आवश्यक छ । त्यसका लागि पनि सरकारलाई घच्घच्याउन आवश्यक छ ।
लेखक नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेण्ट्सका पूर्वमहासचिव हुन् ।