काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काममा स्थानीयले अवरोध सुरु गरेका छन् । स्थानीयले सुरुङमाथि पर्ने जमिनको मुआब्जा दिनुपर्ने भन्दै निर्माण कार्यमा अवरोध गरेका हुन् ।
काठमाडौंतर्फका स्थानीयले करिब एक दर्जन माग राखेर माग सम्बोधन नगरे निर्माणको काम ठप्प पार्ने चेतावनी दिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाले जनाएको छ ।
आन्दोलनकारी स्थानीयको अगुवाई चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष गोपी सुर्खेतीले गरेका छन् । आयोजनालाई दुई दिनको समय दिइएको र सो समयमा माग पूरा नभए आन्दोलनका कार्यक्रम घोषणा गरेर अघि बढ्ने वडाध्यक्ष सुर्खेतीको चेतावनी छ । सो वडामा सुरुङमाथिको ९८ प्रतिशत जमिन पर्छ ।
स्थानीयले सुरुङमाथि पर्ने जमिनको मुआब्जा दिनुपर्ने, सुरुङ खनेपछि पानीको मुहान सुक्ने भएकोले आयोजनाले निःशुल्क खानेपानीको व्यवस्था गरिदिनुपर्ने, कृषिका लागि अहिले भइरहेको सिँचाइ पनि सुक्ने भएकाले यसको वैकल्पिक व्यवस्था गरिदिनुपर्ने, सुरुङ निर्माण हुने क्षेत्रमा पर्ने ६ किमि सडक कालोपत्र, खेलकुद मैदान बनाइदिनुपर्ने लगायतका माग स्थानीयको छ ।
आयोजनाका अनुसार पुरा हुनै नसक्ने माग लिएर अवरोध गर्न सुरु गरिएको नेकपाको विभाजनपछि हो । प्रधानमन्त्री ओली इतर पक्षले अनेक बहना खडा गरेर आयोजनाको काम रोक्न चलखेल गरेको स्थानीयको दाबी छ । आयोजना स्रोतका अनुसार अहिले निर्माणको काम सुरु भएपछि माग लिएर आउने पुष्पकमल दाहाल–माधव नेपाल समूहका व्यक्ति रहेको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ मा शिलान्यास गरेको सुरुङमार्ग अहिले धादिङतर्फ सुरुङ खन्ने काम जारी छ । ४२ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने सुरुङको दूरी २ दशमलव ६८ किमि छ । सुरुङ निर्माणका लागि जापानको साढे १६ अर्ब ऋण सहयोग रहेको छ । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । जसमा ६ अर्ब नेपाल सरकारको छ ।