पाँच दिनदेखि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण रोकिएको छ । सुरुङ खन्न थालेपछि पानीका मुहान सुकेको भन्दै चन्द्रागिरि नगरपालिका–२ का स्थानीयले निर्माणमा अवरोध गरेका हुन् । गत चैत २८ र २९ मा स्थानीयले टुटिपाखामा रहेको निर्माण कम्पनी हाज्मा एन्डो र परामर्शदाताको कार्यालय तोडफोड गरेको आयोजनाले जनाएको छ । यही वडाका स्थानीयले धादिङतर्फ पनि निर्माणको काम अघि बढ्न दिएका छैनन् ।