वैशाख १३, काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले आज (सोमवार) देखि एनआईबिएल समृद्धि फण्ड–२ को १२ करोड इकाई विक्री खुला गरेको छ ।
क्यापिटलकै व्यवस्थापनमा एनआईबिएल म्यचुअल फण्ड अन्तर्गत यो योजना सञ्चालन हुन लागेको हो । कुल इकाई मध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र २ करोड ३० लाख इकाई कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई छुट्याएर बाँकी ९ करोड ६० लाख इकाई सर्वसाधारणमा सार्वजनिक निष्कासनमा ल्याएको हो ।
प्रतिइकाई रू. १० अंकित मूल्यको यो इकाई खरीदका लागि न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ । यो इकाई छिटोमा वैशाख १६ गते र ढिलोमा वैशाख २७ गतेसम्म विक्रीमा रहनेछ ।
एनआईबिएल समृद्धि फण्ड–२ बन्दमुखी योजना हो । इकाई बाँडफाँट भएको मितिले १० वर्षमा यो योजना परिपक्व हुनेछ । परिपक्व भएपछि योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिने क्यापिटलले जानकारी दिएको छ ।
यो इकाई खरीदका लागि एनआईबिएल एस क्यापिटलसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।