वैशाख १६, काठमाडौं । वैशाख १३ गतेदेखि विक्रीमा आएको एनआईबिएल समृद्धि फण्ड–२ को इकाई बिहीवारसम्म मात्र विक्रीमा रहने भएको छ ।
एनआईबिएल एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालन हुने यो फण्डले १२ करोड इकाई विक्री गर्न लागेको हो ।
उक्त फण्डले कुल इकाईमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र २ करोड ३० लाख इकाई कोष प्रबर्द्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई छुट्याएर बाँकी ९ करोड ६० लाख इकाई सर्वसाधारणमा सार्वजनिक निष्कासनमा ल्याएको हो ।
प्रतिइकाई रू. १० अंकित मूल्यको यो इकाई खरीदका लागि न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ । यो इकाई छिटोमा वैशाख १६ गते र ढिलोमा वैशाख २७ गतेसम्म विक्री रहने भनिएपनि माग बमोजिम आवेदन परिसकेकाले छिटो अवधिसम्म मात्र विक्री खुला गर्न लागिएको क्यापिटलको भनाइ छ ।
एनआईबिएल समृद्धि फण्ड–२ बन्दमुखी योजना हो । इकाई बाँडफाँट भएको मितिले १० वर्षमा यो योजना परिपक्व हुनेछ । परिपक्व भएपछि योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिने क्यापिटलले जानकारी दिएको छ ।
यो इकाई खरीदका लागि एनआईबिएल एस क्यापिटलसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।