वैशाख ५, काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले वैशाख १३ गतेदेखि एनआईबिएल समृद्धि फण्ड–२ को १२ करोड इकाई विक्री गर्ने भएको छ ।
क्यापिटलकै व्यवस्थापनमा एनआईबिएल म्यचुअल फण्ड अन्तर्गत यो योजना सञ्चालक हुन लागेको हो । यस योजनाको कुल इकाईमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र २ करोड ३० लाख कोष प्रबर्द्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई छुट्याएर बाँकी ९ करोड ६० लाख इकाई सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आउँन लागेको हो ।
प्रतिइकाई रू. १० अंकित मूल्यको यो इकाई खरीदका लागि न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ । यो इकाई छिटोमा वैशाख १६ गते र ढिलोमा वैशाख २७ गतेसम्म विक्रीमा रहनेछ ।
एनआईबिएल समृद्धि फण्ड–२ बन्दमुखी योजना हो । इकाई बाँडफाँट भएको मितिले १० वर्षमा यो योजना परिपक्क हुनेछ । परिपक्क भएपछि योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिने क्यापिटलले जानकारी दिएको छ ।
उक्त इकाई खरीदका लागि एनआईबिएल एस क्यापिटलसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । साथै मेरोशेयरबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।