भदौ १४, काठमाडौं । एनआईबिएल म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्ड र एनआईबिएल समृद्धि फण्ड-२ ले साउन मसान्तको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
उक्त वित्तीय विवरण अनुसार दुवै योजनाको सूचीकृत शेयरमा लगानी असार मसान्तको तुलनामा साउन मसान्तमा वृद्धि भएको छ ।
एनआईबिएल सहभागिता फण्डको असार मसान्तसम्म सूचीकृत शेयरमा रू. १९ करोड ६७ लाख लगानी रहेकोमा साउन मसान्तमा वृद्धि भएर रू. २१ करोड ६१ लाख ३० हजार पुगेको हो ।
त्यसैगरी, यस योजनाको एनएभी भने असार मसान्तको तुलनामा साउन मसान्तमा घटेको छ । असार मसान्तमा योजनाको एनएभी रू. १७ दशमलव ४५ रहेकोमा साउन मसान्तमा घटेर रू. १३ दशमलव शून्य १ मा सीमित भएको हो ।
योजनाले गत आवको मुनाफाबा इकाईधनीहरुलाई ५० प्रतिशत नगद लाभांश कर सहित वितरण गरेको हो । उक्त नगद लाभांश पछि योजनाको इकाई मूल्य समायोजन भएकाले असार मसान्तको तुलनामा साउन मसान्तमा इकाई मूल्य घटेको हो ।
एनआईबिएल समृद्धि फण्ड-२ ले साउन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७२ करोड ५९ लाख २७ हजार लगानी गरेको छ । यो लगानी असार मसान्तको तुलनामा ४३ प्रतिशतले वृद्धि भएको हो । योजनाले असार मसान्त सम्ममा सूचीकृत शेयरमा रू. ५० करोड ५७ लाख लगानी गरेको थियो ।
यस योजनाको एनएभी पनि असार मसान्तको तुलनामा साउन मसान्तमा बढेको छ । यस योजनाको एनएभी असार मसान्तमा रू. १० रहेकोमा साउन मसान्तमा बढेर रू. १० दशमलव ३९ पुगेको हो । यस योजनाले साउन मसान्तसम्ममा रू. ५ करोड ९३ लाख ८६ हजार नाफा कमाएको छ ।