काठमाडौं । बुधवार उतारचढाव देखिएको नेप्से परिसूचक ९ दशमलव २५ अंक अर्थात् शून्य दशमलव ४४ प्रतिशत बढेको छ । घटेको बजारमा दिनको कारोबार सकिनुअघि क्रेता सक्रिय भएपछि परिसूचक बढेको हो ।
बुधवार परिसूचक २ हजार ८६ दशमलव ८४ विन्दुमा पुगेको हो । यस दिन नेप्से परिसूचक न्यून विन्दु २ हजार ६२ सम्म झरेको थियो ।
मौद्रिक नीति सार्वजनिक भएपछि लगातार पाँच दिन (गत आइतवार)सम्म घटेकाे बजार सोमवार ५ अंक बढेको थियो । गत मंगलवार भने नेप्से परिसूचक २८ अंक घटेको थियो ।
बुधवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३९ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ४८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४३ प्रतिशत वृद्धि भएको छ ।
२६९ धितोपत्रको ९३ लाख ६१ हजार ७८६ कित्ता शेयर ३५ हजार ८३५ पटकमा रू. १ अर्ब ८१ करोड बरावरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये आरविवि म्युचुअल फण्डको इकाई मूल्य सबैभन्दा बढी ४ दशमलव १४ प्रतिशत वृद्धि भएको छ । यससँगै फण्डको इकाई मूल्य रू. ७ दशमलव ८० पुगेको हो । त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य ४ दशमलव ०३ प्रतिशत बढेर रू. ५६८ पुगेको छ ।
बुधवार प्रभु स्मार्ट फण्डको इकाई मूल्यमा नेगेटिभ सर्किट लागेको छ । फण्डको इकाई मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । यससँगै फण्डको इकाई मूल्य रू. ८ दशमलव ३७ मा झरेको छ ।
त्यस्तै एनआईबिएल समृद्धि फण्ड २ को इकाई मूल्य ४ दशमलव ५८ प्रतिशत घटेर रू. ७ दशमलव ३० कायम भएको छ ।
यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. ११ करोड १९ लाख बराबरको शेयर कारोबार भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५९६ कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा रहेको सानिमा बैंकको प्रमोटर शेयरको रू. ८ करोड ९० लाख बराबरको कारोबार भएको छ ।
यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये हाइड्रोपावर समूहको परिसूचक शून्य दशमलव २४ प्रतिशत, लघुवित्त समूहको परिसूचक शून्य दशमलव २८ प्रतिशत र व्यापार समूहको परिसूचक शून्य दशमलव ०६ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ ।
समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी वित्त समूहको परिसूचक छ । उक्त समूहको परिसूचक १ दशमलव ६९ प्रतिशत बढेको छ ।