शेयरबजार, लगानीकर्ता र जोखिम

पछिल्लो तथ्यांक हेर्दा नेपालमा ४० लाखभन्दा बढी डीम्याट खाता खुलिसकेको देखिन्छ । प्राथमिक शेयरको आवेदनमा २४ लाखभन्दा बढीले आवेदन दिएको देखिन्छ । टीएमएस खाताको संख्या उल्लेखनीय मात्रामा वृद्धि भएको देखिन्छ । दोस्रो बजारबाट पनि शेयर कारोबार गर्नेको संख्यामा वृद्धि भएको छ । कर्मचारीहरूको कमाइ खाने दोस्रो ठाउँ र विद्यार्थीले कमाइ गर्ने केन्द्रसमेत बनेको छ । वार्षिक प्रतिवेदनमा नियमित घाटा देखिएको हुन सक्छ । संस्थापक शेयरधनी शेयर बेचेर धेरै अगाडि हिँडिसकेको हुन सक्छ । त्यस्ता कम्पनीमा लगानी गर्दा दीर्घकालीन जोखिमबारे सतर्क रहन आवश्यक छ । बढ्ने क्रममा रहेको बजारमा उत्साह आउनु स्वाभाविक हो । हाल अन्य व्यवसाय ठप्प रहेको समयमा धेरैको कमाइ खाने माध्यम नै शेयरबजार भएको देखिएको छ । मूलतः कुनै व्यवसाय बन्द गरेर वा विदेशबाट कमाइ ल्याएको पैसा हाल्ने ठाउँ शेयरबजार भएको देख्न सकिन्छ । बैंकको ब्याजदर कम भएकाले बैंकमा रकम राख्नुभन्दा पनि शेयरबजारमा उच्च प्रतिफल आउने विश्वास मूलतः नयाँ लगानीकर्ताको हुनु स्वाभाविक हो । शेयरबजारको एउटा नियम हुन्छ – यो बढ्छ, अनि घट्छ, घट्छ अनि फेरि बढ्छ । कति बढ्छ, अनि कहिलेबाट घट्छ अनिश्चित छ । व्यवस्थापन वा अर्थशास्त्र पढ्ने विद्यार्थीहरूलाई सिकाइएको हुन्छ, हरेक लगानी जोखिमयुक्त हुन्छ । हिजो प्राथमिक शेयरबजारमा खरीद भएको शेयरको मूल्य १०० भन्दा तल झरेको दिन पनि थियो । आज ३००० अंकभन्दा माथि रहेको बजार, हिजो ११ सयको हाराहारीमा पनि झरेको थियो । नेपालको शेयरबजार विश्व बजारसँग आबद्ध भएको देखिँदैन । यहाँ बजारका खेलाडीको आधारमा बजार घटबढ हुन्छ भन्ने गरिन्छ । त्यसैले लगानी गर्दा आधारभूत पक्षको मूल्यांकन गर्नु आवश्यक छ । जुन कम्पनीको आम्दानीभन्दा पनि घाटा छ, जसको शेयर मूल्य हिजो सयभन्दा कम थियो, जसले ऋण नै लिएर आफ्नो पूँजी बढाउने योजना राखेको छ, त्यस्ता कम्पनीको मूल्य आकाशिएको छ । यस्तो कम्पनीमा फस्न सक्ने सम्भावना हुन्छ । आधारभूत पक्ष बलियो भएको कम्पनीले बजार बढे पनि घटे पनि नाफा कायम राख्छ र लगानीकर्ता न्याय प्रदान गर्न सक्ने हुन्छ । अतः कम्पनीबारे आपैm विशलेषण गरी लगानी गर्न आवश्यक छ । खिया लागिसकेर मेशिन नचल्ने अवस्था रहेको हुन सक्छ । वार्षिक प्रतिवेदनमा नियमित घाटा देखिएको हुन सक्छ । संस्थापक शेयरधनी शेयर बेचेर धेरै अगाडि हिँडिसकेको हुन सक्छ । त्यस्ता कम्पनीमा लगानी गर्दा दीर्घकालीन जोखिमबारे सतर्क रहन आवश्यक छ । बजारको नियम, बढ्नु र घट्नु नबुझ्दा यहाँ लोभले लाभ र लाभले विलाप हुने सम्भावना उत्तिकै रहन्छ । मूलतः नयाँ लगानीकर्ताले बजार सधैं हरियो भइरहन्छ भनि सोच्न हुँदैन । बढेको बजारमा लगानी गर्दा जुन मजा आउँछ, घटेको अवस्थामा उक्त लगानी घटेको देख्दा त्यत्ति नै पिरोल्छ । शेयरबजारमा धैर्य एउटा महत्त्वपूर्ण पक्ष हो । धैर्यले लगानीकर्ताको मनोबल बढाउने मात्र होइन, शेयरबजारमा राम्ररी खेल्ने अवसरसमेत प्रदान गर्छ । शेयरमा लगानी गरिएको रकम कत्तिको दबाबयुक्त छ, त्यो महत्त्वपूर्ण पाटो हो । कसैले ऋण गरेर लगानी गरेको छ भने धैर्यको पाटो रहँदैन । यसले गर्दा उसले शेयरबजार घटे पनि बेच्नुपर्ने बाध्यता हुन्छ, र उसले ठूलो घाटा बेहोर्नुपर्ने हुन्छ । सधैं उकालो लागेको देखिएको बजार ओरालो लाग्दा हुने पीडाबारे उसले कल्पना सम्म गरेको हुँदैन । यस कारण आफ्नो आर्थीक अवस्था दृष्टिगत गर्दै, बजारमा लगानी गर्नुपर्छ । आफ्नो आर्थिक अवस्थालाई सहज हुने गरी मात्र लगानी गरेमा भोलि आर्थिक संकटको शिकारबाट कम प्रभावित हुनेछाैं । यस कारण आफ्नो हैसियत अनुसार लगानी गर्न आवश्यक छ । आफ्नो लगानीमा विविधता कायम राख्न सक्नुपर्छ । जलविद्युत् बढेको छ भन्दैमा अन्य क्षेत्रको सम्पूर्ण शेयर विक्री गरेर जलविद्युत्मै मात्र लगानी गर्दा उच्च प्रतिफल त आउन सक्ला, तर अनिश्चित बजारमा भोलि त्यसैले घाटा बेहोर्नुपर्ने अवस्था पनि निम्तिन सक्छ । नेपालमा व्यवस्थापन, वित्त वा अर्थशास्त्र पढ्ने कुनै पनि पक्षले शेयरबारे अध्ययन गरेको हुँदैन । यस कारण पनि नयाँ लगानीकर्ताले पाउने ज्ञान भनेकै अनुभव हो । २०७३ सालतिर शेयरबजार प्रवेश गरेकाहरूले एक चक्र अनुभव गरिसकेका छन् । त्यसपश्चात् प्रवेश गरेकाहरूसँग पूर्ण अनुभव नरहेको हुँदा परामर्श लिँदा अनुभवीसँग मात्र लिएमा लाभदायी हुनेछ । लगानीकर्ताको जोश र उत्साह अहिले निकै उच्च देखिन्छ । गाउँगाउँमा शेयरको कुरा हुने गरेको छ । आज १० कित्ताको धनी भएर भए पनि शेयरको गफ दिनुपर्ने समाज बनिसकेको छ । ठूलो गफ गर्नेको बिगबिगी टोलको चोकदेखि क्लब हाउससम्म भेटिन्छ । तर, लगानी आफै गरेर अनुभव नलिउन्जेल बजारको मूर्तरूप कसैलाई पनि थाहा हुँदैन । यस कारण बजारबारे विस्तृत ज्ञान बटुलेर लगानी गर्नु नै बुद्धिमानी हो । बजार हरियो हुँदा मात्तिने र रातो हुँदा आत्तिने अवस्था कसैको नआओस् । आजको बजारको अवस्था हेर्दा मुनाफा नदिने जलविद्युत्को शेयर मूल्य, निश्चित नाफा दिने बैंकको मूल्यभन्दा बढी छ । कोरोना विपद्देखि आर्थिक रूपले प्रभावित होटेल क्षेत्रमा बेला बेला सकारात्मक सर्किट लाग्ने गरेको देखिन्छ । बैंकको ब्याज न्यून रहेको समयमा पैसा शेयरमा हाल्न खोज्नु मानवीय आर्थिक गुण नै हो । तर, अनियन्त्रित बजारमा सतर्कता आवश्यक छ । अन्यथा भोलि यसले व्यक्तिगत रूपमा असर पर्ने गरी ठूलो दुर्घटना निम्त्याउने निश्चित छ । रेग्मी बैंकर हुन् ।

सम्बन्धित सामग्री

जलविद्युत् कम्पनीको शेयर :लाभांश नदिए पनि लगानीकर्ताको आकर्षण बढ्दो

काठमाडौं । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत कम्पनीमा सबैभन्दा धेरै जलविद्युत्का छन् । हाल नेप्सेमा ८९ जलविद्युत् कम्पनी सूचीकृत छन् । आगामी दिनमा धितोपत्र बजारमा भित्रिन लागेका कम्पनीको संख्या हेर्दा पनि जलविद्युत् क्षेत्रकै वर्चस्व देखिन्छ । पछिल्ला वर्षहरूमा धितोपत्रको दोस्रो बजारमा भएको कारोबारको अवस्था हेर्दा लगानीकर्ताको आकर्षण जलविद्युुत् क्षेत्रका कम्पनीकै शेयरमा देखिन्छ । तर, यस क्षेत्रका कम्पनीको लाभांश वितरण स्थिति हेर्दा सूचीकृत ८९ कम्पनीमा हालसम्म सातओटाले मात्रै गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । धेरैजसो जलविद्युत् कम्पनीले लाभांशविना नै साधारणसभा बोलाएका छन् ।  सूचीकृत ८२ जलविद्युत् कम्पनीले लाभांश दिएका छैनन् । वित्तीय अवस्था सन्तोषजनक नभएका र लाभांशसमेत वितरण नगरेका जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ता बढी आकर्षित हुनुलाई अर्थपूर्ण मानिएको छ ।  राम्रा वित्तीय अवस्था भएका र निरन्तर लाभांश वितरण गर्ने जुनसुकै क्षेत्रका कम्पनीको शेयरमा लगानी गर्नु सुरक्षित र फलदायी हुने विश्लेषक बताउँछन् । तर, खुद नोक्सानीमा रहेका, अझै केही वर्ष लाभांश वितरण गर्न नसक्ने अवस्थामा रहेका कम्पनीको शेयर किन्नु कत्तिको सुरक्षित हुन्छ त ?  शेयरबजार जोखिम नै जोमिखले भरिएको क्षेत्र हो । शेयरबजारमा लगानी गरेर व्यापक आर्थिक उन्नति गरेका र सर्वस्व गुमाएका दुवै उदाहरण छन् । लगानीकर्ताले कम्पनीको वित्तीय विवरण, लाभांश जस्ता पक्षलाई राम्ररी केलाएर लगानी गर्न नसके दु:खले आर्जन गरेको रकम गुम्न सक्ने जानकार बताउँछन् । त्यसैले शेयरबजारमा धेरै कुरा विचार गरेर मात्रै लगानी गर्नुपर्ने उनीहरुको सुझाव रहन्छ ।  शेयरबजार सधैं बढ्ने वा घट्ने हुँदैन । यी दुई ट्रेन्डलार्ई राम्रोसँग नियालेर लगानी गर्न सके लगानी सुरक्षित हुने सम्भावना बलियो हुने विश्लेषहरूको भनाइ छ ।  वित्तीय अवस्था सन्तोषजनक नभएका र लाभांशसमेत वितरण नगरेका जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ता बढी आकर्षित हुनुलाई अर्थपूर्ण  लगानीकर्ता नवराज दाहाल धेरैजसो अल्पकालीन कारोबारीले जलविद्युत् कम्पनीको शेयर किनबेच गर्ने बताउँछन् । यही कारण उक्त क्षेत्रका कम्पनीको शेयर मूल्यमा बढिरहेको दाहालले बताए । उनको भनाइमा यी कम्पनीमा ३ वर्षको लकइन पिरियड हुन्छ । ‘तीन वर्षपछि हकप्रद शेयरको फन्डा चलाएर पनि शेयर मूल्य उचालिरहेका हुन्छन्,’ दाहालले भने ।  वाणिज्य बैंकको हकमा शेयर संख्या धेरै हुँदा लाभांश घटिरहेको छ । लघुवित्त कम्पनीलाई १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न सजिलो छैन । इन्स्योरेन्स कम्पनीले हकप्रद, बोनस वा थप निष्कासन (एफपीओ) के गरेर पूँजी पुर्‍याउँछन् भन्ने अन्योल छ । त्यसैले लगानीकर्तासामु कारोबार गर्न विकास बैंक, फाइनान्स र हाइड्रोपावर नै विकल्पका रूपमा रहेको उनको भनाइ छ । ‘अरू सेक्टरका कम्पनीको जस्तो धेरै पूँजी हाइड्रोपावर कम्पनीको छैन ।  अहिले आएका हाइड्रोपावरले २० देखि ३० प्रतिशत शेयर सर्वसाधारणलाई बेचेका हुन्छन्, अरू संस्थापकसँग हुन्छ,’ दाहालले भने, ‘यी कारणले गर्दा हाइड्रोपावरको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो ।’ शेयर संख्या थोरै भएपछि चलखेल गर्न पनि सजिलो हुन्छ । यस्तोमा सानो समूहले नै माग बढाएर भाउ उचाल्ने र मूल्य उच्च बिन्दुमा पुगेपछि आफूसँग भएको सबै शेयर बेचेर नाफा कमाउने गर्न पनि सक्छ ।  अर्का लगानीकर्ता विष्णु पराजुली जलविद्युत् कम्पनीको शेयर मूल्य बढ्नुमा शेयर संख्या कम हुनुलाई मुख्य कारण मान्छन् । थोरै शेयर हुनेबित्तिकै कारोबारीले केही समय शेयर होल्ड गरेर राख्नेबित्तिकै माग सृजना हुन्छ । ‘अरू सेक्टरका कम्पनीको शेयर संख्या धेरै हुन्छ ।  किनेर राख्यो, मूल्य खासै बढ्दैन,’ पराजुलीले भने, ‘पछिल्लो समय लगानीकर्ताले दीर्घकालीन लगानीभन्दा अल्पकालीन कारोबारमा जोड दिइरहेका छन् । अल्पकालीन लगानीमा लगानीकर्ताको रोजाइ कम पूँजी भएको कम्पनीमा हुन्छ । यसकारण पनि जलविद्युत् कम्पनीको शेयर मूल्य बढेको हो ।’ आइतवार जलविद्युत् समूहको परिसूचक सबैभन्दा बढी ५ दशमलव ५५ प्रतिशत बढेको छ । यस समूहका अधिकांश कम्पनीको शेयरमूल्य माथि गएपछि समूहगत परिसूचक बढेको हो ।

शेयरमा १० कित्ते नीति

बुक बिल्डिङ विधिबाट निष्कासन हुने धितोपत्रबाहेक अन्य धितोपत्रको बाँडफाँटमा न्यूनतम १० कित्ता बाँडफाँट गर्ने नीतिमा नेपाल धितोपत्र बोर्डले परिवर्तन गर्न आँटेको छ । यसका लागि उसले बोर्डका सदस्य प्रवीणकुमार झाको संयोजकत्वमा समितिसमेत बनाएको छ । बोर्डले यो कदम लिएपछि साँचिकै यो नीति परिवर्तन गर्नुपर्ने नै भएको हो त भन्ने प्रश्न उठेको छ । प्राथमिक शेयरको निष्कासन (आईपीओ) सकेसम्म सबैले पाऊन् भनी १०/१० कित्ताका दरले शेयर बाँडफाँट गर्ने नीति लिइएको हो । तर, ५३ लाखभन्दा बढीले हितग्राही खाता खोलेको र तीमध्ये धेरैले आईपीओ भर्न थालेपछि बाँडफाँटमा फेरि चिट्ठा नै हाल्नुपर्ने अवस्था छ । अहिले आईपीओ भर्नेको संख्या घटे पनि अत्यधिक आवेदकले शेयर पाउन सकेका छैनन् । सबैले शेयर नपाउने नै हो भने यसलाई परिवर्तन गरेर घटीमा ५० कित्ता शेयर आवेदन गर्नुपर्ने नियम ल्याउन केही लगानीकर्ताले माग गरेका हुन् । १० कित्ते नीतिका केही फाइदा र केही बेफाइदा छन् ।  आईपीओमा १० कित्ते नीतिले धेरै मानिसलाई शेयरबजारमा ल्याएको छ । यसबाट कमाएपछि उनीहरू दोस्रो बजारमा समेत लगानी गर्न थालेका छन् । यसले शेयरबजारको आकार विस्तार गरेको छ । त्यस्तै सामान्य व्यक्तिले पनि शेयरबजारबाट लाभ पाएका छन् । यो भनेको सर्वसाधारणका दृष्टिमा निकै सकारात्मक कुरा हो ।  तर, १० कित्ताकै कारण शेयरबजार अस्थिर बनेको केही लगानीकर्ताको आरोप छ । शेयरबजारको आधारभूत ज्ञान नभएका तथा शेयरबाट फाइदामात्रै हुन्छ भन्ने सोच भएका व्यक्ति लगानी गर्न आउँदा यसले बजारको लय नै बिगारेको एकथरीको आरोप छ । शेयरबजार जोखिमपूर्ण हुन्छ, आईपीओ नै पनि घाटामा जान सक्छ भन्ने जानकारी नभएका लगानीकर्ताका कारण शेयरबजारमा अस्वाभाविक उतारचढाव आएको र त्यसले लगानीकर्ताको मनोबल खस्काएको पनि देखिन्छ । अझ कतिपयलाई त म्युचुअल फन्ड, ऋणपत्र र शेयर फरक हो भन्ने जानकारी नभएर तिनलाई पनि शेयर नै सम्झी लगानी गरेको समेत भेटिन्छ । यसरी शेयरबजारसम्बन्धी सामान्य जानकारी नभएका र जानकारी राख्न पनि नचाहने लगानीकर्ता बजारमा आउँदा पक्कै पनि यसले शेयरबजारमा केही न केही प्रभाव पर्छ । त्यसो हुँदा कम्तीमा पनि ५० कित्ता शेयर आवेदन दिनुपर्ने नियम बनाउनु उपयुक्त हुने एकथरीको भनाइ छ । शेयरबजारका विज्ञ भनिएका विश्लेषकहरू पनि यसको पक्ष र विपक्षमा तर्क गरिरहेका छन् ।  अध्ययन समितिले १० कित्ते नीतिबाट बजारमा र सर्वसाधारणमा पुगेको फाइदा र बेफाइदा दुवै पक्षको राम्ररी अध्ययन गरेर मात्रै सुझाव दिनुपर्छ । केही लगानीकर्ताको भनाइ सुनेर होइन, तथ्यांकमा टेकेर विश्लेषणसहित राय दिनु आवश्यक छ । १० कित्ते नीतिले शेयरबजारमा असर पुर्‍याएको तर्ककै आधारमा मात्रै यो नीति परिवर्तन गर्न भने आवश्यक देखिन्न । किनकि लगानीकर्ताले चाहेमा अहिले पनि न्यूनतम १० कित्ता शेयर किनबेच गर्न पाउँछन् । चलखेल गर्न सक्ने भए यही आधारमा पनि बजारमा असर पार्न सकिन्छ । तर, १० कित्ते नीतिका कारण शेयरबजारको आधारभूत पक्षबारे जानकारी नभएका व्यक्तिहरू बजारमा धेरै हुनुचाहिँ शेयरबजारको जोखिम पक्ष नबुझ्नेको हातमा शेयरबजार जानु जस्तै हुन सक्छ । त्यसैले यो नीति कायम राख्ने हो भने यसका लागि अहिलेको भन्दा केही भिन्न व्यवस्था गरिनुपर्छ । बजारमा असर परेको भनी बोर्डले म्युचुअल फन्डलाई सूचीकृत भएको निश्चित अवधिसम्म शेयर विक्री गर्न नपाउने व्यवस्था गर्‍यो । यसको पक्ष विपक्षमा तर्क भइरहेका छन् जुन आफ्नो ठाउँमा छ तर त्यस्तै गरी यस्ता १० कित्ते आईपीओका लागि पनि विशेष नियम बनाउन नसक्ने भन्ने होइन ।  त्यसो त शेयरबजारमा आरक्षणको व्यवस्था गरेकामा पनि विरोध भइरहेको छ । वैदेशिक रोजगारीमा जानेलाई आईपीओमा आरक्षण छ । यस्तो व्यवस्था गलत भएको भन्ने पनि आवाज छ । शेयरबजार जोखिमपूर्ण भएकाले जसले यसको जोखीम बुझ्दैन र जोखिम लिन सक्दैन त्यस्ता मान्छे शेयरबजारमा नलाग्नु नै राम्रो हुन्छ । बजारबारे पर्याप्त जानकारी र सूचनाविना लगानी गर्दा कतिपयको उठिवास नै भएको छ । यस्तो अवस्था आउन नदिन लगानीकर्तालाई यसको जोखिम पक्षबारे पूर्ण जानकारी दिनुपर्छ । कुनै कम्पनी टाट पल्टिएमा आफ्नो लगानी शून्यमा जान सक्छ भन्ने जानकारी लगानीकर्तालाई दिन आवश्यक छ । अरूले कमाएको लहैलहैमा लागेर शेयरबजारमा छिर्दा थेरैको बिजोग भएको छ ।  बोर्डले गठन गरेको अध्ययन समितिले १० कित्ते नीतिबाट बजारमा र सर्वसाधारणमा पुगेको फाइदा र बेफाइदा दुवै पक्षको राम्ररी अध्ययन गरेर मात्रै सुझाव दिनुपर्छ । केही लगानीकर्ताको भनाइ सुनेर होइन, तथ्यांकमा टेकेर विश्लेषणसहित राय दिनु आवश्यक छ । त्यसो भयो भने यसलाई परिवर्तन गरे पनि वा निरन्तरता दिए पनि सही निर्णय हुनेछ । त्यसैले यसका सकारात्मक र नकारात्मक प्रभावबारे सही अध्ययन होस् भन्ने कुरामा समितिको ध्यान जानु आवश्यक छ । त्यस्तै यतिखेर शेयरबजारमा सुधार हुन नसकेको अर्को पक्ष बजार निर्माताको अभाव हो । स्टक डिलरका रूपमा काम गर्न आएको कम्पनीले पनि यसको समाधान गर्न सकेको छैन । स्टक डिलरले आपूर्ति बढाएर वा शेयर खरीद गरेर बजारलाई सन्तुलनमा राख्छ । तर, यस्तो काम हुन सकेको छैन । त्यसैले यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा पनि ध्यान जानु जरुरी छ ।

मौद्रिक नीतिपछि शेयर लगानीकर्ता उत्साहित, ६१ अंकले बढ्यो नेप्से सूचक

आइतबार शेयरबजार परिसूचक नेप्से ३ प्रतिशतभन्दा धेरैले बढेको छ । आज नेप्से सूचक ६१.०५ अंक अर्थात् ३.०३ प्रतिशतले बढेर २०७८.५१ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २१९ कम्पनीका ६४ लाख २३ हजार १ सय ४६ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ७३ करोड ९ लाख २७ हजार २ सय ९७ रुपैयाँको कारोबार भएको छ। जस मध्ये शिवम सिमेन्टको सबैभन्दा धेरै ३९ करोड ७१ लाख, नेपाल पुनर्बिमा कम्पनीको ६ करोड ८२ लाख, हिमालयन डिस्टिलरीको ६ करोड ५९ लाख, एनआईसी एसिया बैंकले ६ करोड २१ लाख बराबरको कारोबार भएको छ ।आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समुह ७.२२ प्रतिशतले बढेको छ भने अन्य समुह ६.९३ प्रतिशतले बढेको छ । त्यस्तै ट्रेडिङ समुह ४.४४ प्रतिशतले बढेको छ भने हाइड्रो समुह ३.६८ प्रतिशतले बढेको छ ।आज सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टीपर्पोज फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज सर्वाधिक गुमाउनेमा ऋणपत्र र सामुहिक लगानी कोषका इकाईहरु रहेका छन् । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले लगानीकर्ताहरुले उठाई रहेका ब्यबस्था परिमार्जन गरेपछि लगानीकर्ता उत्साहित भएका हुन् । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले शेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार रु.२५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत कायम गरेको छ। त्यस्तै शेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा रु १२ करोड कायम गरिने उल्लेख छ । ४/१२ भनेर परिचित यस नीतिमा ४ खारेज भएर १२ को सीमा कायम रहेको हो।   शेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइने मौद्रिक नीतिमा उल्लेख छ।

शेयरबजार वक्रदृष्टिको चपेटामा

शेयरमा व्यक्ति वा संस्थाले त्यतिबेला लगानी गर्छ जतिबेला भविष्यमा कुनै पनि कम्पनीको आर्थिक अवस्था थप सुदृढ भई शेयरको मूल्यमा वृद्धि हुनेछ । शेयर बेच्ने अवस्था त्यति बेला आउँछ जति बेला कम्पनीको आगामी आर्थिक अवस्था कमजोर हुनेछ र शेयर मूल्य घट्नेछ । तर, हालको बजार गतिलाई हेर्दा अधिकांश लगानीकर्ताको प्रक्षेपण सफल हुन सकेको देखिँदैन । अति आवश्यकताको अवस्थामा बाहेक आत्तिएर शेयर नबेच्दा बेश हुन्छ । कुनै बेला २० अर्बसम्मको कारोबार भएको बजारमा हाल ४ देखि ५ अर्बमा खुम्चिएको छ । यसो हुनुमा शेयरबजारप्रति सरकारको भनाइ र गराइमा तादात्म्य नदेखिनु एवं अनुगमनकारी निकायहरूको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वक्रदृष्टि पर्नु नै हो । लगानीकर्ताले मौद्रिक नीतिको त्रैमासिक समीक्षाले केही सुधार गर्छ कि भनेर प्रतीक्षा गरेको भए तापनि शेयरबजारलाई गति दिने तात्त्विक परिवर्तन मौद्रिक नीतिको समीक्षामा देखिएन । डिम्याट खाता खोल्ने व्यक्तिको संख्या करीब ४७ लाखको हाराहारीमा पुगेको र करीब ४० खर्बको पूँजी बजार भएको कारण शेयरबजारप्रतिको आकर्षण बढ्दो छ । बजारमा कुल जनसंख्याको करीब १८ प्रतिशत जोडिएको र ३० प्रतिशतले शेयरबजारप्रति चासो राखेको देखिन्छ । देशमा पूँजी बजारको विकासविना उद्योधन्दा, वित्तीय क्षेत्र एवं समग्र आर्थिक विकास सम्भव हुन्न । त्यसैले मार्जिन प्रकृतिको शेयर कर्जामा सीमा तोक्नुसान्दर्भिक होइन भन्ने आम सोचाइ बढ्दै गएको छ । छरिएर रहेको पूँजीलाई जसरी निक्षेपमार्फत परिचालन गर्न सकिन्छ त्यसरी नै शेयरबजारमार्फत पनि परिचालन गर्न सकिन्छ । सिद्धान्ततः लगानीकर्ताको लगानीप्र्रति उत्प्रेरणामा प्रभाव पार्ने तŒव भनेको युद्ध वा द्वन्द्व, मुद्रास्फीति, आर्थिक तथा मौद्रिक नीति, प्राकृतिक विपत्ति, प्रविधिको परिवर्तन, कम्पनीको वित्तीय अवस्था र संस्थागत सुशासन हो । नेपालको परिवेशमा यो तŒवले मात्रै नभई चलखेलले पनि काम गरेको देखिन्छ । धेरै कारणले शेयर मूल्यमा दैनिक परिवर्तन हुन सक्छ । यसको अर्थ शेयर मूल्य घटिहाल्दा देशको आर्थिक अवस्था कमजोर र बढ्दा आर्थिक अवस्था बलियो छ भन्न सकिँदैन तापनि शेयरबजार आर्थिक विकास र स्थिरताको सूचक भने हो । नेपालको शेयरबजार अनपेक्षित अस्थिर रहनुले लगानीकर्तालाई शेयर किनबेचमा द्विविधा बनाएको हुनुपर्छ । नेपालमा पनि कोभिड–१९ ले सबै क्षेत्रमा तीव्र असर पारिरहेको छ र देशको आर्थिक वृद्धिदर तीव्र रूपमा घट्न गई मुलुक आर्थिक मन्दीतर्फ उन्मुख छ । तथापि शेयरबजारमा देखिएको चहलपहल र बढ्दो जनचासोले लगानीकर्तामा आशाको सञ्चार हुनु स्वाभाविक देखिन्छ । अनुगमनकारी निकायलाई दोष दिनुभन्दा अगाडि लगानीकर्ताले शेयरबजारका ६ ओटा मुख्य पक्षको जानकारी लिनुपर्छ । पहिला कुरा, धितोपत्र बोर्डले जारी गरेको निर्देशनको पालना, प्राथमिक शेयर, दोस्रो बजारमा किनबेच हुने शेयर, अग्राधिकार शेयर र म्युचुअल फन्डलगायत हुन् । शेयरबजारमा कसरी लगानी गर्ने, आस्बा, डिम्याट खाता, आफ्नो डिपी होल्डर अर्थात् ब्रोकर, डिपी होल्डरमार्फत मेरो शेयर लगइनजस्ता प्रक्रिया पूरा गर्नुपर्छ । दोस्रो बजारको शेयरको खरीद विक्रीमा कसरी संलग्न हुने र शेयर किनबेचबाट कसरी नाफा आर्जन गर्ने तथा लगायत कुरामा पोख्त नभईकन शेयर वा धितोपत्र बजारमा शेयर वा धितोपत्रको किनबेचमा सहभागी हुन कठिन हुन्छ । सामाजिक तथा व्यापारिक उद्देश्यले खोलिएका वित्तीय संस्थाहरूको कर्तव्य निर्देशित कर्जाको पालना र सामाजिक सेवा नभई लगानीकर्तालाई लगानी गरेको रकम नाफाको रूपमा फिर्ता दिनु पनि हो । त्यसैले बैंक तथा वित्तीय संस्थाले शेयरमा लगानी गर्न हुँदैन भन्ने निर्देशनले उत्प्रेरणामा दखल पार्न सक्नेतर्फ सम्बद्ध निकाय समयमै सजग हुनुपर्ने देखिन्छ । शेयर कारोबार वृद्धि हुँदा खुशी र घट्दा दुःखी हुने लगानीकर्ताको स्वभाव भए तापनि किन घट्यो र किन बढ्यो भन्नेतर्फ सजग हुनुपर्छ । लगानी गर्दा हल्ला र अनुमानको पछाडि लाग्नु हुँदैन । विश्व अर्थव्यवस्था, राष्ट्रिय अर्थ व्यवस्था, संगठित सूचीकृत संस्थाको वित्तीय अवस्था, संस्थागत सुशासनको अवस्था, लगानीकर्ताको जोखिम वहन गर्न सक्ने क्षमता र लगानी सुरक्षालाई विशेष ध्यान दिनुपर्छ । शेयरबजारप्रति थप आकर्षण बढाउन आम लगानीकर्तालाई शेयर साक्षरता कार्यक्रममार्फत धितोपत्र बोर्डले शेयर भनेको के हो, यसको मूल्य कसरी निर्धारण हुन्छ, कुन कम्पनीको वित्तीय अवस्था कस्तो छ, शेयर किन किन्ने, शेयर कतिबेला विक्री गर्दा नाफा होला, शेयरको मूल्य किन घटबढ भइरहन्छ, शेयरको घटबढले अर्थतन्त्रलाई कस्तो प्रभाव पार्छ ? भन्ने प्रश्नहरूको उत्तर दिन सक्ने लगानीकर्ताको वृद्धि हुनु आवश्यक छ । विगतान शेयरमूल्य निकै घटेको थियो । तर, कम्पनीहरूको नाफा रामै्र थियो । नाफा बढ्दा पनि शेयरको मूल्य किन बढ्दैन, नाफा घटी कम्पनी कमजोर हुँदा पनि शेयरको मूल्य एकाएक किन बढ्छ भन्ने कुरा अनुत्तरित छ । त्यसैले लगानीकर्ता स्वयं सचेत हुनुपर्ने देखिन्छ । शेयरबजार संकुचन हुनुमा सूचीकृत कम्पनीको शेयर मूल्य घट्दै जानु, घरजग्गा कारोबारमा मन्दी आउनु, बैंक वित्तीय संस्थाले शेयर किन्न दिने ऋणमा गरेको कडाइ गर्नु, बैंक तथा वित्तीय संस्थाले शेयरमा लगानी गर्न कडाइ गर्नु, बैंक ब्याजदरमा अस्थिरता आदि कारण देखिन्छन् । धेरै बैंक वित्तीय संस्थाहरूले राइट र बोनस शेयर दिइसकेकाले अब शेयर संख्या बढ्दैन भन्ने सोचाइ आउनु, बैंकिङ प्रणालीमा तरलता संकट, लघुवित्त विकास बैंकको ब्याजदरमा सीमा तोकिनु बीमा कम्पनीको आम्दानीमा कमी आउनु, लगानीकर्ताको शेयर विक्री गर्ने प्रवृत्ति बढ्नुजस्ता कुरा पनि जिम्मेवार छन् । हालको शेयरबजारमा भएको संकुचन सरकार र अनुगमनकारी निकायको वक्रदृष्टिको कारण हो भन्नेको बाहुल्य देखिएको छ । तसर्थ उपर्युक्तअनुसारको संकुचन र वृद्धि के कारणले हुने गर्छ भन्नेतर्फ बुझ्न र बुझाउन जरुरी छ । किन शेयरबजारलाई असर गर्ने खालको नीति ल्याउनुप¥यो, परिवर्तित नीतिले किन शेयरबजारमा अस्थिरता ल्यायो भन्नेतर्फ सर्वसाधारणलाई चित्तबुझ्दो किसिमले स्पष्ट पार्ने काम अनुगमनकारी निकायको हो । लेखक बैंक तथा वित्तीय संस्थाका विज्ञ हुन् ।

किन अस्थिर भयो शेयरबजार

प्रसिद्ध अमेरिकी आर्थिक पत्रकार चार्लिज डाउको विचारमा आधारित भई हेमिल्टन र नेल्सनलगायत विश्लेषकहरूको विचार, खोज र अनुसन्धानहरूको आधारमा डाउ सिद्धान्त प्रतिपादन भएको थियो । लामो समय वाल–स्ट्रिट जर्नलमा प्रकाशित चार्लिज डाउको विचारहरूले सामान्य अर्थमा शेयरबजारको कुनै पनि मूल्य प्रवृत्तिले औसतमा ४ वर्षको यात्रा तय गर्ने दाबी गरिएको छ । नेपालको नेप्से परिसूचकले चार्लिज डाउको सिद्धान्तलाई भरपुर पछ्याएको देखिन्छ । नेप्सेले सन् २००० नोभेम्बरमा उच्चतम ५ सय ४४ अंकको रेकर्ड बनाएको थियो भने त्यसको ४० महीनापछि सन् २००४ जनवरीमा न्यूनतम अंक २ सय आइपुगेको थियो । त्यसपछिको प्रवृत्तिले पनि क्रमशः ४–४ वर्षको अन्तराल अर्थात् सन् २००८ अगस्तमा सर्वाधिक १ हजार १ सय ७५, सन् २०१२ अगस्तमा न्यूनतम २ सय ९९, सन् २०१६ जुलाईमा अर्को सर्वाधिक १ हजार ८ सय ८८ र सन् २०१९ नोभेम्बरमा १ हजार १ सयको न्यूनतम टेवा लिएको थियो । नेप्सेको आजसम्मको बुलिश वा बियरिस प्रवृत्तिले न्यूनतम ३३ महीनादेखि अधिकतम ४८ महीनासम्मको अवधि निर्धारण गरेको देखिन्छ । नेपालको अर्थतन्त्रको समुन्नति र विकासका लागि पूँजीबजारको योगदान महत्वपूर्ण छ । तर, आर्थिक विकासका लागि पूँजीबजारलाई सापेक्ष बनाउनुपर्ने चुनौती भने विद्यमान छ । विश्वको पूँजीबजार इतिहासमा सधैं एउटै सिद्धान्त वा विचारले काम गर्छ भन्ने हुँदैन । विकसित मुलुकहरूको शेयर सूचकले ८ देखि १० वर्षसम्मको बुलिश प्रवृत्तिहरू बनाएको छ । अमेरिकाको शेयर सूचक डाउ जोन्स सन् २००९ यता बुलिश प्रवृत्तिमा नै छ, यद्यपि कोभिड–१९ महामारीताका सन् २०२० मार्चमा भने ४ वर्ष पुरानो अवस्थामा फर्किएको थियो । तर, त्यो ७ महीनाको अल्पकालीन समयमा नै पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । भारतको अवस्था पनि अमेरिकाको भन्दा फरक छैन । कोभिड–१९ को महामारीताका ४ वर्ष पुरानो अवस्थामा पुगेको सूचकले पछिल्लो समय सर्वाधिक अंकको रेकर्डहरू कायम गरिरहेको छ । यस अर्थमा डाउ सिद्धान्तलाई ठूला मुलुकहरूका शेयरबजारहरूले प्रतिरोध पार गरिसकेको अवस्था छ । बुलिश बजारको अवस्था र सापेक्षता कोभिड–१९ को महामारी अगाडि शेयरबजार बढ्नुमा कुनै आर्थिक गतिविधि वा सूचकले प्रेरित गरेको देखिँदैन । कोरोना महामारी एवं निषेधाज्ञाको समयमा लगानीका हरेक क्षेत्र ठप्प रहेकाले सवैका लागि शेयरबजार निर्विकल्प बन्यो । अनलाइन कारोबारका कारण लगानीकर्ताले घरबाटै कारोबार गर्ने र शेयरबजारमा लगानी गर्ने मौका पाए । जसका कारण अत्यधिक नयाँ लगानीकर्ता बजारमा भित्रिए । निषेधाज्ञाको समयमा लगानीका वा व्यापारका अन्य क्षेत्रहरू खुम्चिँदा ब्याजदर घटेको र त्यो कर्जा शेयरबजारमा परिचालन भएको थियो । फलस्वरूप कोभिड–१९ को समयमा शेयरबजारको कारोबारमा ऐतिहासिक रेकर्डहरू देखियो । नेपालको शेयरबजारलाई स्वचालित एवं पूर्ण अनलाइनमा सञ्चालन गर्न ठूलै धक्का आवश्यक देखिन्थ्यो । न्युटनको चालको नियमझैं कोभिड–१९ को धक्काले अन्ततः बजारलाई आजको अवस्थामा रूपान्तरण गरेको देखिन्छ । अहिले कोभिड–१९ को महामारीबाट जनजीवन सामान्य भएसँगै अन्यत्र आर्थिक गतिविधिहरू सुचारू हुन थालेको छ । जसका कारण क्रमशः बैंकहरूमा कर्जाको माग व्यापक बढेको देखिन्छ । बैंकहरूसँग लगानीयोग्य पूँजीको अभाव भइसकेका कारण बैंकहरूले ब्याजदर धमाधम बढाउन बाध्य भएका छन् । बाध्यतावश बैंकहरूले ब्याजदर बढाए पनि पछिल्लो समयमा निक्षेप संकलनमा अपेक्षाकृत सुधार आएको छैन । असोजको पहिलो सातासमेत ८ सय ३२ करोड नयाँ निक्षेप संकलन भएको छ भने भदौको अन्तिम साता २६ सय ३० करोड निक्षेप संकलन भएको थियो । नयाँ निक्षेपको स्रोत पहिचान गर्न नसकेका कारण बजारमा लगानीयोग्य तरलताको अभाव चुलिँदै गएको छ । निक्षेपको स्रोतमा देखिएको समस्या सम्बोधन नभएकाले ब्याजदर बढाउँदाको नतीजा भने एउटा बैंकको पैसा अर्काे बैंकमा सर्ने अवस्थामा पुगेको छ । आर्थिक अवस्था र मुद्रा सञ्चिति समग्र मुलुकको आर्थिक सूचकहरू पछिल्लो समय नकारात्मक भएरहेको देखिन्छ । अहिले सरकारी खर्च बढेको छैन भने दातृ निकायको सहयोग एवं विप्रेषण आप्रवाह समेत घटेको देखिन्छ । आयात बढेपछि व्यापारघाटा मनग्य बढेको छ भने शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति एवं मूल्य वृद्धिलगायत सूचकहरूमा अत्यधिक दबाब बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महीनाको समग्र आर्थिक तथा वित्तीय स्थितिको सूचकहरू धेरै नकारात्मक देखिएका छन् । गत जेठ मसान्त १५ सय १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति असार मसान्तमा पुनः १ सय २३ करोडले बचतमा आएको थियो । तर पछिल्लो प्रतिवेदनअनुसार साउनमा शोधनान्तर स्थिति ३८ सय ७५ करोडले घाटामा छ जुन अघिल्लो वर्षको साउनमा ५१ सय ४६ करोडले बचतमा रहेको थियो । विदेशी मुद्राको सञ्चिति घट्ने क्रम पनि जारी रहेको देखिन्छ । असार मसान्तसम्म कुल विदेशी सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड बराबर थियो भने साउनमा त्यो सञ्चिति ३ दशमलव २ प्रतिशतले घटेर घटेर १३ खर्ब ५३ अर्ब ८२ करोड रहेकोे छ । त्यससँगै चालू खातासमेत अधिक घाटामा पुगेको देखिन्छ । गतवर्षको साउनमा २५ सय ४१ करोड बचतमा रहेको चालू खाता यो वर्ष साउनमा ४७ सय ९० करोड घाटामा पुगेको छ । यस वर्षको साउनमा विप्रेषणमा पनि १८ दशमलव १ प्रतिशतले कमी आएको छ जुन अघिल्लो वर्षको सोही अवधिमा २३ प्रतिशतले बढेको थियो । गतवर्षको साउनमा ९२ सय ७१ करोड विप्रेषणका रूपमा नेपाल भित्रिएको थियो भने यो वर्षको सोही समयमा विप्रेषण आप्रवाह ७५ सय ९६ करोडमा सीमित रहन पुगेको छ । व्यापारघाटा समेत आव २०७८/७९ को पहिलो महीनामा ७० दशमलव ६ प्रतिशतले वृद्धि भई १ खर्ब २९ अर्ब ९७ करोड पुगेको छ जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा २२ दशमलव २ प्रतिशतले बढी हो । नेपालको अर्थतन्त्रको समुन्नति र विकासका लागि पूँजीबजारको योगदान महŒवपूर्ण छ । तर, आर्थिक विकासका लागि पूँजीबजारलाई सापेक्ष बनाउनुपर्ने चुनौती भने विद्यमान छ । नेपालको पूँजीबजारमा आज पनि वास्तविक क्षेत्रको प्रवेश गराउनेदेखि दायरा विस्तार गर्नेलगायत विषयमा गतिरोध देखिएको छ । यस्ता गतिरोधहरूको समाधान गर्ने हो भने पूँजीबजार पनि दिगो, सम्पन्न र सबल अर्थतन्त्रको आधारशिलाका रूपमा स्थापित हुनसक्छ । नेपालको सन्दर्भमा अर्थतन्त्र र पूँजीबजारको सम्बन्ध सापेक्षता नदेखिए पनि आर्थिक तथा वित्तीय सूचकहरूले भने शेयरबजारलाई पनि प्रभावित पारिरहेको हुन्छ । शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति, आयात वा निर्यात, मूल्यवृद्धि, मुद्रास्फीति वा विप्रेषण जस्ता आधारभूत आर्थिक सूचकहरू नकारात्मक भएसँगै त्यसको प्रभाव अहिले शेयरबजारमा परेको देख्न सकिन्छ । शेयरबजारको नियामक निकायका नेतृत्व गर्ने पात्रहरूका कारण नियामकको संस्थागत चरित्रमा दाग लागेको छ भने बजारले लगानीकर्ताको विश्वासनीयतासमेत गुमाएको छ । उपभोग चक्र र बजारको तरलता सन् २०१५/१६ को तथ्यांक विभागको घरधुरी सर्वेक्षणलाई आधार मान्ने हो भने नेपालीको औसत वार्षिक उपभोग खर्च औसत ३ दशमलव ५ रहेको छ । त्यसमध्ये औसत ५४ प्रतिशत खर्च खाद्यान्नका लागि हुने गरेको देखिन्छ । नेपालको कुल राष्ट्रिय उपभोगको १९ प्रतिशत खर्च दशैंको अवधिमा हुने देखिन्छ भने प्रतिपरिवार औसत दशैंखर्च ७० हजार निस्कने देखिन्छ । औसत उपभोग्य खर्चलाई आधार मानेर हेर्ने हो भने ५२ लाख घरधुरीको दशैंको कुल बजेट ३ खर्ब ५० अर्ब पुग्ने देखिन्छ । नेपालको उपभोग मूलतः आयातमा निर्भर छ भने दशैंको मुखमा हुने गरगहना, विद्युतीय उपकरणहरू वा गाडीहरूसहित कुल आयातको अंक १ खर्बभन्दा बढी हुने गर्छ । अर्थात् नेपालीहरूले प्रयोगमा ल्याएका गरगहना, विद्युतीय उपकरणहरू वा गाडीदेखि खाद्यान्न र लत्ताकपडा समेतमा आयातको भरथेग देखिन्छ । यसअर्थमा नेपालको कुल दशैंको खर्च ४ खर्बभन्दा बढी वा कुल गार्हस्थ्य उत्पादनको १९ प्रतिशत र कुल वार्षिक बजेटको एक तिहाइभन्दा बढी हुने अनुमान गर्न सकिन्छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार प्रत्येक आर्थिक वर्ष पहिलो त्रैमासिक अवधिमा वर्षभरिको कुल विप्रेषणको २५ देखि ३० प्रतिशत रकम भित्रिने गरेको छ । यो अवधिको अधिकांश विप्रेषणले उपभोगलाई बढाउने देखिन्छ । त्यसअतिरिक्त नेपाल राष्ट्र बैंकको तयारीअनुसार पनि चक्रीय प्रणालीभित्र रहेर दशैंको समयमा ३५ अर्बभन्दा बढी नयाँ नोट जारी गरेको छ । सरकारी तथा गैरसरकारी तहबाट ८० अर्बभन्दा बढी रकम दशैंका लागि कर्मचारी खर्चका रूपमा वितरण हुन्छ । यो समयमा बैंक तथा वित्तीय संस्थाबाट बाहिरिएको पैसा उपभोगमा नै खर्च हुने देखिन्छ । खर्चको रूपमा बजारमा पुगेको रकम फेरि औपचारिक माध्यमबाट बैंकमा पुग्न अर्को १ महीना लाग्नसक्ने देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार ठूला चाडपर्व आसपास अधिकांश वस्तुको मूल्य बढ्ने र उपभोगमा आधारित मूल्यवृद्धि अधिक हुने गरेको छ । वस्तु वा सेवाको बजार मूल्यसमेत सामान्य अवस्थाको भन्दा बढी हुने कारणले दशैं वा चाडपर्वको समयमा उपयोग हुने मुद्रा औसतभन्दा बढी हुनसक्छ । यसर्थ धेरै पैसा उपभोगका लागि परिचालन हुने भएकाले त्यसको असर निक्षेप संकलनमा समेत पर्छ । फलस्वरूप निक्षेपको ब्याजदर वृद्धिको सूचना प्रकाशित गर्न बैंकहरू बाध्य भएका छन् । पछिल्लो समय बजारको दबाबका अतिरिक्त राष्ट्र बैंकले मौद्रिक नीतिले समेत ब्याज बढाउन बैंकहरू बाध्य बनेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरूले सीसीडी अनुपातको सट्टा सीडी अनुपात कायम गर्नुपर्ने प्रावधान राखेको थियो । जसले गर्दा बैंकहरूमा लगानीयोग्य रकम कम हुन गएको र चाडपर्व नजिकिएसँगै बैंकहरूबाट निक्षेप बाहिरिने क्रम बढेको छ । नीतिगत परिवर्तन र स्वार्थकेन्द्रित अराजक समूह नेपाल राष्ट्र बैंकले सीडी अनुपातको अतिरिक्त शेयर धितो कर्जामा समेत फरक प्रावधानको व्यवस्था ग¥यो । मौद्रिक नीतिमा एउटा बैंक वा वित्तीय संस्थाले एक व्यक्ति वा संस्थालाई शेयर धितोमा बढीमा ४ करोड र शेयर धितो राखेर एक व्यक्ति वा संस्थाले विभिन्न बैंक वा वित्तीय संस्थाबाट बढीमा १२ करोड रुपैयाँ कर्जा लिन पाउने नयाँ व्यवस्था गरेको थियो । त्यसैगरी बैंक तथा वित्तीय संस्थालाई शेयर कारोबार गर्न समेत कडाइ गरी बैंकहरूलाई लघुवित्तको शेयर खरीदमा निश्चित प्रतिबन्ध लगाइएको थियो । उल्लिखित कतिपय प्रावधान प्रभावकारी नियमनका दृष्टिकोणले सान्दर्भिक पनि देखिन्छन् । जोखिमरहित तरलताको व्यवस्थापन र समान रूपले शेयर धितो कर्जा प्रवाह गर्ने कार्यलाई उल्लिखित नीतिगत प्रावधानले टेवा दिएको छ । तर, नयाँ नीतिगत प्रावधान ल्याउने समयको सन्दर्भमा भने नेपाल राष्ट्र बैंक चुकेको छ । यसले गर्दा बजारमा अराजक समूहले खेल्ने प्रशस्त मौकासमेत पाएको र बजारलाई अस्थिरतातर्फ धकेलेको प्रतीत हुन्छ । अराजक समूह र प्रवृत्तिले नै गर्दा बजारमा नराम्रो पर्फमेन्स भएका कम्पनीको समेत मूल्य अस्वाभाविक उचालिएको थियो । केही त्यस्ता नराम्रो पर्फमेन्स भएका कम्पनीको मूल्य घट्नुलाई स्वाभाविक लिन सकिन्छ । तर, बजारमा आफूलाई प्राप्त प्रतिकुल अवसरको उपयोग गरेर राम्रा कम्पनीको समेत मूल्यमा चलखेल भएको देखिन्छ । त्यसको अतिरिक्त पछिल्लो समय नियामक निकायहरूका नेतृत्व नै बजारमा चलखेल गर्न सफल भएका छन् । नेपाल धितोपत्र बोर्डदेखि नेप्सेका प्रमुखहरू समेत अवैधानिक रूपमा शेयर किनबेचमा सामेल भएको पुष्टि भइसकेको छ । शेयरबजारको नियामक निकायका नेतृत्व गर्ने पात्रहरूका कारण नियामकको संस्थागत चरित्रमा दाग लागेको छ भने बजारले लगानीकर्ताको विश्वासनीयता समेत गुमाएको छ । साथै, स्वार्थकेन्द्रित लगानीकर्ताको विभिन्न समूहहरूले आफूअनुकूलका अभियान वा आन्दोलनहरू सञ्चालन गर्ने प्रवृत्ति देखिन्छ । नियामकलाई अनुचित दबाब दिने र प्रायोजित रूपमा उपलब्ध सूचनाहरूको समेत दुरुपयोग गर्नेहरूको समूहसमेत ठूलो रहेको छ । बजारमा गिरावट आउनै नहुने भन्ने प्रवृत्ति बजारको स्वतन्त्र विकासका लागि बाधक हो । यस समयमा पूँजीबजारको प्रतिफलले सबैलाई आकर्षित गर्ने परिस्थिति छ । तर, त्यसअनुसार पूँजीबजारमा लगानीकर्ताको आकर्षण देखिँदैन । अर्थात्, सापेक्ष अर्थतन्त्रको विकल्पको आधार रूपमा पूँजीबजारले आफ्नो मार्ग तय गर्न नसकेका कारण निश्चित क्षेत्रका कम्पनी र सीमित वर्गका मानिसहरू पूँजीबजारको हाताभित्र अटाएका छन् । तसर्थ पूँजीबजारको आकारलाई अर्थतन्त्रको क्षेत्रगत अंशका आधारमा विस्तार गर्नु आजको आवश्यकता हो । तसर्थ सरकारले समेत धितोपत्र बोर्डलाई थप बलियो बनाउने र नियामक निकायको रूपमा प्राप्त कार्याधिकारलाई फराकिलो र गतिशील बनाउन जरुरी छ । निश्चित अधिकारसहित धितोपत्रको विषयमा कानूनको मस्यौदा, पैरवी र न्यायिक अधिकारसमेत धितोपत्र बोर्डलाई दिने व्यवस्था गर्न आवश्यक छ । शेयरबजार सधैं बढिरहनुपर्छ भन्ने मान्यता राख्नु गलत हो । बजार कुनै बेला घट्छ, कुनै बेला बढ्छ, यो बजारको स्वाभाविक लय हो । कुनै पनि कम्पनीको मूल्य सधैं बढ्छ वा बढ्नुपर्छ भन्ने हुँदैन । बजारमा लगानी गर्न, उच्च प्रतिफल लिन र जोखिम न्यूनीकरणका लागि समयलाई चिन्नु आवश्यक छ । कुन समयमा कस्तो प्रकारको प्रवृत्ति तयार हुन्छ, सोहीअनुरूप लगानीको निर्णय लिनु आवश्यक छ । शेयरको लगानीले सधैं राम्रो प्रतिफल दिन्छ भन्ने हुँदैन । उपयुक्त समयअनुसार योजना बनाएर लगानी गर्नु जोखिमरहित हुन्छ । शेयरमा लगानी गर्ने धेरैको आफ्नै अनुभवहरू हुन्छन् । सफल, असफल वा पैसा कमाउने वा नकमाउनेहरूको समेत आआफ्नै अनुभवहरू हुन्छन् । आफ्नो अनुभवका आधारमा सबल आत्मविश्वास र दृढता पाल्ने हो भने बजारबाट अपेक्षित प्रतिफल लिन सकिन्छ । आफ्नो लगानी नै भरोसा गर्नु र आफैले जानेर विवेकपूर्ण निर्णय गर्नु आवश्यक छ । अरूको पछाडि दौडने प्रवृत्ति त्यागेर आधारभूत विषयहरूमा अध्ययन गरी निर्णय लिने क्षमता वृद्धि गर्नु नयाँ लगानीकर्ताले आवश्यक छ । लगानीको उचित प्रतिफल लिन धैर्य अति आवश्यक हुन्छ । अस्थिर मानसिकताले गरेको लगानीले जोखिमसमेत निम्त्याउन सक्ने देखिन्छ । शेयरबजारको लगानीले केही दिन वा हप्तामा नै अथाह कमाउने सपना देख्नु अस्वाभाविक हो । यस्तो उच्च महत्त्वाकांक्षा वा यथार्थपरकभन्दा बाहिरको अपेक्षाले लगानीकर्तालाई हित गर्दैन । तसर्थ प्रत्येकले शेयर खरीदभन्दा अगाडि इतिहास देखि वर्तमानसम्मको कम्पनीको कार्यप्रगति मूल्यांकन गर्नु आवश्यक छ । बजारमा प्रवेश गरेपछि इमोशन वा इगो र आफूभित्रको डर र लोभलाई नियन्त्रण लिन आवश्यक छ । साथै बजारशाट शेयर बेच्ने समयमा पनि कतिपय अवस्थामा पैसा गुमाउने डरले हतारमा निर्णय गर्ने गरिन्छ र त्यसले समेत नोक्सानी बेहोर्ने अवस्था आँउछ । कतिपय अवस्थामा आफूले लगानी गरेको रकमको मूल्य तल झरे पनि कुनै समय त्यो फिर्ता आउछ भन्ने दृढता पाल्नु आवश्यक छ । लगानीकर्ताले जुन आत्मविश्वासका साथ लगानी गरिएको छ त्यही आत्मविश्वासका साथ धैर्य गर्नु आवश्यक छ । लेखक आर्थिक विकास अनुसन्धान केन्द्र (नारेक) नेपालका निर्देशक हुन् ।

शेयर बजारमा उत्साह

नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिनमै शेयरबजार झन्डै १०० अंकले बढेर २९८१ विन्दुनजिक पुगेको छ भने पछिल्लो १ महिनायताकै सर्वाधिक रकम ११ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सरकार परिवर्तन र नयाँ आर्थिक वर्षको पहिलो दिनमै यसरी शेयरबजार उकालो लाग्दा शेयरबजार कतिको परिपक्व भएको छ भन्नेमा चर्चा चल्नु स्वाभाविक हो । नयाँ आर्थिक वर्षसँगै शेयरबजारमा केही परिवर्तन भएका छन् । अल्पकालीन कारोबारी र दीर्घकालीन लगानीकर्ताका लागि अलगअलग पूँजीगत लाभकर लागू भएको छ । त्यस्तै शेयर खरीद विक्रीमा केही पैसाको अन्तरमा समेत मोलमोलाई गर्न पाउने व्यवस्था लागू भएको छ । अन्य केही सुधार पनि भएका छन् । यी परिवर्तनले नेपालको शेयरबजारमा प्रविधिगत रूपमा र नीतिगत रूपमा परिपक्व बन्दै गएको देखिन्छ । यद्यपि बजार सुधारका लागि गर्नुपर्ने काम निकै बाँकी छन् । पूँजीगत लाभकर घटाउनेलगायत लगानीकर्ताका माग पूरा हुन बाँकी छ । हरेक लगानीकर्ताको आआफ्नो लगानी रणनीति हुनुपर्छ र यसबारे लगानीकर्तालाई जानकार बनाएमात्रै शेयरबजार परिपक्व हुँदै जानेछ । आइतबार शेयरबजार बढ्नुमा कुनै विशेष कारण भने देखिँदैन । आर्थिक वर्षको अन्त्यमा हिसाबकिताब मिलाउनुपर्दा बजारमा केही करेक्शन आएको थियो । बढ्दै गएर उच्च विन्दुमा पुगेको शेयरबजार केही घटेको थियो । घटेको बजार पनि कारोबार र बजार परिसूचक हेर्दा करीबकरीब स्थिर भएको थियो । नयाँ सरकारले विश्वासको मत पाउने देखिएपछि तथा अर्थमन्त्री जनार्दशन शर्माले पूँजी बजारप्रति सकारात्मक अभिव्यक्ति दिएका समाचार आएकाले पनि बजार उकालो लाग्न थालेको लगानी विश्लेषकहरूको छ । आज झन्डै सय अंकले बढेको शेयरबजार भोलिपर्सि पनि यसरी नै बढ्छ भन्न सकिँदैन । जसरी शेयरबजार उच्च अंकले बढ्छ भन्ने आधार थिएन त्यसैगरी घट्छ भन्ने आधार पनि खासै केही देखिँदैन । हो, प्राविधिक कारणले बजार केही तलमाथि हुन्छ । कुनै हल्लाले ह्वात्तै माथि बढ्ने पनि हुन सक्छ, घट्ने पनि हुन सक्छ । यस्तो हल्लाबाट बचेर कम्पनीहरूको विश्लेषण गरेर लगानीकर्ताले लगानी गर्नुपर्ने हुन्छ । शेयरबजार बढे पनि अर्थतन्त्रका आधारभूत पक्षहरू भने परिवर्तन भएका छैनन् । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको आर्थिक प्रतिवेदनले नेपालको अर्थतन्त्र सकारात्मक रहेको देखाउँदैन । देशको शोधनान्तर स्थिति घाटामा गएको छ । कोरोनाका कारण आर्थिक गतिविधि सुस्त भएको छ । शेयरबजारमा सूचीकृत कम्पनीहरूको मुनाफा प्रभावित भएको छ । बैंक तथा वित्तीय संस्थाहरूको बाहुल्य रहेको नेपालको शेयरबजारमा ती संस्थाको मुनाफा राष्ट्र बैंकको मौद्रिक नीतिका कारण उल्लेख्य मात्रामा बढ्न सकेको छैन ।   यस्तोमा लगानीकर्ता सचेत हुनुपर्ने देखिन्छ । शेयरबजारका अत्यधिक लगानीकर्ता सचेत देखिएका छन् र कम्पनीहरूको विश्लेषण गरी लगानी गरिरहेको देखिन्छ । तर, केही लगानीकर्ता भने अरूको लहैलहैमा लागेर शेयरबजारमा लगानी गरिरहेका पनि देखिन्छन् । तिनलाई पूँजी बजारबारे ज्ञान दिनु पनि जरुरी देखिन्छ । बजार घट्यो भने वा बढ्नुपर्ने कारण छैन भनेर कसैले प्रतिक्रिया दियो भने त्यसविरुद्ध खनिने केही लगानीकर्ता पनि बजारमा देखिएका छन् । धितोपत्र बोर्डले लगानी जोखिमयुक्त हुन सक्छ है भनी सचेत पारेर विज्ञप्ति निकाल्दा लगानीकर्ताले दिएको प्रतिक्रिया हेर्दा कतिपय लगानीकर्तामा शेयरबजार बढेको बढ्यै हुन्छ भन्ने सोच रहेको पनि देखिन्छ । वास्तवमा यो एकोहोरो बढेको बढ्यै र घटेको घट्यै हुन्छ भन्ने छैन । त्यसैले लगानीकर्ताले उपयुक्त कम्पनी र आफ्नो जोखिम वहन गर्न सक्ने क्षमताअनुसार लगानी गर्नु आवश्यक हुन्छ । हरेक लगानीकर्ताको आआफ्नो लगानी रणनीति हुनुपर्छ र यसबारे लगानीकर्तालाई जानकार बनाएमात्रै शेयरबजार परिपक्व हुँदै जानेछ ।

नियामकको अपरिपक्वता

नियामक निकाय नेपाल धितोपत्र बोर्डले मंगलवार धितोपत्र बजारमा सूचीकृत कम्पनीमध्ये ५१ कम्पनीको शेयरमा गरेको लगानी जोखिमयुक्त रहेको भन्दै नामै किटेर विज्ञप्ति निकालेपछि बोर्डको यस कामको तीव्र आलोचना भइरहेको छ । आफ्नो अध्ययनबाट यी कम्पनीको कारोबार जोखिमयुक्त भएको भन्दै लगानीकर्तालाई सचेत पार्ने काम बोर्डले गरेको हो । तर, बोर्डको कार्य प्रकृतिअनुसार यो काम निकै अपरिपक्व देखिएको छ ।  शेयरबजारमा मनोविज्ञानले धेरै काम गर्छ । त्यो मनोविज्ञानमाथि खेल्ने काम बोर्डले जानेर वा नजानेर गरेको छ ।  हो, अर्थतन्त्रका परिसूचकहरू कमजोर रहेका बेला शेयरबजार निकै चम्किइरहेको छ । १ वर्षअगाडि ३०–४० करोडका हाराहारीमा कारोबार भइरहेकामा अहिले कारोबार रकम दैनिक १८–१९ अर्बको हाराहारीमा भइरहेको छ । शेयरबजारमा लाग्नेहरूको संख्या व्यापक बढेको छ र शेयरको कुल पूँजीकरणले कुल गार्हस्थ्य उत्पादनलाई भेटेको छ । यसरी बजार उचालि“दा अध्ययन गरेर लगानी गर्नेहरू पनि होलान्, जोखिम वहन गर्न सक्ने पनि होलान् र लहैलहैमा लगानी गर्ने पनि होलान् । यी सबै खाले लगानीकर्ताको हित संरक्षण गर्नु नियामक निकायको कर्तव्य हो । तर, यो कर्तव्य निर्वाह गर्दा उसले नियमनको निश्चित दायरामा बसेर काम गर्नुपर्ने हुन्छ ।  बजारमा कर्नरिङ भएको छ, भित्री सूचनाका आधारमा कारोबार भइरहेको छ भने त्यसबारे अध्ययन गरेर दोषीलाई प्रमाणसहित कारबाही गर्नु बोर्डको काम हो । त्यस्तै सूचना चुहाएर बजार प्रभावित पारिएको छ भने त्यस्तालाई कारबाही गर्नु पनि बोर्डकै काम हो । अर्थात् शेयरबजारको स्थायित्व र सुरक्षा तथा लगानीकर्ताको हितका लागि काम गर्नु बोर्डको दायित्वभित्र पर्छ । तर, विभिन्न परिसूचकका आधार देखाएर नियामकले खास खास कम्पनीमा लगानी गर्नु जोखिमयुक्त छ भनेर विज्ञप्ति नै निकाल्ने अन्तरराष्ट्रिय अभ्यास देखिएको छैन ।  लगानीकर्ताले पीई रेसियो, नेटवर्थ, ईपीएस आदि हेरेर लगानी गर्नुपर्छ भन्ने मान्यता छ तर, यही मान्यताका आधारमा रहेर मात्रै कसैलाई लगानी गर वा नगर भन्ने अधिकार बोर्डलाई छैन । उसले मंगलवार जसरी जोखिमयुक्त लगानी भन्दै ५१ ओटा कम्पनीको नाम सार्वजनिक गरेको छ त्यसको लगानीकर्ता, विज्ञ र सरोकारवाला सबैले विरोध गरेका छन् । हुन पनि नियामकको काम कसैले गल्ती गरेको शंका लागे त्यसबारे अनुसन्धान गर्ने हो, दोषी प्रमाणित भए कानूनी प्रक्रियाअनुसार कारबाही गर्ने हो । कम्पनीहरूले गल्ती गरेका थिए भने बोर्डले किन कारबाही गरेन त भन्ने प्रश्न उब्जनु स्वाभाविक हो ।  बोर्डले कम्पनीको नाम सार्वजनिक गरेर लगानीकर्तालाई त्रस्त र आक्रोशितसमेत बनाएको छ । गल्ती गर्नेलाई हदैसम्म कारबाही गर्ने अधिकार बोर्डलाई छ । कुनै लगानीकर्ता, पब्लिक कम्पनीको सञ्चालक, तिनको माथिल्लो तहका कर्मचारी र धितोपत्र कारोबार गर्ने संस्थाबाट गल्ती भएको छ भने तिनलाई कारबाही गर्ने हो, कम्पनीलाई कारबाही गर्ने होइन । त्यसैले बोर्डले गरेको काम नियामकीय दायराभित्रको भएको देखि“दैन । सही काम गरेकै भए पनि गलत तरीकाले गर्न पाइँदैन र गर्नु हुँदैन पनि । बोर्डको नियत जेजस्तो भए पनि कम्पनीको नाम नै तोकेर लगानीकर्तालाई जोखिमयुक्त छ भन्नु उसको अरिपक्वता हो, खेलाँची हो । उसको अपरिपक्वताकै कारण बुधवारको शेयरबजार उतारचढावका बीच ५२.४१ अंकले घट्न पुग्यो । शेयरबजारमा मनोविज्ञानले धेरै काम गर्छ । त्यो मनोविज्ञानमाथि खेल्ने काम बोर्डले जानेर वा नजानेर गरेको छ । यद्यपि सम्भावित दुर्घटनालाई लिएर सचेत पार्ने कामलाई भने कतिपयले सकारात्मक रूपमा लिएका छन् । प्रक्रियामा मात्रै धेरैको असन्तुष्टि रहेको पाइन्छ ।  नेपालको शेयरबजारमा थुप्रै कमीकमजोरी छन् । नियामक निकाय कमजोर भएको भन्ने भनाइ बारम्बार आइरहेको छ । त्यस्तै भित्री कारोबार, सूचना चुहाएर बजारमा गरिने चलखेलजस्ता आपराधिक क्रियाकलाप गर्नेलाई कारबाही गर्ने स्पष्ट कानूनी आधार नभएको भन्ने भनाइ पाइन्छ । त्यस्तै, अनुसन्धान गर्न सक्ने सामथ्र्य बोर्डसँग छैन भनिन्छ । यसो हो भने बोर्डको ध्यान आफूलाई सक्षम बनाउनेतर्फ पनि केन्द्रित हुनुपर्छ ।

महामारीमा मौलाएको शेयरबजार

कोरोना महामारीका कारण समग्र उद्योग व्यापार शिथिल बन्दै गएको अवस्थामा शेयर बजारले भने नयाँ रेकर्ड बनाइरहेको छ । सामान्यत : महामारी र राजनीतिक संकटको समयमा त्यसको प्रभाव शेयर लगानीकर्ताको मनोविज्ञानमार्फत बजारमा प्रकट हुनेमा यस पटक त्यस्तो देखिएको छ्रैन । कोरोना महामारी र रजनीतिक अस्थिरताका बीचमा पनि शेयरबजार उचाइतिर लम्किनेक्रम जारी छ । सोमवार यो आलेख तयार पारिरहँदा शेयरबजार अघिल्लो दिनको तुलनामा २० दशमलव ७१ अंकले बढेर २ हजार ७ सय ५९ दशमलव २२ बिन्दुमा पुगेको छ । यो नेपालको शेयरबजारमा उचाइको नयाँ रेकर्ड हो । कोरोनाको संकटमा पनि शेयरबजारमा लगानीकर्ताको मनोबल उच्च देखिएको छ । यसका पछाडि केही कारण अवश्य छन् । महामारी नियन्त्रणका लागि सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा लगाएको छ । उत्पादन, आपूर्ति र बजारका दृष्टिले महत्त्वपूर्ण मानिएका काठमाडौं उपत्यका, वीरगञ्ज, भैरहवा, विराटनगर, नेपालगञ्जलगायत क्षेत्रमा निषेधाज्ञा तेस्रो हप्तामा चलिरहेको छ । यसले उद्योग व्यापार प्रभावित भएको छ । बजार बन्द हुँदा माग, उत्पादन र आयातको शृंखलामा नकारात्मक प्रभाव देखिन थालेको छ । उद्योग व्यापार शिथिल हुँदा वित्तीय क्षेत्रमा अधिक तरलता देखिएको छ । यो अहिले तत्कालको समस्यामात्र होइन । गतवर्ष ६ महीनासम्मको बन्दाबन्दी र निषेधाज्ञामा पनि बैंकहरूको लगानी खुम्चियो । बितेको असोजयता अवस्था केही सहज भएपछि बैंकहरूको ऋण प्रवाहमा सुधार आएको पनि थियो । पुनः बन्दाबन्दीकै तहमा भएको निषेधाज्ञाले वित्तीय क्षेत्रमा स्वाभाविक रूपमा तरलता बढेको छ । बैंकले ६/७ प्रतिशत ब्याजमा पैसा दिइरहेका छन् । शेयर कर्जा सहज भएपछि स्वाभाविक रूपमा यसको प्रभाव शेयरबजारमा देखिएको छ । बैंकहरूमा पर्याप्त तरलता र उद्योग व्यापारमा लगानी नभएपछि बैंक र लगानीकर्ताका लागि शेयरबजार सहज विकल्प भएकैले यतिखेर बजार उचालिएको हो । कोरोना महामारीका कारण वैदेशिक रोजगारीको आय जति प्रभावित हुने अनुमान गरिएको थियो, अनुमानभन्दा निकै कम प्रभाव परेको देखियो । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को गत चैत महीनासम्ममा विप्रेषण आप्रवाह १६ दशमलव ६ प्रतिशतले बढेर ७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । यो रकम कुनै न कुनै माध्यमबाट बैंकिङ प्रणाली हुँदै बजारमै आउने हो । यसबाट पनि लगानीयोग्य रकम बढ्न गयो । र, बैंकहरूले लगानीका क्षेत्र खुम्चिएको अवस्था शेयर लगानीतर्फ लगानी बढाए । यसले पनि शेयरबजारलाई बढाउन मद्दत मिल्यो । जबसम्म बैंकको ब्याजदर १० प्रतिशतभित्रै रहन्छ, त्यति बेलासम्म शेयरबजारमा लगानी बढ्छ । विगत केही वर्षयता शेयरबजारमा भित्रिएको प्रविधि अहिले शेयरबजार बढ्नुमा एउटा प्रमुख औजार भएको छ । अन्य उद्यम व्यवसायका लागि भौतिक रूपमै उपस्थितिको खाँचो पर्छ भने शेयरबजारमा यो बाध्यता छैन । अहिले लगानीकर्ताले अनलाइनबाटै शेयर किनबेच गर्न सक्ने भएका छन् । विगतजस्तै शेयर दलालको कार्यालयमै धाउनुपर्ने अवस्था भएको भए बन्दाबन्दी र निषेधाज्ञामा शेयर कारोबार सम्भव हुने थिएन । प्रविधिका कारण कारोबार छरितो र पारदर्शी भएपछि लगानीकर्तामा चेतना र उत्साह दुवै विस्तार भएको अवस्था छ, यसले पनि शेयरबजारलाई बढाउने काम गरेको छ । सरकारले घरजग्गाको कारोबारलाई नियन्त्रणको नीति लिएकाले पनि शेयरबजारमा लगानीकर्ताको आकर्षण बढेको हो । घरजग्गाको कारोबारका नीतिगत कडाइले व्यवसाय खुम्चिनु र लगानी बढी चाहिने भएपछि त्यस्ता व्यवसायी पनि यतिबेला शेयर बजारतिर छिरेका छन् । विज्ञहरूले कारोना महामारी आगामी ४/५ वर्षसम्म कुनै न कुनै रूपमा रहिरहने बताइरहेका छन् । यदि यसो हो भने शेयरबजारको उचाइ निरन्तर बढ्ने अनुमान गर्न कठिन छैन । कोरोना महामारीको समयमा अन्य क्षेत्रका लगानीकर्ताले पनि शेयरबजारलाई वैकल्पिक आयको माध्यम बनाएका छन् । अन्य व्यापार व्यवसायमा बन्दाबन्दी र निषेधाज्ञाको मार परे पनि शेयरबजारमा त्यसको असर नपर्ने भएपछि त्यस्ता लगानीकर्ता पनि आकर्षित भएका छन् । यसले शेयरबजारमा रौनक देखिएको हो । प्राथमिक बजारमा मात्र सीमित धेरै लगानीर्ता अहिले दोस्रो बजारमा प्रवेश गरेका छन् । सरकारले निजी कम्पनीहरूलाई पनि शेयरबजारमा आउन प्रोत्साहित गरेको छ । बुक बिल्डिङमार्पmत शेयर विक्रीको बाटो खुलाइएको छ । सर्वोत्तम सिमेन्ट यसको तयारीमा छ । विगतमा शिवम् सिमेन्टले प्रिमियम दर राखेर सर्वसाधारलाई शेयर बेचिसकेको छ । अरू थुप्रै कम्पनी यसमा लागेका छन् । यसले पनि शेयरबजारमा सर्वसाधारण लगानीकर्ताको सहभागिता बढाउने अपेक्षा गर्न सकिन्छ । लगानीकर्ताले मुख्यत : २ प्रकारले लगानी गरेको पाइन्छ । एकथरी अल्पकालीन लगानीकर्ताका रूपमा आएका छन्, जो सामान्यत : नाफा देख्नेबित्तिकै शेयर बेचेर नाफा बुक गर्नतिर लाग्छन् । अर्काथरी दीर्घकालीन लगानी र प्रतिफलको उद्देश्य राख्छन् । यस्तोमा शेयरबजार बढिरहेको अवस्थामा अरूको कमाई देखेर सुझबुझविनै हाम्फाल्ने प्रवृत्ति पनि देखिएको छ । लगानीको प्रतिफल र जोखिम दुवै आफैले बेहोर्नुपर्ने भएकाले अनावश्यक प्रचारबाजीको पछाडि नलागी आफ्नो स्वविवेकबाट लगानी गर्नुपर्छ । बजार बढेको छ भन्दैमा विचार नपुर्‍याई अरूले भनेकै भरमा लगानी खन्याउँदा गुमाउने जोखिम पनि उत्तिकै हुन्छ । यसकारण आफूले लगानी गर्न लागेको कम्पनीका बारेमा पर्याप्त बुझेरमात्र शेयर खरीद गर्नुपर्छ । अहिले हातहातमा इन्टरनेटको पहुँच भएकाले प्रत्येक कम्पनीको प्रतिवेदन सहजै उपलब्ध हुन सक्छ । यस्तो प्रतिवेदनबाट कम्पनीको आर्थिक स्थिति, कार्यसम्पादनको अवस्था, व्यवस्थापन पक्षका सबल र कमजोर पक्षहरू, लगानीकर्तालाई दिएको प्रतिफलजस्ता विषयलाई सूक्ष्म रूपमा केलाएर प्रतिफल दिने खालका कम्पनी छानेर लगानी गर्नुपर्छ । अग्रवाल नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ क्यापिटल मार्केट समितिका संयोजक हुन् ।

शेयरबजारलाई यसरी बुझ्नुस्

सबैलाई छिटो धनी हुने सोख हुन्छ । सबैका लागि शेयरबजार एउटा त्यस्तो तरीका लाग्छ जहाँ उनीहरूले छोटो समयमा करोडौं रुपैयाँ कमाउन सकिन्छ भन्ने ठान्छन् । अहिले शेयरबजारमा प्रवेश गर्नेको लहरले उनीहरूको यही मनोविज्ञान देखाउँछ । त्यसैले तिनीहरू प्रायः शेयर मार्केटबारे यस्तो सल्लाह र टिप्स खोजिरहेका हुन्छन् जुन चाँडै प्रयोग गर्न सकियोस् र चाँडै धनी हुन सकियोस् । शेयरबजार वास्तवमै त्यति सजिलो छैन जस्तो कि बाहिरबाट हेर्दा देखिन्छ । यसमा भित्री कारोबार जहाँ भित्री सूचना चुहाएर कारोबार गरिन्छ र यो कसैले चाहेर पनि पूरै नियन्त्रण गर्न सक्दैन । बजारमा रहेका विकृतिहरूबारे लगानीकर्ता धेरै नै सचेत रहनुपर्छ । तोकिएको समयमा बजारमा सधैं कारोबार भइरहन्छ । त्यहाँ प्रत्येक क्रेताका लागि विक्रेता चाहिन्छ । शेयरबजारका बारे केही कुरा यस्ता छन् जुन सबै नयाँ लगानीकर्तालाई निश्चित रूपमा थाहा हुनुपर्छ । पहिले सिक्नुहोस् त्यसपछि मात्र अगाडि बढ्नुहोस् कुनै पनि चीजमा हात हाल्नुअघि, तपाईंले त्यसलाई पहिला राम्ररी जान्नुपर्छ । तपाईंले अध्ययन गर्नुपर्छ । यस्तो ज्ञान प्राप्त गर्ने तरीका व्यक्तिको इच्छाअनुसार फरकफरक हुन सक्छ । तर, यसका धेरै माध्यम छन् । इन्टरनेटमा प्रशस्त अध्ययन सामग्री पाइन्छन् । अनुसन्धान आफै गर्नुहोस् शेयरबजारमा अनुसन्धानले तपाईंलाई सफल बनाउन सक्छ । यस्तो कुरा सुनेर भन्दा तपाईं आफैंले गरेको अनुसन्धानबाट धेरै कुरा सिक्नुहुन्छ र अनुभव पनि बढ्दै जान्छ । मानौं, एकै समयमा तपाईंले धेरै टीभी च्यानलहरूमा बजार विशेषज्ञहरू भेट्टाउनु हुन्छ, कयौं युट्युब भिडियो भेट्टाउनुहुन्छ, जसले तपाईंलाई शेयरबारे ज्ञान दिँदै छन् । यदि उसले शेयरको मूल्य सजिलैसँग अनुमान गर्न सक्थ्यो भने ऊ आफ्नो घरमा चुपचाप बसेर पैसा कमाउँथ्यो । त्यसैले त तपाईं आफैले अनुसन्धान गर्नुपर्छ । अरूका कुराको पछि लागेर लगानी गर्नु हुँदैन । दीर्घकालीन लक्ष्य तय गर्नुहोस् जुनसुकै लगानी किन नहोस्, ती सबैले लामो अवधिमा नै राम्रो नतिजा प्रदान गर्छ । तपाईं शेयरबजारमा लगानी गर्न चाहनुहुन्छ भने यसलाई लामो अवधिका रूपमा विचार गर्नुहोस् । जोखिम वहन क्षमतालाई बुझ्नुहोस् सबैको जोखिम लिन सक्ने क्षमताका लागि एक सीमा हुन्छ । जबसम्म तपाईंलाई घाटा वा नाफामा कुनै फरक पर्दैन भने त्यसले तपाईंको जोखिम वहन क्षमताको सीमालाई जनाउँछ । शेयरबजार जोखिमपूर्ण हुन्छ त्यसैले त्यतिमात्र लगानी गर्नुहोस् जतिमा तपाईं जोखिम वहन गर्न सक्नु हुनेछ । अनुसन्धान र योजना तपाईं जुनसुकै पनि क्षेत्रबाट किन नहुनुहोस्, राम्रो अनुसन्धान र योजना धेरै महत्त्वपूर्ण हुन्छ । दीर्घकालीन लगानी र सफलतामा यो अनुसन्धान र योजना भलनै आवश्यक हुन्छ । शेयरको चयन गर्दा ती शेयरहरूलाई राम्ररी अनुसन्धान गर्नुहोस् र योजना तय गर्नुहोस् । संवेगलाई नियन्त्रण गर्नुहोस् तपाईंले आफ्नो संवेग गुमाउँदा धेरै क्षति बेहोर्नु पर्ने हुन सक्छ । शेयरबजारमा डर र लोभ हमेशा घुमिराख्छ । बजार घट्दा आत्तिने र बढ्दा मात्तिने गर्नु हुँदैन । तपाईंले आफ्नो संवेगलाई नियन्त्रण गर्न सिक्नुहुन्छ भने मात्र राम्रो लगानीकर्ता बन्न सक्नु हुनेछ । आधारभूत कुरामा स्पष्ट हुनुहोस् शेयरबजारमा तपाईंको पैसा लगानी गर्नुअघि तपाईं यसका सबै मूलभूत कुराका बारेमा राम्ररी जान्नुपर्छ । केवल यो गरे मात्र तपाईं आफ्नो लगानीमा सफल हुन सक्नुहुन्छ । लगानीलाई विविधीकरण गर्नुस् तपाईंले आफ्नो शेयर लगानीलाई अन्य सफल लगानीकर्ता जस्तो विविधता ल्याउन आवश्यक छ । वारेन बफेट भन्छन् कि, तपाईंले आफ्ना सबै अण्डा एकै भाँडोमा हाल्नु हुँदैन किनभने यदि कुनै दुर्घटना भयो भने तपाईंले आफ्ना सबै अण्डा एकै पटकमा गुमाउनुपर्छ । आफ्नो सबै पैसा एकै शेयरमा लगानी गर्नु हुँदैन । बरु, तपाईंको पोर्टफोलियोमा विभिन्न किसिमका, विभिन्न समूह वा क्षेत्रका शेयरहरू राख्नुपर्छ । राम्रो कम्पनीको शेयरमा लगानी गर्नुहोस् सधैं त्यस्ता कम्पनीहरूको शेयरमा लगानी गर्नुपर्छ, जसका बारेमा राम्रोसँग थाहा छ र तिनीहरूको उत्पादन तथा सेवाका बारेमा राम्रो ज्ञान छ । अन्त्यमा, शेयरबजारमा त्यस्तो कुनै अन्तिम रणनीति, सूचक, टिप्स वा मन्त्र छैन जसले तपाईंलाई ठ्याक्कै त्यो मात्र जान्दा वा पछ्याउँदा राम्रो हुन्छ । तपाईंले मूल्य रणनीति वा एक गति रणनीति वा अरू केहीको आधारमा लगानी गर्नुपर्छ । तपाईं प्राविधिक रूपमा ट्रेडर हो वा आधारभूत लगानीकर्ता, तपाईंसँग कुनै न कुनै आफ्नै रणनीति हुनुपर्छ । शेयर ट्रेड वा सही तरीकामा लगानी गर्न त्यति सजिलो छैन । तपाईं ट्रेडिङ मात्र गर्नुहुन्छ भने केही गलत गर्दै हुनुहुन्छ । करीब ९० प्रतिशतभन्दा बढी शेयर ट्रेडरहरूलाई वास्तवमै ट्रेडिङ गर्न आउँदैन, तिनीहरू केवल अरूलाई पछ्याएर पैसा कमाउन चाहन्छन् ।      शेयर ट्रेड र लगानी यो एक एक्लो यात्रा हो । तपाईं शुरूमा मानिसहरूलाई पछ्याएर वा लहै लहैमा लागेर केही पैसा कमाउन सक्नुहोला, तर पछि तपाईंले आफ्नै रणनीति बनाउनुपर्छ । तपाईं जहिले पनि अधिकभन्दा अधिक पढ्नुपर्छ । अरूको कुरा कम सुन्नुपर्छ । शेयरमा लगानी गर्नुअघि तपाईंले स्टकको आधारभूत विश्लेषण गर्न सिक्नुपर्छ । लगानीकर्ताहरूले कम्पनीहरूको त्रैमासिक वा वार्षिक रिपोर्टहरू कसरी पढ्ने भनेर जान्नुपर्छ र उनीहरूको वित्तीय मुख्य सूचकहरू पनि बुझ्न सक्नुपर्छ । शेयरमा लगानी सधैं लामो अवधिको लागि गरिन्छ । कुनै पनि शेयरमा लगानी गर्नुभन्दा पहिले तपाईंले त्यो स्टकसँग सम्बद्ध जानकारी प्राप्त गर्नुपर्छ, जबकि तपाईंले त्यस विषयमा आफैलाई पनि अपडेट गरिराख्नुपर्छ । शेयर खरीद गरेजस्तै ठीक समयमा शेयर बेच्न सक्नु पनि धेरै महत्त्वपूर्ण हुन्छ । लेखक नागरिक लगानी कोषसँग आबद्ध छन् ।