शेयर बजारमा उत्साह

नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिनमै शेयरबजार झन्डै १०० अंकले बढेर २९८१ विन्दुनजिक पुगेको छ भने पछिल्लो १ महिनायताकै सर्वाधिक रकम ११ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सरकार परिवर्तन र नयाँ आर्थिक वर्षको पहिलो दिनमै यसरी शेयरबजार उकालो लाग्दा शेयरबजार कतिको परिपक्व भएको छ भन्नेमा चर्चा चल्नु स्वाभाविक हो । नयाँ आर्थिक वर्षसँगै शेयरबजारमा केही परिवर्तन भएका छन् । अल्पकालीन कारोबारी र दीर्घकालीन लगानीकर्ताका लागि अलगअलग पूँजीगत लाभकर लागू भएको छ । त्यस्तै शेयर खरीद विक्रीमा केही पैसाको अन्तरमा समेत मोलमोलाई गर्न पाउने व्यवस्था लागू भएको छ । अन्य केही सुधार पनि भएका छन् । यी परिवर्तनले नेपालको शेयरबजारमा प्रविधिगत रूपमा र नीतिगत रूपमा परिपक्व बन्दै गएको देखिन्छ । यद्यपि बजार सुधारका लागि गर्नुपर्ने काम निकै बाँकी छन् । पूँजीगत लाभकर घटाउनेलगायत लगानीकर्ताका माग पूरा हुन बाँकी छ । हरेक लगानीकर्ताको आआफ्नो लगानी रणनीति हुनुपर्छ र यसबारे लगानीकर्तालाई जानकार बनाएमात्रै शेयरबजार परिपक्व हुँदै जानेछ । आइतबार शेयरबजार बढ्नुमा कुनै विशेष कारण भने देखिँदैन । आर्थिक वर्षको अन्त्यमा हिसाबकिताब मिलाउनुपर्दा बजारमा केही करेक्शन आएको थियो । बढ्दै गएर उच्च विन्दुमा पुगेको शेयरबजार केही घटेको थियो । घटेको बजार पनि कारोबार र बजार परिसूचक हेर्दा करीबकरीब स्थिर भएको थियो । नयाँ सरकारले विश्वासको मत पाउने देखिएपछि तथा अर्थमन्त्री जनार्दशन शर्माले पूँजी बजारप्रति सकारात्मक अभिव्यक्ति दिएका समाचार आएकाले पनि बजार उकालो लाग्न थालेको लगानी विश्लेषकहरूको छ । आज झन्डै सय अंकले बढेको शेयरबजार भोलिपर्सि पनि यसरी नै बढ्छ भन्न सकिँदैन । जसरी शेयरबजार उच्च अंकले बढ्छ भन्ने आधार थिएन त्यसैगरी घट्छ भन्ने आधार पनि खासै केही देखिँदैन । हो, प्राविधिक कारणले बजार केही तलमाथि हुन्छ । कुनै हल्लाले ह्वात्तै माथि बढ्ने पनि हुन सक्छ, घट्ने पनि हुन सक्छ । यस्तो हल्लाबाट बचेर कम्पनीहरूको विश्लेषण गरेर लगानीकर्ताले लगानी गर्नुपर्ने हुन्छ । शेयरबजार बढे पनि अर्थतन्त्रका आधारभूत पक्षहरू भने परिवर्तन भएका छैनन् । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको आर्थिक प्रतिवेदनले नेपालको अर्थतन्त्र सकारात्मक रहेको देखाउँदैन । देशको शोधनान्तर स्थिति घाटामा गएको छ । कोरोनाका कारण आर्थिक गतिविधि सुस्त भएको छ । शेयरबजारमा सूचीकृत कम्पनीहरूको मुनाफा प्रभावित भएको छ । बैंक तथा वित्तीय संस्थाहरूको बाहुल्य रहेको नेपालको शेयरबजारमा ती संस्थाको मुनाफा राष्ट्र बैंकको मौद्रिक नीतिका कारण उल्लेख्य मात्रामा बढ्न सकेको छैन ।   यस्तोमा लगानीकर्ता सचेत हुनुपर्ने देखिन्छ । शेयरबजारका अत्यधिक लगानीकर्ता सचेत देखिएका छन् र कम्पनीहरूको विश्लेषण गरी लगानी गरिरहेको देखिन्छ । तर, केही लगानीकर्ता भने अरूको लहैलहैमा लागेर शेयरबजारमा लगानी गरिरहेका पनि देखिन्छन् । तिनलाई पूँजी बजारबारे ज्ञान दिनु पनि जरुरी देखिन्छ । बजार घट्यो भने वा बढ्नुपर्ने कारण छैन भनेर कसैले प्रतिक्रिया दियो भने त्यसविरुद्ध खनिने केही लगानीकर्ता पनि बजारमा देखिएका छन् । धितोपत्र बोर्डले लगानी जोखिमयुक्त हुन सक्छ है भनी सचेत पारेर विज्ञप्ति निकाल्दा लगानीकर्ताले दिएको प्रतिक्रिया हेर्दा कतिपय लगानीकर्तामा शेयरबजार बढेको बढ्यै हुन्छ भन्ने सोच रहेको पनि देखिन्छ । वास्तवमा यो एकोहोरो बढेको बढ्यै र घटेको घट्यै हुन्छ भन्ने छैन । त्यसैले लगानीकर्ताले उपयुक्त कम्पनी र आफ्नो जोखिम वहन गर्न सक्ने क्षमताअनुसार लगानी गर्नु आवश्यक हुन्छ । हरेक लगानीकर्ताको आआफ्नो लगानी रणनीति हुनुपर्छ र यसबारे लगानीकर्तालाई जानकार बनाएमात्रै शेयरबजार परिपक्व हुँदै जानेछ ।

सम्बन्धित सामग्री

तीन कारणले बढ्यो शेयर बजार

काठमाडौं । लामो समयपछि आइतवार नेप्से परिसूचक ह्वात्तै बढेको छ । यस दिन नेप्से परिसूचक ९५ दशमलव ५२ अंकले बढेर २ हजार ४२० दशमलव ९६ कायम भएको छ । आइतवारको उछाल पछाडि तीनवटा कारण रहेको लगानीकर्ता तथा दलाल व्यवसायी बताउँछन् । उनीहरुका अनुसार स्थानीय चुनावले वित्तीय प्रणालीमा तरलता बढाउने विश्वास, नेपाली अर्थतन्त्रमा सार्वजनिक ऋण जोखिम न्यून रहेको आशयको विश्व बैंकको विज्ञप्ति र ब्रोकरमार्फत प्रवाह हुने मार्जिन लोनलाई धितोपत्र बोर्डले सहज बनाउने तयारी गरेको समाचारले लगानीकर्तामा उत्साह थपिँदा बजारमा उछाल आएको हो ।   आइतवार स्थानीय निर्वाचनको उम्मेदवारी दर्ता शुरु भएको छ । यसबाट लगानीकर्ता निर्वाचन हुनेमा विश्वस्त भएका छन् । चुनावका क्रममा हुने खर्चले वित्तीय प्रणालीमा देखिएको तरलता अभावलाई सहज बनाउने उनीहरुको विश्लेषण छ । नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले चुनावी माहोलकै कारण आइतवार बजारमा उत्साह देखिएको बताइन् । चुनावको खर्च वित्तीय प्रणालीमार्फत परिचालन भई यसले तरलता संकटको स्थितिमा केही सुधार ल्याउने विश्वास पोखरेलको छ । चुनाव होला कि नहोला भन्ने अन्योलबीच उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेसँगै लगानीकर्ता आगामी दिनमा बजार सकारात्मक बन्नेमा आशावादी देखिएको उनको बुझाइ छ । आगामी दिनमा पनि बजार यही गतिमा बजार बढ्छ या घट्छ भन्नुभन्दा पनि चुनाव हुने निश्चित भएपछि लगानीकर्ताको मनोबलमा सकारात्मक प्रभाव परेको उनले बताइन् । धितोपत्र दलाल व्यवसायीले पनि स्थानीय चुनाव हुने पक्का भएसँगै आइतवार कारोबारका लागि सकारात्मक माहोल बनेको प्रतिक्रिया दिए । कोहिनुर इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ३५) का प्रबन्ध निर्देशक एवम् स्टक ब्रोकर एशोसिएशनका पूर्वअध्यक्ष भरत रानाभाटले पनि बजार सकारात्मक बन्नुको पछाडि चुनावी माहोलको मुख्य हात रहेको स्वीकार गरे । विश्व बैंकको पछिल्लो विज्ञप्तिले पनि शेयर बजार उकास्न मद्दत गरेको उनको बुझाइ छ । विश्व बैंकले बिहीवार नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै नेपालको सार्वजनिक ऋण पछिल्लो ५ वर्षमा उल्लेख्य बढेको तर ऋणको जोखिम नरहेको स्पष्ट पारेको थियो । नेपाली अर्थतन्त्र पनि श्रीलंकापथमा अग्रसर रहेको चर्चाबीच आएको विश्व बैंकको विज्ञप्तिले लगानीकर्ताको मनोबल बढाएको रानाभाटको अनुमान छ । वित्तीय प्रणालीमा तरलता अभाव भइरहेको बेला ब्रोकरमार्फत प्रवाह हुने मार्जिन लोनमा धितोपत्र बोर्डले सहज वातावरण बनाउने तयारी गरेको समाचार बाहिरिनुसँग पनि आइतबारको बजारको सम्बन्ध देख्छन् उनी । ‘यसले पनि लगानीकर्ताको मनोबल बढायो,’ रानाभाटले भने । मार्जिन लोनमा देखिएका बाधा, अप्ठ्यारा फुकाउन बोर्ड सहमत भए करीब दुई दर्जन ब्रोकरबाट सेवा प्रवाह भई तरलताका कारण प्रभावित बनेको बजार सुधार हुनेमा रानाभाट आशावादी छन् । आइतवार एकै दिन लगानीकर्ताको सम्पत्ति मूल्य १ खर्ब ३५ अर्ब ८८ करोड रुपैयाँभन्दा धेरैले बढेको छ । गत बिहीवार ३३ खर्ब ७ अर्ब ९२ करोड रहेको कुल बजार पूँजीकरण आइतवार ३४ खर्ब ४३ अर्ब ८१ करोड नाघेको छ । यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । गत बिहीवार १ अर्ब ६२ करोड ९१ लाखभन्दा बढीको कारोबार भएकोमा आइतवार २ अर्ब ५३ करोड १२ लाख रुपैयाँभन्दा माथि पुगेको छ । यस दिन जलविद्युत् समूहको सर्वाधिक ५७ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भयो । २३८ कम्पनीको धितोपत्र कारोबार भएकोमा २२२ ओटाको मूल्य बढेको छ । यीमध्ये पनि ३ दर्जन कम्पनीको धितोपत्रको मूल्य उच्च दरमा बढेको छ । यस दिन ४ कम्पनीको धितोपत्रको मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर छ । आइतवारको कारोबारबाट वित्त समूहका लगानीकर्ताले सबैभन्दा धेरै कमाए ।

शेयर बजारमा उत्साह, एकैदिन ९ अर्बको कारोबार

२ माघ, काठमाडौं । साताको पहिलो कारोबार आइतबार शेयर बजारमा उत्साह देखिएको छ । नेप्से परिसूचक उच्च अंकले बढेर २९ सय माथि पुगेको छ भने कारोबार रकममा झनै उत्साह देखिएको छ । कुनैबेला एकैदिन २२ अर्ब रुपैयाँसम्मको कारोबार भएको शेयर बजार घट्न थालेपछि दैनिक कारोबार ५ अर्ब पुग्न पनि मुस्किल थियो । गत साता दैनिक […]

शेयर बजारमा घट्यो उत्साह, राजश्व पनि घट्यो

२४ मंसिर, काठमाडौं । शेयर बजार लगातार घट्दा यसको असर दैनिक कारोबारमा समेत देखिएको छ । बजार घटेसँगै शेयर लगानीकर्ताहरु निस्क्रिय हुने क्रम बढेको छ भने यसले दैनिक हुने कारोबार संख्या र सरकारलाई प्राप्त हुने राजश्वमा समेत असर गरेको छ । शेयर बजारको सम्पूर्ण लेखाजोखा राख्ने निकाय सिडिएसी एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद […]

मार्जिन कर्जाका कारण प्रभावित शेयर बजार : के भन्छन् सरोकारवाला ?

असोज ४, काठमाडौं । विश्वव्यापी कोरोना महामारीका बीच हालसम्मकै उच्च विन्दु कायम गरेको शेयर बजार पछिल्लो समय भने घट्दो क्रममा रहेको छ ।  भदौ ३१ गते बिहीवार नेपालको शेयर बजार २ हजार ८१२ दशमलव ३८ विन्दुमा कायम भएको छ । १ हजार १०० विन्दुदेखि उकालो लागेको नेपालको शेयर बजारले ३ हजार २०० विन्दु पार गरेको थियो । नेप्से परिसूचकले भदौ २ गते हालसम्मकै उच्च ३ हजार २२६ दशमलव ८९ विन्दुसम्म पुगेर ३ हजार १९८ दशमलव ६० को अन्तिम विन्दु कायम गरेको  थियो ।उच्च विन्दुदेखि बजार १२ प्रतिशतले घटिसकेको छ । चालू आर्थिक वर्षदेखिनै दिर्घकालिन र अल्पकालिन लगानीकर्ताको लागि छुट्टा छुट्टै पूँजीगत लाभकरको व्यवस्था लागू भएपनि लगानीकर्ताहरुको उत्साह कायमै रहेको थियो । शेयर कारोबारबाट नाफा हुँदा अल्कालिन लगानीकर्ताहरुले ७ दशमलव ५० प्रतिशत र दिर्घकालिन लगानीकर्ताहरुले ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था सरकारले यसै वर्षको बजेट मार्फत गरेको हो । यस अघि अल्पकालिन र दिर्घकालिन दुबै प्रकारका लगानीकर्ताहरुले एकै अनुपातमा ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए । यस वर्ष पूँजीगत लाभकर अल्पकालिन लगानीकर्ताहरुका लागि २ दशमलव ५ प्रतिशत विन्दु अर्थात्  ५० प्रतिशत वृद्धि भएको हो । पूँजीगत लाभकरलाई सहज रुपमा स्वीकारेका लगानीकर्ताहरुले मार्जिन कर्जाको सीमालाई भने कठिन रुपमा लिएको देखियो । राष्ट्र बैंकले मार्जिन कर्जाको सीमा एक वर्षभित्र कायम गर्न निर्देशन दिएसँगै बजारमा विक्री चाप देखिएको हो । यतिबेला भने असोज १ गतेदेखि लागू हुने गरी बैंकहरुले ब्याजदर बढाएर लागू गरेका छन् । मार्जिन कर्जाका कारण प्रभावित बन्दै आएको बजार बैंक ब्याजदरका कारण थप प्रभावित होला भन्ने विषयमा  सरोकारवाला के भन्छन् त ? प्रस्तुत छ, सरोकारवालाको भनाइ : भरत रानाभाट  पूर्व अध्यक्ष, स्टक ब्रोकर्स एशोसिएसन अफ नेपाल  विगत डेढ वर्षमा नेपालको शेयर बजारले ऐतिहासिक रेकर्डहरु कायम गरेको छ । कोभिड महामारीका बीच जनजीवन अस्तव्यस्त भएको अवस्थामा गति लिएको बजार पछिल्लो समय केहि कारोबार दिन प्रभावित बन्दैमा आत्तिनुपर्ने अवस्था छैन । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमध्ये अधिकांश नेपाल राष्ट्र बैंकको नीतिबाट प्रभावित हुने भएकाले केहि समय नीतिगत प्रभाव देखिएको हो । पछिल्लो समय बैंकहरुमा तरलता अभाब भई ब्याजदर बढेका कारण लगानीकर्ताहरु आत्तिनुपर्ने अवस्था भने छैन् । यतिबेला रेमिट्यान्स बढ्ने समय हो भने सरकारी खर्च रोकिदा बैंकमा तरलता कम भएको हो । सरकारी बजेट निकासा भएसँगै बजारमा तरलता थपिने र ब्याजदरमा परिवर्तन आउने सम्भावना देख्छु । दुर्गा तिवारी  महासचिव, नेपाल इन्भेष्टर्स फोरम  - ठूला लगानीकर्ताहरुबाट विक्री चाप बढ्ने गरी राष्ट्र बैंकले मार्जिन कर्जाको सीमा तोकेकाले बजार केहि समय प्रभावित बन्यो । मौद्रिक नीतिमा आएको उक्त व्यवस्था परिमार्जन हुने आशामा रहेका लगानीकर्ताहरुलाई झनै निरास बनाउने गरी मार्जिन कर्जाको सीमा एक वर्ष वा नविकरणको मितिदेखि कायम गर्न निर्देशन आएसँगै तत्काल नविकरण गर्नुपर्ने लगानीकर्ताहरु शेयर विक्री गर्न सक्रिय भएका हुन् । तर यतिवेला मार्जिन कर्जा सीमाबाट प्रभावित हुने लगानीकर्ताहरुले शेयर विक्री गरिसकेको जस्तो लाग्छ । आगामी दिनमा मार्जिन कर्जाकै कारण शेयर विक्रीको चाप भने नआउला । यस अघिका वर्षहरुमा पनि यो समयमा तरलता अभाव भई ब्याजदर वृद्धिको कारण बजारमा असर परेकाले यसलाई क्षणिक समस्याको रुपमा मैले लिएको छु । संरक्षणा चौधरी  अध्यक्ष, नेपाल पूँजीबजार संघ  - रातारात धनी बन्छु वा कमाउछु भनेर आउनेका लागि पक्कै पनि पूँजीबजार उपयुक्त छैन । विगत केहि समयदेखि निरन्तर बढीरहेको बजारमा विभिन्न अस्त्र प्रयोग गरि घटाउन लागि परेको प्रष्टै देखिन्छ । चाहे त्यो नेपाल धितोपत्र बोर्डबाट आएको ५१ ओटा कम्पनीको सूची होस या राष्ट्र बैंकबाट व्यवस्था भएको रू. १२ करोडको मार्जिन कर्जा सीमा । ढिलो चाडो यी कुराहरुबाट प्रभावित भई बजार आफ्नो गतिमै फर्किनेछ । बजार निरन्तर बढेकोले पनि करेक्सन आवश्यक थियो । मार्जिन कर्जाको सीमाका कारण बजार घटिरहेको भनेता पनि यस्का अलवा बजारमा छोटो समयका लागि ट्रेड गर्नेले प्रोफिट बुक गर्नु, निषेधाज्ञा खोलिनु, अन्य क्षेत्रका व्यवसायीहरु आफ्नो व्यवसायतर्फ फर्किनु जस्ता कारणले पनि बजार प्रभावित भएको पाइन्छ । अहिले ब्याजदर वृद्धिका कारण बजार घटेको भन्ने कुरा पक्कै हैन । बजारमा लामो समयदेखि रहनेहरुका लागि ब्याजदरले असर गरेको छैन । तर पछिल्लो समय नयाँ लगानीकर्ताहरुको संख्यामा वृद्धि तथा बिना अध्ययन लगानी गरेकाहरुलाई भने बजारसँग सम्बन्धित हरेक साना कुराले प्रभाव पारेको देखिन्छ ।  आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट

सेयर बजारमा थपियो उत्साह, लगानीकर्ताको सम्पत्तिमा डेढ खर्बको वृद्धि

काठमाडौं । यस साता पुँजी बजारमा उछाल आयो । शेयर बजार परिसूचक नेप्से सहित कारोबार परिमाणमा पनि उल्लेख्य वृद्धि

दशै पछि पनि बढ्न सकेन शेयर बजार, कारोबार रकम ६ करोड ३८ लाख रुपैयाँमा सीमित

काठमाडौं। दशै पछिको पहिलो कारोबार झिनो अंकले घटेको छ। कारोबार सुरु भए देखिनै बजारमा उत्साह थिएन। सूचक सँगै कारोबार

बैशाख लागेसँगै शेयर बजार सुचक र कारोबार रकममा किन आउँछ सुधार? :: BIZMANDU.COM

काठमाडौँ। शेयरको कारोबार हुने दोस्रो बजारमा प्रायजसो बैशाख लागेसँगै उत्साह देखिने गरेको छ। यसपाली पनि निरन्तर ओरालो लागेको शेयर