बुक बिल्डिङ विधिबाट निष्कासन हुने धितोपत्रबाहेक अन्य धितोपत्रको बाँडफाँटमा न्यूनतम १० कित्ता बाँडफाँट गर्ने नीतिमा नेपाल धितोपत्र बोर्डले परिवर्तन गर्न आँटेको छ । यसका लागि उसले बोर्डका सदस्य प्रवीणकुमार झाको संयोजकत्वमा समितिसमेत बनाएको छ । बोर्डले यो कदम लिएपछि साँचिकै यो नीति परिवर्तन गर्नुपर्ने नै भएको हो त भन्ने प्रश्न उठेको छ ।
प्राथमिक शेयरको निष्कासन (आईपीओ) सकेसम्म सबैले पाऊन् भनी १०/१० कित्ताका दरले शेयर बाँडफाँट गर्ने नीति लिइएको हो । तर, ५३ लाखभन्दा बढीले हितग्राही खाता खोलेको र तीमध्ये धेरैले आईपीओ भर्न थालेपछि बाँडफाँटमा फेरि चिट्ठा नै हाल्नुपर्ने अवस्था छ । अहिले आईपीओ भर्नेको संख्या घटे पनि अत्यधिक आवेदकले शेयर पाउन सकेका छैनन् । सबैले शेयर नपाउने नै हो भने यसलाई परिवर्तन गरेर घटीमा ५० कित्ता शेयर आवेदन गर्नुपर्ने नियम ल्याउन केही लगानीकर्ताले माग गरेका हुन् । १० कित्ते नीतिका केही फाइदा र केही बेफाइदा छन् ।
आईपीओमा १० कित्ते नीतिले धेरै मानिसलाई शेयरबजारमा ल्याएको छ । यसबाट कमाएपछि उनीहरू दोस्रो बजारमा समेत लगानी गर्न थालेका छन् । यसले शेयरबजारको आकार विस्तार गरेको छ । त्यस्तै सामान्य व्यक्तिले पनि शेयरबजारबाट लाभ पाएका छन् । यो भनेको सर्वसाधारणका दृष्टिमा निकै सकारात्मक कुरा हो ।
तर, १० कित्ताकै कारण शेयरबजार अस्थिर बनेको केही लगानीकर्ताको आरोप छ । शेयरबजारको आधारभूत ज्ञान नभएका तथा शेयरबाट फाइदामात्रै हुन्छ भन्ने सोच भएका व्यक्ति लगानी गर्न आउँदा यसले बजारको लय नै बिगारेको एकथरीको आरोप छ । शेयरबजार जोखिमपूर्ण हुन्छ, आईपीओ नै पनि घाटामा जान सक्छ भन्ने जानकारी नभएका लगानीकर्ताका कारण शेयरबजारमा अस्वाभाविक उतारचढाव आएको र त्यसले लगानीकर्ताको मनोबल खस्काएको पनि देखिन्छ । अझ कतिपयलाई त म्युचुअल फन्ड, ऋणपत्र र शेयर फरक हो भन्ने जानकारी नभएर तिनलाई पनि शेयर नै सम्झी लगानी गरेको समेत भेटिन्छ । यसरी शेयरबजारसम्बन्धी सामान्य जानकारी नभएका र जानकारी राख्न पनि नचाहने लगानीकर्ता बजारमा आउँदा पक्कै पनि यसले शेयरबजारमा केही न केही प्रभाव पर्छ । त्यसो हुँदा कम्तीमा पनि ५० कित्ता शेयर आवेदन दिनुपर्ने नियम बनाउनु उपयुक्त हुने एकथरीको भनाइ छ । शेयरबजारका विज्ञ भनिएका विश्लेषकहरू पनि यसको पक्ष र विपक्षमा तर्क गरिरहेका छन् ।
अध्ययन समितिले १० कित्ते नीतिबाट बजारमा र सर्वसाधारणमा पुगेको फाइदा र बेफाइदा दुवै पक्षको राम्ररी अध्ययन गरेर मात्रै सुझाव दिनुपर्छ । केही लगानीकर्ताको भनाइ सुनेर होइन, तथ्यांकमा टेकेर विश्लेषणसहित राय दिनु आवश्यक छ ।
१० कित्ते नीतिले शेयरबजारमा असर पुर्याएको तर्ककै आधारमा मात्रै यो नीति परिवर्तन गर्न भने आवश्यक देखिन्न । किनकि लगानीकर्ताले चाहेमा अहिले पनि न्यूनतम १० कित्ता शेयर किनबेच गर्न पाउँछन् । चलखेल गर्न सक्ने भए यही आधारमा पनि बजारमा असर पार्न सकिन्छ । तर, १० कित्ते नीतिका कारण शेयरबजारको आधारभूत पक्षबारे जानकारी नभएका व्यक्तिहरू बजारमा धेरै हुनुचाहिँ शेयरबजारको जोखिम पक्ष नबुझ्नेको हातमा शेयरबजार जानु जस्तै हुन सक्छ । त्यसैले यो नीति कायम राख्ने हो भने यसका लागि अहिलेको भन्दा केही भिन्न व्यवस्था गरिनुपर्छ । बजारमा असर परेको भनी बोर्डले म्युचुअल फन्डलाई सूचीकृत भएको निश्चित अवधिसम्म शेयर विक्री गर्न नपाउने व्यवस्था गर्यो । यसको पक्ष विपक्षमा तर्क भइरहेका छन् जुन आफ्नो ठाउँमा छ तर त्यस्तै गरी यस्ता १० कित्ते आईपीओका लागि पनि विशेष नियम बनाउन नसक्ने भन्ने होइन ।
त्यसो त शेयरबजारमा आरक्षणको व्यवस्था गरेकामा पनि विरोध भइरहेको छ । वैदेशिक रोजगारीमा जानेलाई आईपीओमा आरक्षण छ । यस्तो व्यवस्था गलत भएको भन्ने पनि आवाज छ । शेयरबजार जोखिमपूर्ण भएकाले जसले यसको जोखीम बुझ्दैन र जोखिम लिन सक्दैन त्यस्ता मान्छे शेयरबजारमा नलाग्नु नै राम्रो हुन्छ । बजारबारे पर्याप्त जानकारी र सूचनाविना लगानी गर्दा कतिपयको उठिवास नै भएको छ । यस्तो अवस्था आउन नदिन लगानीकर्तालाई यसको जोखिम पक्षबारे पूर्ण जानकारी दिनुपर्छ । कुनै कम्पनी टाट पल्टिएमा आफ्नो लगानी शून्यमा जान सक्छ भन्ने जानकारी लगानीकर्तालाई दिन आवश्यक छ । अरूले कमाएको लहैलहैमा लागेर शेयरबजारमा छिर्दा थेरैको बिजोग भएको छ ।
बोर्डले गठन गरेको अध्ययन समितिले १० कित्ते नीतिबाट बजारमा र सर्वसाधारणमा पुगेको फाइदा र बेफाइदा दुवै पक्षको राम्ररी अध्ययन गरेर मात्रै सुझाव दिनुपर्छ । केही लगानीकर्ताको भनाइ सुनेर होइन, तथ्यांकमा टेकेर विश्लेषणसहित राय दिनु आवश्यक छ । त्यसो भयो भने यसलाई परिवर्तन गरे पनि वा निरन्तरता दिए पनि सही निर्णय हुनेछ । त्यसैले यसका सकारात्मक र नकारात्मक प्रभावबारे सही अध्ययन होस् भन्ने कुरामा समितिको ध्यान जानु आवश्यक छ । त्यस्तै यतिखेर शेयरबजारमा सुधार हुन नसकेको अर्को पक्ष बजार निर्माताको अभाव हो । स्टक डिलरका रूपमा काम गर्न आएको कम्पनीले पनि यसको समाधान गर्न सकेको छैन । स्टक डिलरले आपूर्ति बढाएर वा शेयर खरीद गरेर बजारलाई सन्तुलनमा राख्छ । तर, यस्तो काम हुन सकेको छैन । त्यसैले यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा पनि ध्यान जानु जरुरी छ ।