नियामक निकाय नेपाल धितोपत्र बोर्डले मंगलवार धितोपत्र बजारमा सूचीकृत कम्पनीमध्ये ५१ कम्पनीको शेयरमा गरेको लगानी जोखिमयुक्त रहेको भन्दै नामै किटेर विज्ञप्ति निकालेपछि बोर्डको यस कामको तीव्र आलोचना भइरहेको छ । आफ्नो अध्ययनबाट यी कम्पनीको कारोबार जोखिमयुक्त भएको भन्दै लगानीकर्तालाई सचेत पार्ने काम बोर्डले गरेको हो । तर, बोर्डको कार्य प्रकृतिअनुसार यो काम निकै अपरिपक्व देखिएको छ ।
शेयरबजारमा मनोविज्ञानले धेरै काम गर्छ । त्यो मनोविज्ञानमाथि खेल्ने काम बोर्डले जानेर वा नजानेर गरेको छ ।
हो, अर्थतन्त्रका परिसूचकहरू कमजोर रहेका बेला शेयरबजार निकै चम्किइरहेको छ । १ वर्षअगाडि ३०–४० करोडका हाराहारीमा कारोबार भइरहेकामा अहिले कारोबार रकम दैनिक १८–१९ अर्बको हाराहारीमा भइरहेको छ । शेयरबजारमा लाग्नेहरूको संख्या व्यापक बढेको छ र शेयरको कुल पूँजीकरणले कुल गार्हस्थ्य उत्पादनलाई भेटेको छ । यसरी बजार उचालि“दा अध्ययन गरेर लगानी गर्नेहरू पनि होलान्, जोखिम वहन गर्न सक्ने पनि होलान् र लहैलहैमा लगानी गर्ने पनि होलान् । यी सबै खाले लगानीकर्ताको हित संरक्षण गर्नु नियामक निकायको कर्तव्य हो । तर, यो कर्तव्य निर्वाह गर्दा उसले नियमनको निश्चित दायरामा बसेर काम गर्नुपर्ने हुन्छ ।
बजारमा कर्नरिङ भएको छ, भित्री सूचनाका आधारमा कारोबार भइरहेको छ भने त्यसबारे अध्ययन गरेर दोषीलाई प्रमाणसहित कारबाही गर्नु बोर्डको काम हो । त्यस्तै सूचना चुहाएर बजार प्रभावित पारिएको छ भने त्यस्तालाई कारबाही गर्नु पनि बोर्डकै काम हो । अर्थात् शेयरबजारको स्थायित्व र सुरक्षा तथा लगानीकर्ताको हितका लागि काम गर्नु बोर्डको दायित्वभित्र पर्छ । तर, विभिन्न परिसूचकका आधार देखाएर नियामकले खास खास कम्पनीमा लगानी गर्नु जोखिमयुक्त छ भनेर विज्ञप्ति नै निकाल्ने अन्तरराष्ट्रिय अभ्यास देखिएको छैन ।
लगानीकर्ताले पीई रेसियो, नेटवर्थ, ईपीएस आदि हेरेर लगानी गर्नुपर्छ भन्ने मान्यता छ तर, यही मान्यताका आधारमा रहेर मात्रै कसैलाई लगानी गर वा नगर भन्ने अधिकार बोर्डलाई छैन । उसले मंगलवार जसरी जोखिमयुक्त लगानी भन्दै ५१ ओटा कम्पनीको नाम सार्वजनिक गरेको छ त्यसको लगानीकर्ता, विज्ञ र सरोकारवाला सबैले विरोध गरेका छन् । हुन पनि नियामकको काम कसैले गल्ती गरेको शंका लागे त्यसबारे अनुसन्धान गर्ने हो, दोषी प्रमाणित भए कानूनी प्रक्रियाअनुसार कारबाही गर्ने हो । कम्पनीहरूले गल्ती गरेका थिए भने बोर्डले किन कारबाही गरेन त भन्ने प्रश्न उब्जनु स्वाभाविक हो ।
बोर्डले कम्पनीको नाम सार्वजनिक गरेर लगानीकर्तालाई त्रस्त र आक्रोशितसमेत बनाएको छ । गल्ती गर्नेलाई हदैसम्म कारबाही गर्ने अधिकार बोर्डलाई छ । कुनै लगानीकर्ता, पब्लिक कम्पनीको सञ्चालक, तिनको माथिल्लो तहका कर्मचारी र धितोपत्र कारोबार गर्ने संस्थाबाट गल्ती भएको छ भने तिनलाई कारबाही गर्ने हो, कम्पनीलाई कारबाही गर्ने होइन ।
त्यसैले बोर्डले गरेको काम नियामकीय दायराभित्रको भएको देखि“दैन । सही काम गरेकै भए पनि गलत तरीकाले गर्न पाइँदैन र गर्नु हुँदैन पनि । बोर्डको नियत जेजस्तो भए पनि कम्पनीको नाम नै तोकेर लगानीकर्तालाई जोखिमयुक्त छ भन्नु उसको अरिपक्वता हो, खेलाँची हो । उसको अपरिपक्वताकै कारण बुधवारको शेयरबजार उतारचढावका बीच ५२.४१ अंकले घट्न पुग्यो । शेयरबजारमा मनोविज्ञानले धेरै काम गर्छ । त्यो मनोविज्ञानमाथि खेल्ने काम बोर्डले जानेर वा नजानेर गरेको छ । यद्यपि सम्भावित दुर्घटनालाई लिएर सचेत पार्ने कामलाई भने कतिपयले सकारात्मक रूपमा लिएका छन् । प्रक्रियामा मात्रै धेरैको असन्तुष्टि रहेको पाइन्छ ।
नेपालको शेयरबजारमा थुप्रै कमीकमजोरी छन् । नियामक निकाय कमजोर भएको भन्ने भनाइ बारम्बार आइरहेको छ । त्यस्तै भित्री कारोबार, सूचना चुहाएर बजारमा गरिने चलखेलजस्ता आपराधिक क्रियाकलाप गर्नेलाई कारबाही गर्ने स्पष्ट कानूनी आधार नभएको भन्ने भनाइ पाइन्छ । त्यस्तै, अनुसन्धान गर्न सक्ने सामथ्र्य बोर्डसँग छैन भनिन्छ । यसो हो भने बोर्डको ध्यान आफूलाई सक्षम बनाउनेतर्फ पनि केन्द्रित हुनुपर्छ ।