आर्थिक अभियान १८औं वार्षिकोत्सव विशेष : शेयरबजार, पूँजी प्रबन्धको प्रभावकारी माध्यम

शेयरबजारमा आउने उतारचढावबीच यसको विस्तार भने निरन्तर भइरहेको छ । डिम्याट खाता खोल्नेको संख्या ५० लाख हाराहारीमा छ । खासगरी कोरोना महामारीताका लगानीका अन्य क्षेत्र ठप्प हुनु र बैंकहरूले शेयर कर्जा सहज बनाएपछि यसमा आकर्षण ह्वात्तै बढेर आयो । त्यो समयमा लगानीकर्ताले घरमै बसीबसी शेयरबजारलाई लगानीको वैकल्पिक अवसरका रूपमा उपयोग गर्दा बजार ३२ सयको हाराहारीमा पुग्यो ।  अधिकांश डिम्याट खाता विगत ३/४ वर्षयता खुलेका छन् । यो समयमा वित्तीय पहुँचमा पनि उल्लेख्य सुधार भएकाले यसमा सघाउ पुगेको हो । शेयरबजारमा प्रवेश गर्न बैंक खाता अनिवार्य भएकाले पनि वित्तीय पहुँच विस्तार भयो । पछिल्लो समयमा नियन्त्रणात्मक नीति र ब्याजदरमा उतारचढावको असर यसमा पनि देखिएको छ । बजार भनेको सधैं एकनास हुँदैन, यो बजारको नियम हो । एक समय पैसावालाको क्षेत्र भनेर चिनिएको शेयरबजारमा भित्रिएको प्रविधि र नीतिगत सुधारले आम लगानीको पहुँच विस्तार भएको हो । यो सकारात्मक कुरा हो । अहिले यसमा आमलगानीकर्ताको चासो ह्वात्तै बढेको छ । शेयरबजारका खेलाडीदेखि किसान, जागीरे, गृहणी, विद्यार्थी सबैले आआफ्नो क्षमताअनुसार लगानी गरेका छन् । यो सकारात्मक परिवर्तन हो । यसले समाजलाई वित्तीय रूपमा सचेतमात्र होइन, आर्थिक रूपमा सक्रिय पनि बनाइरहेको छ ।  अहिले शेयरबजार घटिरहेको छ । विप्रेषण भने बढेको छ । विदेशी मुद्राको विनिमय सुधारिएको छ । तर, बजारमा माग छैन । लगानीका नयाँ क्षेत्र विस्तार भएका छैनन् । चालू पूँजी कर्जा मार्गदर्शनका कारण वित्तीय प्रणालीमा पैसा थुप्रिने प्रक्षेपण गर्न थालिएको छ । सानो पूँजीमा पनि लगानी गर्न सकिने भनेको शेयरबजार नै हो । यस्तो अवस्थामा अब लगानीकर्ताले सतर्क हुँदै लगानी गर्नुपर्छ । प्रविधिले लगानीकर्तालाई शेयरबजारमा जान जति सहज बनायो, जोखिम पनि उत्ति नै छ । जोखिमको सही विश्लेषण गरेरमात्रै लगानी गर्नुपर्छ । कम्पनीका आधारभूत पक्षबारे जानकारी लिएरमात्रै शेयर खरीद गरे नोक्सानीको सम्भावना कम हुन्छ । सचेत लगानीकर्ता बन्नु चुनौतीको विषय पनि हो । यसलाई पार लगाएर लाभ लिन सक्नु भनेको चाहिँ लगानीकर्ताको खुबी हो ।  आज किनेको शेयर भोलिपल्टै फाल्न हतार पनि गर्नु हुँदैन । लगानीकर्ताले दीर्घकालीन लगानी गर्नुपर्छ । प्रतिफल र जोखिम दुवै आफैले बेहोर्नुपर्छ । त्यसैले अनावश्यक प्रचारबाजीको पछाडि नलागी स्वविवेक र तथ्यमा आधारित विश्लेषणका आधारमा काम गर्नुपर्छ । कम्पनीको वित्तीय अवस्था, लाभांशको स्थिति, औसत शेयर मूल्यबारेमा जानकार हुनुपर्छ । शेयरबजारलाई प्रभाव पार्न सक्ने घटनाक्रमहरूको सही मूल्यांकन हुनुपर्छ । यसमा चनाखो भएमा बजारबाट लाभ लिन सकिन्छ । अहिले पनि अधिकांश लगानीकर्ताले यस्ता पक्षहरूको विश्लेषणभन्दा सुनेको भरमा लगानी गर्ने प्रवृत्ति छ, यो गलत हो । शेयरबजारमा उपयुक्त समयमा प्रवेश गर्ने र निस्किने गर्नुपर्छ । अहिले शेयरबजार घटेको समय छ । यस्तो बेला खरीद गर्ने र बढेको समयमा बेचेर नाफा सुरक्षित गर्नुपर्छ । अहिले शेयर खरीद गर्ने समय हो ।  शेयरबजारले समाजलाई आर्थिक उन्नतिको नयाँ चरणमा प्रवेश गराउन सहयोग गर्ने विश्वास गरिन्छ । यो कुनै पनि उद्यम वा योजनाका लागि पूँजी व्यवस्थापनको प्रभावकारी औजार पनि हो । तर, पूँजी बजारलाई अनुत्पादक मान्ने सरकारी सोचमा भने समस्या छ । बाहिरबाट कच्चा पदार्थ ल्याएर यहाँ प्याकिङमात्र गर्ने युनिटलाई उत्पादनमूलक मान्ने सरकार पूँजी प्रबन्धको सहज र प्रभावकारी माध्यम शेयरबजारलाई अनुत्पादक देख्छ भने त्यसलाई दृष्टिदोष नभनेर के भन्ने ? यस्तो सरकारी सोच र शैली यसमा बेलाबेलामा लगानीकर्ताको मनोबलमा तगारो बन्ने गरेको छ । सरकारको यही गलत सोचका कारण शेयरबजारमा हुने अनेक आवरणका नियन्त्रण ती शेयर धितो कर्जामा कडाइदेखि ४/१२ का व्यवस्था ल्याइए । सरकारका यस्ता सोचचाहिँ अनुत्पादक हुन्, शेयरबजार अनुत्पादक हुँदै होइन । नवनीत अग्रवाल (अग्रवाल नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश स्टक मार्केट समिति अध्यक्ष हुन्)