कोरोना महामारीका कारण समग्र उद्योग व्यापार शिथिल बन्दै गएको अवस्थामा शेयर बजारले भने नयाँ रेकर्ड बनाइरहेको छ । सामान्यत : महामारी र राजनीतिक संकटको समयमा त्यसको प्रभाव शेयर लगानीकर्ताको मनोविज्ञानमार्फत बजारमा प्रकट हुनेमा यस पटक त्यस्तो देखिएको छ्रैन । कोरोना महामारी र रजनीतिक अस्थिरताका बीचमा पनि शेयरबजार उचाइतिर लम्किनेक्रम जारी छ । सोमवार यो आलेख तयार पारिरहँदा शेयरबजार अघिल्लो दिनको तुलनामा २० दशमलव ७१ अंकले बढेर २ हजार ७ सय ५९ दशमलव २२ बिन्दुमा पुगेको छ । यो नेपालको शेयरबजारमा उचाइको नयाँ रेकर्ड हो ।
कोरोनाको संकटमा पनि शेयरबजारमा लगानीकर्ताको मनोबल उच्च देखिएको छ । यसका पछाडि केही कारण अवश्य छन् । महामारी नियन्त्रणका लागि सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा लगाएको छ । उत्पादन, आपूर्ति र बजारका दृष्टिले महत्त्वपूर्ण मानिएका काठमाडौं उपत्यका, वीरगञ्ज, भैरहवा, विराटनगर, नेपालगञ्जलगायत क्षेत्रमा निषेधाज्ञा तेस्रो हप्तामा चलिरहेको छ । यसले उद्योग व्यापार प्रभावित भएको छ । बजार बन्द हुँदा माग, उत्पादन र आयातको शृंखलामा नकारात्मक प्रभाव देखिन थालेको छ ।
उद्योग व्यापार शिथिल हुँदा वित्तीय क्षेत्रमा अधिक तरलता देखिएको छ । यो अहिले तत्कालको समस्यामात्र होइन । गतवर्ष ६ महीनासम्मको बन्दाबन्दी र निषेधाज्ञामा पनि बैंकहरूको लगानी खुम्चियो । बितेको असोजयता अवस्था केही सहज भएपछि बैंकहरूको ऋण प्रवाहमा सुधार आएको पनि थियो । पुनः बन्दाबन्दीकै तहमा भएको निषेधाज्ञाले वित्तीय क्षेत्रमा स्वाभाविक रूपमा तरलता बढेको छ । बैंकले ६/७ प्रतिशत ब्याजमा पैसा दिइरहेका छन् । शेयर कर्जा सहज भएपछि स्वाभाविक रूपमा यसको प्रभाव शेयरबजारमा देखिएको छ । बैंकहरूमा पर्याप्त तरलता र उद्योग व्यापारमा लगानी नभएपछि बैंक र लगानीकर्ताका लागि शेयरबजार सहज विकल्प भएकैले यतिखेर बजार उचालिएको हो ।
कोरोना महामारीका कारण वैदेशिक रोजगारीको आय जति प्रभावित हुने अनुमान गरिएको थियो, अनुमानभन्दा निकै कम प्रभाव परेको देखियो । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को गत चैत महीनासम्ममा विप्रेषण आप्रवाह १६ दशमलव ६ प्रतिशतले बढेर ७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । यो रकम कुनै न कुनै माध्यमबाट बैंकिङ प्रणाली हुँदै बजारमै आउने हो । यसबाट पनि लगानीयोग्य रकम बढ्न गयो । र, बैंकहरूले लगानीका क्षेत्र खुम्चिएको अवस्था शेयर लगानीतर्फ लगानी बढाए । यसले पनि शेयरबजारलाई बढाउन मद्दत मिल्यो । जबसम्म बैंकको ब्याजदर १० प्रतिशतभित्रै रहन्छ, त्यति बेलासम्म शेयरबजारमा लगानी बढ्छ ।
विगत केही वर्षयता शेयरबजारमा भित्रिएको प्रविधि अहिले शेयरबजार बढ्नुमा एउटा प्रमुख औजार भएको छ । अन्य उद्यम व्यवसायका लागि भौतिक रूपमै उपस्थितिको खाँचो पर्छ भने शेयरबजारमा यो बाध्यता छैन । अहिले लगानीकर्ताले अनलाइनबाटै शेयर किनबेच गर्न सक्ने भएका छन् । विगतजस्तै शेयर दलालको कार्यालयमै धाउनुपर्ने अवस्था भएको भए बन्दाबन्दी र निषेधाज्ञामा शेयर कारोबार सम्भव हुने थिएन । प्रविधिका कारण कारोबार छरितो र पारदर्शी भएपछि लगानीकर्तामा चेतना र उत्साह दुवै विस्तार भएको अवस्था छ, यसले पनि शेयरबजारलाई बढाउने काम गरेको छ ।
सरकारले घरजग्गाको कारोबारलाई नियन्त्रणको नीति लिएकाले पनि शेयरबजारमा लगानीकर्ताको आकर्षण बढेको हो । घरजग्गाको कारोबारका नीतिगत कडाइले व्यवसाय खुम्चिनु र लगानी बढी चाहिने भएपछि त्यस्ता व्यवसायी पनि यतिबेला शेयर बजारतिर छिरेका छन् । विज्ञहरूले कारोना महामारी आगामी ४/५ वर्षसम्म कुनै न कुनै रूपमा रहिरहने बताइरहेका छन् । यदि यसो हो भने शेयरबजारको उचाइ निरन्तर बढ्ने अनुमान गर्न कठिन छैन । कोरोना महामारीको समयमा अन्य क्षेत्रका लगानीकर्ताले पनि शेयरबजारलाई वैकल्पिक आयको माध्यम बनाएका छन् । अन्य व्यापार व्यवसायमा बन्दाबन्दी र निषेधाज्ञाको मार परे पनि शेयरबजारमा त्यसको असर नपर्ने भएपछि त्यस्ता लगानीकर्ता पनि आकर्षित भएका छन् । यसले शेयरबजारमा रौनक देखिएको हो । प्राथमिक बजारमा मात्र सीमित धेरै लगानीर्ता अहिले दोस्रो बजारमा प्रवेश गरेका छन् ।
सरकारले निजी कम्पनीहरूलाई पनि शेयरबजारमा आउन प्रोत्साहित गरेको छ । बुक बिल्डिङमार्पmत शेयर विक्रीको बाटो खुलाइएको छ । सर्वोत्तम सिमेन्ट यसको तयारीमा छ । विगतमा शिवम् सिमेन्टले प्रिमियम दर राखेर सर्वसाधारलाई शेयर बेचिसकेको छ । अरू थुप्रै कम्पनी यसमा लागेका छन् । यसले पनि शेयरबजारमा सर्वसाधारण लगानीकर्ताको सहभागिता बढाउने अपेक्षा गर्न सकिन्छ । लगानीकर्ताले मुख्यत : २ प्रकारले लगानी गरेको पाइन्छ । एकथरी अल्पकालीन लगानीकर्ताका रूपमा आएका छन्, जो सामान्यत : नाफा देख्नेबित्तिकै शेयर बेचेर नाफा बुक गर्नतिर लाग्छन् । अर्काथरी दीर्घकालीन लगानी र प्रतिफलको उद्देश्य राख्छन् । यस्तोमा शेयरबजार बढिरहेको अवस्थामा अरूको कमाई देखेर सुझबुझविनै हाम्फाल्ने प्रवृत्ति पनि देखिएको छ । लगानीको प्रतिफल र जोखिम दुवै आफैले बेहोर्नुपर्ने भएकाले अनावश्यक प्रचारबाजीको पछाडि नलागी आफ्नो स्वविवेकबाट लगानी गर्नुपर्छ । बजार बढेको छ भन्दैमा विचार नपुर्याई अरूले भनेकै भरमा लगानी खन्याउँदा गुमाउने जोखिम पनि उत्तिकै हुन्छ । यसकारण आफूले लगानी गर्न लागेको कम्पनीका बारेमा पर्याप्त बुझेरमात्र शेयर खरीद गर्नुपर्छ ।
अहिले हातहातमा इन्टरनेटको पहुँच भएकाले प्रत्येक कम्पनीको प्रतिवेदन सहजै उपलब्ध हुन सक्छ । यस्तो प्रतिवेदनबाट कम्पनीको आर्थिक स्थिति, कार्यसम्पादनको अवस्था, व्यवस्थापन पक्षका सबल र कमजोर पक्षहरू, लगानीकर्तालाई दिएको प्रतिफलजस्ता विषयलाई सूक्ष्म रूपमा केलाएर प्रतिफल दिने खालका कम्पनी छानेर लगानी गर्नुपर्छ ।
अग्रवाल नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ क्यापिटल मार्केट समितिका संयोजक हुन् ।