सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९.९९ % ले वृद्धि

भदौ २८, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ ।  नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा कम्पनीको आईपीओ सूचीकृत भएको सोमवार आठौं कारोबार दिन हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६६१ दशमलव ९० पुगेको हो । कम्पनीको शेयरमूल्य कारोबारमा आएको आठौं दिन पनि सर्किट लेबमा वृद्धि भएको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । यो समाचा तयार पार्दाको समय ११ : ४० बजेसम्ममा मार्केट डेप्थमा कम्पनीको शेयरमा २ लाख ८ हजार १७० कित्ता खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।   

सम्बन्धित सामग्री

मर्जर सम्झौताको ९ महीनापछि एकीकृत कारोबार शुरू गर्दै सानिमा र रिलायन्स लाईफ

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाईफ इन्स्योरेन्स चैत ९ गतेदेखि एकीकृत कारोबार शुरू गर्दै छन् । गत असार २९ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूले मर्जर सम्झौता गरेको ९ महीनापछि एकीकृत कारोबार शुरू गर्न लागेका हुन् । दुवै कम्पनीले गत फागुन १२ गते सम्पन्न वार्षिक साधारण सभाबाट मर्जर प्रस्ताव पारित गरेका थिए । नेपाल बीमा प्राधिकरणबाट फागुन १८ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट र फागुन २९ गते मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त भएसँगै यी कम्पनी एक हुन लागेका हुन् । दुई कम्पनी एक भई सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुुरु गर्न लागेका हुन । मर्जरपछि कम्पनीको प्रधान कार्यालय नयाँ वानेश्वर, काठमाडौंमा रहने कम्पनीहरूले जानकारी दिएका छन् । यी दुई कम्पनी एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन् । हाल सानिमा लाईफको चुक्तापूँजी रू. २ अर्ब र रिलायन्स लाईफको चुक्तापूँजी रू. २ अर्ब १० करोड रहेको छ । मर्जरपछि बन्ने कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब १० करोड कायम हुनेछ । पूँजी वृद्धि अभियानका लागि कायम गरेको चुक्तापूँजीको व्यवस्था बमोजिम सानिमा रिलायन्स लाइफको चुक्तापूँजी रू. ५ अर्ब पुग्नुपर्नेछ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट यस वर्ष दुबै कम्पनीले शेयरधनीहरूलाई लाभांश वितरण गरेका छैनन् । दुबै कम्पनीको शेयर संरचना हाल संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत रहेको छ । हाल कायम शेयर संरचना परिवर्तन गरी संस्थापक तर्फको १९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्ने कम्पनीले जानकारी दिएको छ । शेयर संरचना परिवर्तनको प्रस्ताव समेत कम्पनीहरूले वार्षिक साधारण सभाबाट पारित गराईसकेका छन् । दुबै कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनी रहेकाले एकीकृत कारोबारको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का हुनेछ । मर्जर तथा प्राप्ति सम्बन्धि व्यवस्था बमोजिम एकीकृत कारोबार भएको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का गर्नुपर्ने व्यवस्था रहेको छ ।

जीवन बीमा कम्पनीहरूमा भुक्तानी हुन बाँकी दावी रकम करीब ३ % ले वृद्धि

जेठ ५, काठमाडौं । १६ ओटा जीवन बीमा कम्पनीहरूकोे रू. ३ अर्ब ६ करोडभन्दा बढी दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।  चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमासिक वित्तीय विवरणले बीमा कम्पनीहरूमा परेको दाबी रकम भुक्तानी हुन बाँकी रहेको हो । नेपालमा १९ ओटा जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । तर, दुई ओटा जीवन बीमा कम्पनीको भने दाबी भुक्तानी रकम बाँकी छैन । सानिमा लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा दाबी भुक्तानी हुन बाँकी नरहेको वित्तीय विवरणमा देखिन्छ । त्यसैगरी राष्ट्रिय बीमा संस्थानले भने दाबी भुक्तानी गर्नु पर्ने रकम कति छ, उल्लेख गरेको छैन ।  १६ ओटा जीवन बीमा कम्पनीको बीमितलाई दिनुपर्ने दाबी भुक्तानी रकम गत आवको तेस्रो त्रैमाससम्ममा रू. २ अर्ब ९८ करोड थियो । गत आवको तुलनामा चालू आवमा जीवन बीमा कम्पनीहरूमा परेको दाबी भुक्तानी हुन बाँकी रकम २ दशमलव ९४ प्रतिशत वृद्धि भएको हो । १६ कम्पनीमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भुक्तानी हुन बाँकी छ ।  यो कम्पनीको रू. १ अर्ब २८ करोडभन्दा बढी दाबी रकम भुक्तानी हुन बाँकी छ । यो रकम गत आवको तेस्रो त्रैमासको तुलनामा १२ दशमलव २८ प्रतिशत घटेको हो । सो अवधिमा कम्पनीको भुक्तानी हुन दाबी बाँकी रकम रू. १ अर्ब ४६ करोड रहेको छ । त्यसैगरी दोस्रोमा मेट लाइफ इन्स्योरेन्स कम्पनीको रू. ७० करोड ४६ लाख दाबी भुक्तानी हुन बाँकी छ ।  १६ ओटा कम्पनीमध्ये सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको रू. ४ लाख ३६ हजार दाबी रकम भुक्तानी हुन बाँकी छ । प्रतिशतका आधारमा सबैभन्दा बढी रिलायन्स लाइफ इन्स्योरेन्सको १ हजार ३९६ प्रतिशत वृद्धि भएको छ । यो कम्पनीले गत आवमा भुक्तानी गर्न बाँकी दाबी रकम रू. ७ लाख ८१ हजार रहेकोमा चालू आवमा बढेर रू. १ करोड १६ लाख पुगेको हो ।

सानिमा लाइफ इन्स्योरेन्सको सर्वाधिक १२ करोड ४९ लाख बराबरको शेयर खरीदविक्री

भदौं ३०, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको सवा दुई घण्टामा कारोबारमा आएका २१६ ओटा कम्पनीमध्ये सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सर्वाधिक खरीदविक्री भएको छ ।  सो अवधिमा कम्पनीको रू. १२ करोड ४९ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यो समाचार  तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७०१ मा कारोबार भइरहेको छ । कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आएको बुधवार अर्थात् आज १०औं दिन हो ।  कारोबारमा आएकै दिनदेखि नवौं दिनसम्म पोजेटिभ सर्किट लागेको कम्पनीको शेयर बुधवार भने घटेको छ । कम्पनीको शेयरमूल्य वृद्धि भएसँगै आईपीओमा परेको शेयर विक्री गर्ने हावी हुँदा शेयरमूल्य घटेको हो ।  साथै, बजार बुलिस ट्रेण्डमा रहेकाले अझै बढ्ने आशमा शेयर खरीद गरिहेका छन् भने कतिपयले आईपीओमा परेको शेयर विक्री गरेकाले यस कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको देखिन्छ ।

राष्ट्रिय बीमा कम्पनीसहित ४ ओटा कम्पनीको शेयरमूल्य १०% का दरले वृद्धि

भदौ २७, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको साढे दुई घण्टामा राष्ट्रिय बीमा कम्पनीसहित चार ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । कारोबारमा आएका २२३ ओटा कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनी,छ्याङदी हाइड्रोपावर,लिवर्टी इनर्जी कम्पनी र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर १० प्रतिशतका दरले वृद्धि भएको हो ।  ती चार ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २० हजार १३२,छ्याङदी हाइड्रोपावरको रू.६२५ दशमलव ९०, लिवर्टी इनर्जी कम्पनीको रू. ४५९ दशमलव ८० र सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्य रू. ६०१ दशमलव ८० पुगेको हो ।  बजार बढेसँगै क्रेता बढी हुँदा ती कम्पनीको शेयरमूल्यमा वृद्धि भएको हो ।

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको सानिमा लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था :

असार १६, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा जेठ ९ गते निवेदन दिएको छ ।  कम्पनीले आईपीओ निष्कासन विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको उक्त आईपीओ निष्कासन गर्नका लागि रेटिङ गराइसकेको छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले केयर रेटिङ नेपालमा रेटिङ गराएको हो ।  केयर रेटिङ नेपालले केयर एनपी ट्रिपल बी मानस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष मध्यम रहेको देखाउँछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासन पछि पूँजी रू. २ अर्ब पुग्नेछ । अब कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।  कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ९ करोड ३६ लाख ८६ हजार नाफा कमाएको छ । गत आवको तुलनामा चालू आवमा कम्पनीको नाफा ११ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ८ करोड ३८ लाख ३८ हजार नाफा कमाएको थियो ।   चालू आवको तेस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १० करोड ६७ लाख ७१ हजार आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १२ करोड २७ लाख ९० हजार पुगेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २० करोड ६३ लाख २१ हजार र जीवन बीमा कोषमा रू. १ अर्ब ९२ करोड ३५ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले ९६९ जनालाई रू. ८ करोड ५० लाख ५२ हजार दाबी भुक्तानी गरेको वित्तीय विवरण मार्फत जानकारी गराएको छ ।