मर्जर सम्झौताको ९ महीनापछि एकीकृत कारोबार शुरू गर्दै सानिमा र रिलायन्स लाईफ

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाईफ इन्स्योरेन्स चैत ९ गतेदेखि एकीकृत कारोबार शुरू गर्दै छन् । गत असार २९ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूले मर्जर सम्झौता गरेको ९ महीनापछि एकीकृत कारोबार शुरू गर्न लागेका हुन् । दुवै कम्पनीले गत फागुन १२ गते सम्पन्न वार्षिक साधारण सभाबाट मर्जर प्रस्ताव पारित गरेका थिए । नेपाल बीमा प्राधिकरणबाट फागुन १८ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट र फागुन २९ गते मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त भएसँगै यी कम्पनी एक हुन लागेका हुन् । दुई कम्पनी एक भई सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुुरु गर्न लागेका हुन । मर्जरपछि कम्पनीको प्रधान कार्यालय नयाँ वानेश्वर, काठमाडौंमा रहने कम्पनीहरूले जानकारी दिएका छन् । यी दुई कम्पनी एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन् । हाल सानिमा लाईफको चुक्तापूँजी रू. २ अर्ब र रिलायन्स लाईफको चुक्तापूँजी रू. २ अर्ब १० करोड रहेको छ । मर्जरपछि बन्ने कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब १० करोड कायम हुनेछ । पूँजी वृद्धि अभियानका लागि कायम गरेको चुक्तापूँजीको व्यवस्था बमोजिम सानिमा रिलायन्स लाइफको चुक्तापूँजी रू. ५ अर्ब पुग्नुपर्नेछ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट यस वर्ष दुबै कम्पनीले शेयरधनीहरूलाई लाभांश वितरण गरेका छैनन् । दुबै कम्पनीको शेयर संरचना हाल संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत रहेको छ । हाल कायम शेयर संरचना परिवर्तन गरी संस्थापक तर्फको १९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्ने कम्पनीले जानकारी दिएको छ । शेयर संरचना परिवर्तनको प्रस्ताव समेत कम्पनीहरूले वार्षिक साधारण सभाबाट पारित गराईसकेका छन् । दुबै कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनी रहेकाले एकीकृत कारोबारको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का हुनेछ । मर्जर तथा प्राप्ति सम्बन्धि व्यवस्था बमोजिम एकीकृत कारोबार भएको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का गर्नुपर्ने व्यवस्था रहेको छ । 

सम्बन्धित सामग्री

सानिमा लाइफ र रिलायन्स लाइफको एकीकृत कारोबार शुरू

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको मर्जरपछि एकीकृत कारोबार शुरू भएको छ । मर्जरपछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट बिहीवारदेखि एकीकृत कारोबार गरिएको हो । दुवै इन्स्योरेन्स १:१ शेयर स्वाप अनुपातमा मर्ज भएका हुन् । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले फागुन १८ गते मर्जरसम्बन्धी अन्तिम स्वीकृति दिएको थियो । यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन २९ गते स्वीकृति प्रदान गरेको थियो । संयुक्त मर्जर समितिको चैत ५ गते बसेको बैठकले मर्जर सम्बन्धी निर्णय गरेको थियो । एकीकृत बनेको कम्पनीको चुक्तापूँजी ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । मर्जरअघि सानिमा लाइफ इन्स्योरेन्सको चुक्तापूँजी २ अर्ब रुपैयाँ र रिलायन्स इन्स्योरेन्सको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ थियो ।

बीमा क्षेत्रमा चार मर्जर सफल, अझै १३ कम्पनी मर्जर प्रक्रियामा

काठमाडौं । हालसम्ममा चार इन्स्योरेन्स कम्पनीको मर्जर सफल भएको छ । निर्जीवन बीमा कम्पनीतर्फ सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीको मर्जर प्रक्रिया सफल भएको हो । त्यस्तै जीवन बीमा कम्पनीतर्फ सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको मर्जर प्रक्रिया पनि सफल भएको छ ।  नेपाल बीमा प्राधिकरणले २०७८ चैत १० गते जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई पूँजी बढाउन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार २०७९ चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरूले न्यूनतम रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरूले रू. २ अर्ब ५० करोड चुक्तापूँजी पुर्‍याउनुपर्नेछ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्जरबाटै पूँजी बढाउन निर्देशन दिएसँगै बीमा कम्पनीहरू मर्जरमा गएर तोकिएको चुक्तापूँजी पुर्‍याउने तयारी गरिरहेका छन् । मर्जर सफल भएका चार कम्पनीमध्ये पनि केही कम्पनीको चुक्तापूँजी नेपाल बीमा प्राधिकरणले तोकेबमोजिम पुगेको छ भने केहीको अपुग देखिन्छ । निर्जीव बीमा कम्पनीतर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको पूँजी बीमा प्राधिकरणले तोकेबमोजिम पुगेको छ भने बाँकी दुई कम्पनीको अझै अपुग देखिन्छ । त्यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पूँजी अपुग नै छ ।  हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज भई साउन १ गतेदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरू गरिसकेका छन् । एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता शेयर बराबर हिमालयन जनरलको ८५ किता अर्थात् १ः०.८५ को स्वाप रेशियो कायम हुने गरी यी दुई कम्पनी मर्जरमा गएका हुन् । मर्जरपछि बनेको हिमालयन एभरेष्ट कम्पनीको चुक्तापूँजी रू. २ अर्ब २३ करोड रहेको छ । यसरी हेर्दा कम्पनीले बीमा प्राधिकरणले तोकेको चुक्तापूँजी अझै पुर्‍याएको छैन । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ३० करोड पुग्नेछ । बोनस शेयर वितरणपछि पनि कम्पनीको चुक्तापूँजी अझै रू. २० करोड अपुग रहेको छ ।  सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीले फागुन १७ गतेदेखि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरू गरेका छन् । यी दुई कम्पनी समान हैसियतमा मर्जरमा गएका हुन् । मर्जरपछि बनेको कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८० करोडभन्दा माथि पुगेको छ ।   त्यस्तै सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिई सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको नामबाट कात्तिक ७ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् । यी दुई कम्पनी पनि सामान हैसियत अर्थात् १ः१ अनुपातमा मर्जरमा गएका हुन् । मर्जरपछि बनेको कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पुगेको छ । कम्पनीले बीमा प्रधिकरणले तोकेको पूँजी पुर्‍याउन अझै रू. ५० करोड अपुग रहेको छ ।  त्यस्तै जीवन बीमा कम्पनीतर्फ सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरू गरेका छन् । सूर्या लाइफ इन्स्योरेन्सको १ कित्ता शेयर बराबर ज्योति लाइफको शून्य दशमलव ८२ कित्ता (१ः०.८२) अनुपातमा मर्जरमा गएका हुन् । यी दुई कम्पनी एक आपसमा गाभिएपछि बनेको कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५४ करोड पुगेको छ । कम्पनीलाई बीमा प्राधिकरणले तोेकेको पूँजी पुर्‍याउन रू. ४६ करोड अपुग रहेको छ ।  हाल १३ ओटा इन्स्योरेन्स कम्पनी मर्जर प्रक्रियामा रहेका छन् । जसमध्ये ६ निर्जीवन र ७ जीवन बीमा कम्पनीहरू रहेका छन् ।  निर्जीवन बीमा कम्पनीतर्फ आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्स कम्पनीले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । त्यस्तै जीवन बीमा कम्पनीतर्फ महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स, सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स र तीन कम्पनी यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन् । जीवन बीमा कम्पनीमध्ये रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरमा जान नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृति पाएका छन् । बाँकी कम्पनीहरूले बीमा प्राधिकरणबाट स्वीकृति पाएपछि आवश्यक प्रक्रिया पूरा गरेर एकीकृत कारोबार शुरू गर्नेछन् ।