जीवन बीमा कम्पनीहरूमा भुक्तानी हुन बाँकी दावी रकम करीब ३ % ले वृद्धि

जेठ ५, काठमाडौं । १६ ओटा जीवन बीमा कम्पनीहरूकोे रू. ३ अर्ब ६ करोडभन्दा बढी दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।  चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमासिक वित्तीय विवरणले बीमा कम्पनीहरूमा परेको दाबी रकम भुक्तानी हुन बाँकी रहेको हो । नेपालमा १९ ओटा जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । तर, दुई ओटा जीवन बीमा कम्पनीको भने दाबी भुक्तानी रकम बाँकी छैन । सानिमा लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा दाबी भुक्तानी हुन बाँकी नरहेको वित्तीय विवरणमा देखिन्छ । त्यसैगरी राष्ट्रिय बीमा संस्थानले भने दाबी भुक्तानी गर्नु पर्ने रकम कति छ, उल्लेख गरेको छैन ।  १६ ओटा जीवन बीमा कम्पनीको बीमितलाई दिनुपर्ने दाबी भुक्तानी रकम गत आवको तेस्रो त्रैमाससम्ममा रू. २ अर्ब ९८ करोड थियो । गत आवको तुलनामा चालू आवमा जीवन बीमा कम्पनीहरूमा परेको दाबी भुक्तानी हुन बाँकी रकम २ दशमलव ९४ प्रतिशत वृद्धि भएको हो । १६ कम्पनीमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भुक्तानी हुन बाँकी छ ।  यो कम्पनीको रू. १ अर्ब २८ करोडभन्दा बढी दाबी रकम भुक्तानी हुन बाँकी छ । यो रकम गत आवको तेस्रो त्रैमासको तुलनामा १२ दशमलव २८ प्रतिशत घटेको हो । सो अवधिमा कम्पनीको भुक्तानी हुन दाबी बाँकी रकम रू. १ अर्ब ४६ करोड रहेको छ । त्यसैगरी दोस्रोमा मेट लाइफ इन्स्योरेन्स कम्पनीको रू. ७० करोड ४६ लाख दाबी भुक्तानी हुन बाँकी छ ।  १६ ओटा कम्पनीमध्ये सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको रू. ४ लाख ३६ हजार दाबी रकम भुक्तानी हुन बाँकी छ । प्रतिशतका आधारमा सबैभन्दा बढी रिलायन्स लाइफ इन्स्योरेन्सको १ हजार ३९६ प्रतिशत वृद्धि भएको छ । यो कम्पनीले गत आवमा भुक्तानी गर्न बाँकी दाबी रकम रू. ७ लाख ८१ हजार रहेकोमा चालू आवमा बढेर रू. १ करोड १६ लाख पुगेको हो । 

सम्बन्धित सामग्री

राम्रो सेवा दिने बीमा कम्पनीलाई बजारमा अवसर प्रशस्त छन् [अन्तर्वार्ता]

पछिल्ला वर्षहरूमा नेपालमा बीमाको पहुँच बढ्दै गएको छ । बीमा कम्पनी तथा शाखा संख्या विस्तार, सरकारको प्रोत्साहन, नियामकीय नीतिलगायत कारण बीमाको दायरा बढेको हो । यद्यपि अर्थतन्त्र मन्दी उन्मुख बन्दाको असर अन्य व्यावसायिक क्षेत्रमा जस्तै यस क्षेत्रमा पनि परेको छ । प्रस्तुत छ, जीवन बीमा व्यवसायको वर्तमान अवस्था, आर्थिक सुस्तीको असर, बीमा प्रडक्ट लगायत विषयमा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले जीवन बीमक संघ नेपालका अध्यक्ष एवं सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलसँग गरेको कुराकानीको सार : अहिले जीवन बीमा व्यवसायको अवस्था कस्तो छ ? विगतका ५–७ वर्षमा नेपालमा बीमाको पहुँचमा निकै वृद्धि भएको देखिन्छ । अहिले झन्डै ४५ प्रतिशत नागरिक बीमाको पहुँचमा छन् । कोरोना महामारीमा पनि बीमा क्षेत्रको विकास र विस्तार रोकिएको थिएन । अहिले भने मन्दीको केही प्रभाव देखिएको छ । समग्र बीमा क्षेत्रलाई नै असर गरेका बेला सिटिजन लाइफ पनि यसबाट अलग छैन । बीमाको पहुँच विस्तार हुनुमा के के कारण छन् ? बीमाको दायरा बढ्नुमा कम्पनीको संख्या, सचेतना र सरकारको सक्रियता मुख्य कारण छन् । बीमा ऐनमै बीमा विकासको कार्यक्रम गर्नुपर्ने भनिएको छ । विगतमा भन्दा अहिले बीमाको सचेतना बढेको छ । तर विद्यालय तहदेखि नै बीमाबारे पढाउन आवश्यक छ । यस्तै नेपालमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बीमा अनिवार्य गरिएको छ । कर्जा लिनेहरूले पनि लघुबीमा गर्नुपर्ने भएकाले बीमा छोटो समयमै धेरै मानिसको पहुँचमा पुगेको छ ।  अहिले बीमालेख त्याग गर्नेहरू बढेका देखिन्छन् । कारण के होलान् ? बीमालाई बचतको रूपमा पनि लिने गरिन्छ । त्यसैले स्रोतहरू खुम्चिँदा आर्थिक आवश्यकता पूर्ति गर्न बीमितले बीमालेख त्याग गरेको पाइन्छ । अर्थतन्त्रको मन्दी उन्मुख अवस्थाका कारण विगत वर्षको तुलनामा अहिले बीमालेख त्याग गर्नेको संख्या बढेको देखिए तापनि ६५० अर्ब रुपैयाँको पोर्टफोलियोमा १२–१४ अर्ब बराबरको बीमालेख त्याग हुनु धेरै रकम होइन ।  नेपालमा जीवन बीमामा के कस्ता प्रडक्ट छन् ? दक्षिण एसियाका सबैजसो मुलुकमा एउटै किसिमका प्रडक्ट भएको पाइन्छ । बचतसँग सम्बन्धित बीमाका प्रडक्ट धेरै छन् । नेपालमा बीमालेख परिपक्व हुँदा बचत रकमका साथै बोनस पनि आउने किसिमका प्रडक्ट छन् । सिटिजन लाइफमै यस्ता प्रडक्ट ९ प्रकारका छन् । बीमा क्षेत्रभन्दा अन्य क्षेत्रमा लगानी गर्दा बढी प्रतिफल पाइन्छ भनिन्छ नि ? यसमा व्यक्तिको आवश्यकता र बुझाइले पनि फरक पार्छ । कतिपय व्यापारीले जोखिम न्यूनीकरणका लागि बीमा गर्छन् भने जागीर गर्नेहरूले अनिवार्य बचतका लागि समेत बीमा गर्छन् । लगानीका विभिन्न उपकरणमध्ये बीमा पनि एक हो । बीमाले लगानीलाई विविधीकरण गर्न मद्दत गर्छ । बीमाबाट पनि बजारका अन्य क्षेत्रले दिने बराबरको प्रतिफल पाउन सकिन्छ । सञ्चालनमा रहेका बीमा कम्पनीलाई नयाँ लघु बीमा कम्पनीको प्रवेशले कस्ता चुनौती थपिएका छन् ? नयाँ कम्पनीको प्रवेशसँगै पक्कै पनि चुनौती थपिएको छ । तर उहाँहरू भर्खरै आउनुभएकाले कसरी अगाडि बढ्नुहुन्छ, हेर्न बाँकी नै छ । बजार सबैलाई खुला भएकाले अवसर र चुनौती सबैलाई उत्तिकै छ । नयाँ कम्पनीले ल्याउने प्रडक्ट, दिने सेवा र भुक्तानीमा धेरै कुरा निर्भर हुन्छ । तर राम्रो सेवा दिने बीमा कम्पनीहरूलाई बजारमा अवसर प्रशस्त छन् । प्राधिकरणले निर्धारण गरेको चुक्तापूँजी कसरी पुर्‍याउने योजना छ ? कम्पनीका भावी योजना के के छन् ? सिटिजन लाइफले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि प्रिमियममा आइपिओ निष्कासन गर्दै छ । आइपिओ र कम्पनीको नाफाले प्राधिकरणले निर्धारण गरेको ५ अर्ब रुपैयाँ चुक्तापूँजी सजिलैसँग पुग्छ । अबका केही वर्षमा विभिन्न रणनीति बनाएर कम्पनीलाई विश्वासिलो ब्राण्ड बनाउने योजना छ । यस्तै लगानीकर्ताका लागि उच्च प्रतिफल दिने, अभिकर्ता र युवालाई कामका लागि आकर्षक कम्पनी बनाउने र गुणस्तरीय सेवा एवं उत्कृष्ट प्रडक्ट ल्याउने योजना छन् ।  सिटिजन लाइफको आइपिओमा लगानीकर्ताले किन लगानी गर्ने ? सिटिजन लाइफले दीर्घकालीन लगानीकर्तालाई उचित प्रतिफल दिन्छ । कम्पनीको वित्तीय अवस्था अन्य प्रतिस्पर्धी कम्पनीको भन्दा राम्रो छ । कम्पनीको रिजर्भमै १ अर्ब रुपैयाँभन्दा बढी छ । कम्पनीको ९० प्रतिशतभन्दा बढी लगानी दीर्घकालीन प्रतिफल आउने क्षेत्रमा भएकाले राम्रो प्रतिफल दिनेमा लगानीकर्ता ढुक्क हुनुभए हुन्छ । सर्वसाधारणले कुन प्रकारको बीमा गर्दा फाइदा हुन्छ ? बजारमा बीमाका विविध किसिमका प्रडक्ट भएकाले आफ्नो आवश्यकता र प्राथमिकता हेरेर बीमालेख छनोट गर्नुपर्छ । जस्तै, कुनै व्यक्तिलाई पेन्सनको आवश्यकता छ भने पेन्सन प्रडक्ट लिनुपर्छ । बीमा कम्पनीको सेवाबारे गुनासो पनि सुनिन्छ । अहिले सेवाको गुणस्तरमा केही सुधार भएको छ ? अहिले जीवन बीमा कम्पनीहरूमा त्यस्तो समस्या खासै छैन । विगतमा जस्तो दाबी भुक्तानीमा पनि समस्या छैन । बीमा कम्पनीहरूको सेवाको गुणस्तरमा पहिला भन्दा धेरै सुधार भएको छ । प्राधिकरणका अनुसार कम्पनीहरूले हजारौं संख्यामा भुक्तानी गर्दा २००–३०० गुनासो मात्र प्राधिकरणमा पुग्ने गरेको छ । विगतको तुलनामा समग्र बीमा व्यवसायमा धेरै नै सुधार भए तापनि थप सुधार गर्न सकिने ठाउँ प्रशस्त छन् ।

साविकको प्राइम लाइफ इन्स्योरेन्सले ९ महीनामा कमायो रू. २१ करोडभन्दा बढी नाफा

काठमाडौं । साविकको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रू.२१ करोडभन्दा बढी नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमाससम्मको तुलनामा १० प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. १८ करोड ९५ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीले गत आवमा रू. २९ करोड ३१ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. २९ करोड ५१ लाख पुगेको छ ।  चुक्तापूँजी रू. ३ अर्ब १४ करोड रहेको कम्पनीले जगेडामा रू. ४६ करोड ३८ लाख, जीवन बीमा कोषमा रू. २१ अर्ब ५३ करोडभन्दा बढी र महाविपत्ति कोषमा रू. २१ करोड ४३ लाख सञ्चित गरेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म रू. ३ अर्ब ३० करोडभन्दा बढी खुद बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले रू. ९८ करोड ३३ लाख दाबी भुक्तानी गरेको छ भने रू. ४ करोड ३० लाख दाबी भुक्तानी गर्न बाँकी छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव ९२, मूल्य आम्दानी अनुपात ४३ दशमलव ६२ गुणा र प्रतिशेयर नेटवर्थ रू. १२१ दशमलव ५९ रहेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको नाफामा उल्लेख्य वृद्धि

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको नाफा गत आवको तुलनामा चालू आवमा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ६० लाख नाफा कमाएकोमा चालू आवमा रू. ८ करोड ३७ लाख  पुगेको हो ।  चुक्तापूँजी रू. २ अर्ब ६५ करोड रहेको कम्पनीले जगेडा तथा कोषमा रू. ६९ करोड ९ लाख, जीवन बीमा कोषमा रू. १ खर्ब ४ अर्बभन्दा बढी र महाविपत्ति जगेडा कोषमा रू. ३६ करोड ८९ लाख सञ्चित गरेको छ । कम्पनीले  दीर्घकालीन लगानी, कर्जा तथा अन्यबाट रू. ५ अर्ब ७६ करोड र बीमालेख धितोमा कम्पनीले रू.२१ अर्ब ४९ करोड कर्जा लगानी गरी रू. १ अर्ब ७० करोड आम्दानी गरेको छ । कम्पनीले ६ लाख ८३ हजार ८३४ बीमालेख जारी गरेर रू. १२ अर्ब ९४ करोडभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेको छ । चालू आवमा कम्पनीले रू. ६ अर्ब ५५ करोड कुल दाबी भुक्तानी गरेको छ भने रू. ३४ करोड ८९ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव १६ र प्रतिशेयर नेटवर्थ रू. १३९ दशमलव ९५ रहेको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

बल्ल प्रकाशित गर्‍यो नेपाल पुनर्बीमा कम्पनीले पहिलो त्रैमासिक वित्तीय विवरण

चैत ३०, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले बल्ल चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमाससम्ममा निर्जीवन व्यवसायमार्फत रू. १६ करोड ४९ लाख र जीवन व्यवसाय मार्फत रू. ७ करोड ५० लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा निर्जीवन व्यवसायतर्फको नाफा ५१ प्रतिशत घटेको हो छ भने जीवन बीमा व्यवसायमार्फत हुने नाफा ३७ प्रतिशतले वृद्धि भएको छ । गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट रू. ३३ करोड ७८ लाख र जीबन बीमा व्यवसाय मार्फत रू. ५ करोड ४५ लाख नाफा कमाएको थियो । कम्पनीले पहिलो त्रैमाससम्ममा कुल रू. २ अर्ब ७१ करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले बीमाशुल्क वापत गत आवको पहिलो त्रैमाससम्ममा कुल रू.२ अर्ब ४० करोड आर्जन गरेको थियो । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ९६ करोड ६५ लाख दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम रू. २ अर्ब ४ करोड रहेको वित्तीय विवरण मार्फत जानकारी गराएको छ । कम्पनीको चुक्ता पूँजी रू. १० अर्ब रहेको छ । आव २०७६/ ७७ को मुनाफाबाट कम्पनीले शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गरेको छ । उक्त बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ११ अर्ब ६५ करोड पुग्नेछ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा रू. ४ अर्ब ७७ करोड र जीबन बीमा व्यवसायतर्फको जगेडामा रू.६६ करोड ९७ लाख सञ्चित रहेको छ। सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ६०(वार्षिकीकरण) ,मूल्य आम्दानी अनुपात १३४ दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. १७९ दशमलव ९२ रहेको छ ।

बलियो प्रतिस्पर्धीको रूपमा आउँदै

काठमाडौं । नेपालमा बीमा सेवा प्रदान गर्ने उद्देश्यले सरकारको स्वामित्वसहित २०२४ पुस १ गते राष्ट्रिय बीमा संस्थान प्रालिको स्थापना भएको थियो । रू. १ करोड अधिकृत पूँजीमा स्थापित कम्पनीले २०२४ फागुन ११ गतेखि व्यावसायिक कारोबार शुरू गर्‍यो । पछि २०२५ सालमा ‘राष्ट्रिय बीमा संस्थान ऐन २०२५’ आएपछि यो संस्थानमा परिवर्तन भयो । शुरूमा निर्जीवन बीमा मात्र गर्ने संस्थानले २०२९ देखि जीवन बीमा व्यवसायको पनि थालनी गर्‍यो । तर, २०७१ सालयता संस्थानले जीवन बीमाको व्यवसाय मात्र गर्दै आएको छ । संस्थान आउनुअघि नेपाल बैंकले नेपाल माल चलानी तथा बीमा कम्पनी स्थापना गरेर २००४ सालदेखि बीमा व्यवसाय शुरू गरेको थियो, जुन अहिले नेपाल इस्योरेन्सको रूपमा सञ्चालित छ । तर, सो कम्पनीले नेपाल बैंकसँग सम्बन्धित बीमा मात्र गर्ने गरेको थियो । त्यसैले, राष्ट्रिय बीमा संस्थानलाई नेपालको पहिलो ‘फुल फेज’को बीमा कम्पनीको रूपमा पनि लिइन्छ । राष्ट्रिय बीमा संस्थान आउनुअघि नेपालमा भारतीय बीमा कम्पनीले बीमा सेवा प्रदान गर्दै आएका थिए । संस्थान आएपछि भारतीय कम्पनी फर्किए । त्यसपछि संस्थानलाई नेपाली बीमा बजारमा एक्लै ‘राज’ गर्ने अवसर प्राप्त भयो । तर, संस्थानले त्यसअनुरूप आफ्नो व्यावसायिक गतिविधि अगाडि बढाउन सकेन । मुलुकको राजनीतिक अस्थिरता, दशवर्षे सशस्त्र द्वन्द्व, ट्रेड युनियनमा हुने राजनीति लगायतले पनि संस्थानलाई नकारात्मक असर पार्‍यो । साथै, पर्याप्त तथा दक्ष जनशक्ति नहुँदा पनि संस्थान आन्तरिक रूपमा कमजोर हुँदै गयो । लेखापरीक्षण, बीमांकीय मूल्यांकन तथा वार्षिक साधारणसभा जस्ता गतिविधिमा समेत संस्थान पछि पर्दै गयो । संस्थानले १०औं वर्षसम्म पनि लेखापरीक्षण र वार्षिक साधारणसभा गर्न सकेन । संस्थानले धेरै वर्षहरू ‘पेन्डिङ’मा रहेका काम गरेरै बितायो । अझै पनि संस्थानको आव २०६९/७० यताको साधारणसभा भएको छैन । यस्ता समस्या हुँदाहुँदै पनि संस्थान बीमा बजारमा बलियो प्रतिस्पर्धीको रूपमा आउन लागेको छ । संस्थानको पछिल्लो वर्षका वित्तीय परिसूचकले पनि त्यो पुष्टि गर्छ । संस्थानका बीमाशुल्क संकलन, नाफा, जीवन बीमा कोष बढ्दो अवस्थामा छन् । बीमाशुल्क, बीमा कोषको आधारमा संस्थानले बीमा बजारको करीब ९ प्रतिशत हिस्सा ओगटेको छ । चालू आवमा त बीमा संस्थान बीमाशुल्क संकलन गर्ने मामलामा तेस्रो स्थानमा आएको छ । त्यसअनुसार अब छिट्टै संस्थान बीमा बजारको बलियो प्रतिस्पर्धी कम्पनी बन्ने देखिन्छ । संस्थानका सञ्चालक एवं उच्च अधिकारीहरू पनि सोहीअनुसार कम्पनीलाई अगाडि बढाउने बताउँछन् । संस्थानका सेवासुविधालाई पनि डिजिटलीकरण गरिँदै लगिएको छ । अनलाइनबाटै बीमाशुल्क भुक्तानी गर्न मिल्ने, एसएमएसमार्फत बीमालेखबारे जानकारी लिन सकिने जस्ता सुविधा संस्थानले शुरू गरिसकेको छ । यस्तै, मोबाइल एपमार्फत संस्थानको सेवाबारे सहजै बझ्न सकिन्छ । संस्थानले आफ्नो आन्तरिक सफ्टवेयर समेत विकसित गर्दै आएको छ । यसअघि लामो समयसम्म ‘डेस्कबेस्ड’मै काम गरेको थियो । त्यसबेलाका तथ्यांक राख्ने पनि कुनै प्रविधि थिएन । संस्थानका सबै तथ्यांक कागजी रूपमा मात्र भण्डारण गरिएको थियो । तर, अहिले आन्तरिक प्रयोजनका लागि नयाँ सफ्टवेयर ल्याइसकेको छ । त्यसमा संस्थानका सबै तथ्यांक समावेश भइसकेको छ । शाखा संख्या पनि सातै प्रदेशमा हुने गरी २२ ओटा पुर्‍याइएको छ । अब छिट्टै बागलुङ र इलाममा शाखा स्थापना हुँदै छ । आगामी ३ वर्षमा ५६ ओटा शाखा पुर्‍याउने संस्थानको लक्ष्य छ । सबै शाखाबाट संस्थानका सबै सेवा लिन पाउने व्यवस्था गरिएको छ । बीमालेख जारी गर्न अब प्रधान कार्यालयमै आउनुपर्ने बाध्यता छैन । संस्थानले ग्राहकको चाहनालाई लक्षित गरेर ‘इन्डोमेन्ट’ तथा ‘मनी ब्याक’ बीमा योजना ल्याउन लागेको छ । त्यो बीमा समितिबाट स्वीकृत हुने चरणमा छ । यसका अलावा अभिकर्ताको संख्या तथा क्षमता विस्तार गर्ने, कर्मचारी थप गर्ने, व्यावसायिक योजना बनाउने संस्थानको तयारी छ । त्यसअनुसार अहिले संस्थानलाई प्रतिस्पर्धी कम्पनीको रूपमा आउन प्रशस्त आधार तय भइसकेको देखिन्छ । संस्थानको लेखापरीक्षण, बीमांकीय मूल्यांकन, साधारणसभा नहुने जस्ता समस्या करीब समाधान हुने चरणमा छन् । अबको पालो व्यवसाय विस्तार तथा संस्थानको वृद्धि विकास नै भएको संस्थानले बताएको छ । संस्थानका प्रमुख प्रशासक कविप्रसाद पाठकले कम्पनीलाई बलियो प्रतिस्पर्धीको रूपमा अघि बढाइने बताए । ‘अहिले कम्पनीको कमजोर पक्ष लेखापरीक्षण र साधारणसभा हुन नसक्नु हो । यद्यपि आव २०७५/७६ सम्मको लेखापरीक्षण भइसकेको छ, समितिबाट स्वीकृत हुन मात्र बाँकी हो,’ उनले भने, ‘त्यो स्वीकृत हुनासाथ साधारणसभा पनि भइहाल्छ । त्यसपछि बजारमा संस्थानप्रतिको नकारात्मक सन्देश पनि हट्छ । त्यसपछि हामी नयाँ उत्साहका साथ बीमा बजारमा प्रवेश गर्छाैं । त्यसका लागि प्रशस्त आधार पनि तयार भएका छन् ।’ संस्थानले आव २०६६/६७ देखि २०६८/६९ सम्मको साधारणसभा सम्पन्न गरी आव २०६९/७० देखि २०७१/७२ सम्मको वित्तीय विवरण स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको छ । साथै आव २०७२/७३ देखि २०७५/७६ सम्मको बाह्य लेखापरीक्षकद्वारा लेखापरीक्षण सम्पन्न गरी अन्तिम वित्तीय विवरण प्राप्त हुने क्रममा रहेको बताइएको छ । संस्थानका कार्यवाहक अध्यक्ष वसन्तराज पाण्डेले पनि संस्थानलाई बलियो प्रतिस्पर्धीको रूपमा विकास गरिने बताए । यसका लागि अहिले संस्थानको संरचना नै परिवर्तन गर्ने काम भएको उनको भनाइ छ । ‘अहिले हाम्रो लेखापरीक्षण तथा साधारणसभाको काम बाँकी नै छ । तर, हामी त्यसमा मात्र केन्द्रित छैनौं,’ उनले भने, ‘व्यवसाय विस्तार गर्ने काम पनि सँगसँगै अगाडि बढाएका छौं । अब छिट्टै नै बलियो प्रतिस्पर्धी बीमा कम्पनीको रूपमा उदाउँछौं ।’ संस्थानका सहायक प्रशासक कृष्णकुमार श्रेष्ठले पनि कम्पनीलाई बलियो रूपमा अघि बढाउने बताए । साथै, संस्थानको सेवालाई पनि ग्राहकमुखी बनाउँदै लगिने उनको भनाइ छ । संस्थानको लेखापरीक्षण, बीमांकीय मूल्यांकन, साधारणसभा नहुने जस्ता समस्या करीब समाधान भइसकेका छन् । अबको पालो व्यवसाय विस्तार तथा संस्थानको वृद्धि विकास नै भएको संस्थानले बताएको छ । संस्थानलाई यो लक्ष्य प्राप्ति गर्न चुनौती पनि उत्तिकै छ । कोरोनाले प्रभावित व्यावसायिक गतिविधि चलायमान बनाउनु, व्यावसायिक वृद्धिदर कायम गर्नु संस्थानका मुख्य चुनौती हुन् । साथै, अभिकर्ता र बीमितको संख्या बढाउन समेत चुनौतीपूर्ण देखिन्छ । निजी कम्पनीहरूले धेरै सेवा सुविधा दिएर अभिकर्ता र बीमितलाई आकर्षित गरिरहेका छन् । तर, संस्थानमा बीमित र अभिकर्ताका लागि यस्ता योजना छैनन् । अभिकर्ता र बीमित बीमा व्यवसायका लागि अभिन्न अंग हुन । त्यसैले, संस्थान यस विषयमा गम्भीर भएर अगाडि बढ्नुपर्ने देखिन्छ । बीमा बजारमा संस्थानको उपस्थिति चालू आवको पुस मसान्तसम्ममा नेपालमा सञ्चालित जीवन बीमा सेवा प्रदायकहरूको जीवन बीमा कोष ४ खर्ब ५२ अर्ब ७९ करोड छ । संस्थानले उक्त अवधिसम्ममा ३८ अर्ब ७८ करोड जीवन बीमा कोष कायम गरेको छ, जुन कुल जीवन बीमा कोषको ८ दशमलव ५६ प्रतिशत हो । यस्तै, चालू आवको ६ महीनामा ६ अर्ब ५ करोड बीमाशुल्क संकलन गरेको छ । यसै अवधिमा १९ जीवन बीमा कम्पनीहरूले भने ७० अर्ब ९१ करोड बीमाशुल्क संकलन गरेका छन् । त्यसअनुसार संस्थानको बजार हिस्सा झन्डै ९ प्रतिशत रहेको देखिन्छ । हालसम्म कम्पनीको बीमितको संख्या ६ लाख ३८ हजारर ७९३ पुगेको छ । संस्थानको लगानी लगानी व्यवस्थापन जीवन बीमा प्रदायकहरूको अर्को महŒवपूर्ण काम हो । संस्थानले बीमाशुल्कबापत उपलब्ध स्रोत नेपाल सरकार, बीमा समिति तथा नेपाल राष्ट्र बैंकद्वारा तोकिएको क्षेत्रमा संस्थानले लगानी गर्दै आएको छ । विशेषगरी विभिन्न बैंक, वित्तीय संस्था, नेपाल सरकारको ऋणपत्र, शेयर र डिबेन्चरमा अल्पकालीन तथा दीर्घकालीन लगानी गरी संस्थानले उच्चतम प्रतिफल प्राप्त गर्दै आएको छ । जीवन बीमालेखको धितोमा दिइएको कर्जाबाट समेत उल्लेख्य प्रतिफल प्राप्त हुँदै आएको छ । सरकारबाट प्राथमिकता प्राप्त क्षेत्रहरूमा आफ्नो स्रोतको उपयोग गर्ने क्रममा संस्थानले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा २१ करोड १८ लाख शेयर पूँजी (हालको बजार पूँजीकरण रकम १ अर्ब ३८ करोड) र २ अर्ब ८० करोड ऋण लगानी गरेको थियो । अहिले त्यो ब्याज पूँजीकरणसहित ४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । जलविद्युत् लगानी तथा विकास कम्पनीमा १ अर्ब शेयर लगानी (हालको बजार पूँजीकरण ३ अर्ब २० करोड) गरिएको छ । त्यस्तै विद्युत् उत्पादन कम्पनीमा ६ करोड ६ लाख संस्थापक शेयर लगानी छ । जलविद्युत् लगानी तथा विकास कम्पनीको अगुवाइमा कम लागत तथा उच्च प्रतिफलयुक्त जलविद्युत् आयोजनाहरूमा स्वपूँजी तथा ऋण लगानी सम्बन्धमा छलफल भइरहेको छ । नागरिक लगानी कोषमा कोषको कुल शेयर पूँजीको ३१ दशमलव ५ प्रतिशत स्वामित्व रहनुका साथै सन्राइज बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक, नेपाल पुनर्बीमा कम्पनी जस्ता वित्तीय संस्थामा संस्थानको संस्थापक तथा साधारण शेयर छ । विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी रकम २४ अर्ब १९ करोड तथा डिबेञ्चरमा ४ अर्ब ३२ करोड रुपैयाँ लगानी छ । संगठन तथा व्यवस्थापन सर्भे संस्थानको विद्यमान संगठन तथा व्यवस्थापन समयसापेक्ष बनाउन नयाँ संगठन तथा व्यवस्थापन सर्भेको कार्य काठमाडौं विश्वविद्यालयको सहयोगमा तर्जुमा गरी सञ्चालक समितिमा पेश गरिएको छ । सञ्चालक समिति र नेपाल सरकारबाट स्वीकृति लिई उक्त सर्भे प्रतिवेदन कार्यान्वयन हुने संस्थानको भनाइ छ ।

दोस्रो त्रैमाससम्ममा सूर्या लाइफ इन्स्योरेन्सको नाफा २२ % ले घट्यो

माघ २३, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २२ प्रतिशतले घटेको छ । गत आवको दोस्रो त्रैमासमा रू.२० करोड १२ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवको सोही अवधिमा घटेर रू. १५ करोड ६६ लाखमा सीमित भएको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानी घटेकाले नाफा घटेको हो । आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८ प्रतिशतले घटेको छ । कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ५५ करोड रहेको छ ।  चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ६८ करोड ९० लाख र जीवन बीमा कोषमा रू. १२ अर्ब ५७ करोड सञ्चित गरेको हो ।  त्यसैगरी कम्पनीले सो अवधिमा रू. २ अर्ब ५० करोड बीमा शुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको दोस्रो त्रैमासको तुलनामा ७ प्रतिशतले वृद्धि भएको हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. २ अर्ब ३२ करोड बीमा शुल्क आर्जन गरेको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ३ हजार ३९२ जनालाई रू. ४४ करोड ६० लाख दाबी भुक्तानी गरेको छ भने ९६ जनालाई रू. १ करोड ६६ लाख दाबी भुुक्तानी गर्न बाँकी रहेको छ । उक्त अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू.१२ दशमलव २९,मूल्य आम्दानी अनुपात ६३ दशमलव ९९ गुणा र प्रतिशेयर नेटवर्थ रू. १२३ दशलमव ५३ रहेको छ ।

बीमा पहुँच वृद्धिमा खोजिनुपर्ने आधारहरू

मानिसको आयस्रोतमा वृद्धि, जीवनशैलीमा परिवर्तन, क्रयशक्तिको बढोत्तरी, सहज विदेश भ्रमण, पूर्वाधार विकास, उद्योग, स्थापनामा सहजीकरण र सवारीसाधन प्रयोगको वृद्धिसँगै जीवनयापनमा सहजताको अतिरिक्त दुर्घटनामा वृद्धि भई जोखिम मात्रात्मक रूपमा बढ्दै गएको छ । यसबाट मानिसको जीवनमा नकारात्मक असर पर्नुका अतिरिक्त निर्माण भएका भौतिक पूर्वाधारहरूको क्षति एवम् आर्थिक जोखिममा वृद्धि भइरहेको छ । जोखिम न्यूनीकणको प्रमुख उपाय भौतिक संरचना तथा जीवनको बीमा गर्नु हो । तर, ग्रामीण भेकसम्म बीमाको पहुँच वृद्धि गर्न सरोकारवाला निकायको ध्यान केन्द्रित भएको देखिँदैन । कार्यरत कम्पनीहरूले विशेष गरी शहरी इलाकामा प्रमुखरूपमा कार्यस्थल बनाएको देखिन्छ । जीवन बीमा कम्पनीहरूले ग्रामीण इलाकामा बसोवास गर्ने जनतासम्म सेवा विस्तार गर्न सकेका छैनन् । प्रसिद्ध अर्थशास्त्री एडविन डब्ल्यू पिटरसनको भनाइमा ‘बीमा एउटा करार हो, जसमा एउटा पक्षले निश्चित बीमा शुल्कको बदलामा अर्को पक्षको विशिष्ट जोखिमलाई ग्रहण गर्छ र भविष्यमा कुनै उल्लिखित घटना घटेमा उसलाई एक निश्चित रकम दिने वा क्षतिपूर्ति दिने वचन दिएको हुन्छ ।’ अर्थात् एक पक्षको जोखिम अर्को पक्षले ग्रहण गर्ने र घटना भएमा क्षतिपूर्ति प्रदान गरी जोखिमलाई न्यूनीकरण वा हस्तान्तरण गर्ने भन्ने बुझिन्छ । यसका लागि बीमा पँहुचको आवश्यकता पर्छ । सरकारको आर्थिक वर्ष २०७८/७९ आयव्यय विवरण बुँदा ४५२ मा ‘बीमा सेवाको दायरा विस्तार गरी आगामी वर्ष एक तिहाई जनसंख्यामा बीमाको पहुँच पर्‍याइनेछ भनी उल्लेख छ । सार्वजनिक पूर्वाधार र सरकारी तथा निजी भवनको बीमा गर्ने व्यवस्थालाई अभियानका रूपमा सञ्चालन गरिनेछ । निजी घरको हकमा रू. ५ हजारसम्मको बीमा प्रिमियमलाई आयकर प्रयोजनका लागि खर्च कट्टी गर्न दिने व्यवस्था मिलाइनेछ भन्ने पनि उल्लेख भएको छ । उक्त व्यवस्थाबमोजिम सार्वजनिक पूर्वाधार, सरकारी र निजी भवनको बीमा गर्ने प्रक्रियालाई वृद्धि गर्न निश्चित रकम आयकर गणनामा कट्टी गर्न पाउने व्यवस्थाले सरकार बीमा पहुँचमा सकारात्मक देखिए पनि बीमाको पहुँच १ आर्थिक वर्षमा १ तिहाइ जनसंख्यामा वृद्धि गर्न सहज देखिँदैन । सरकार, नियामक निकाय र बीमा कम्पनीहरू रणनीतिक रूपमा योजना तयार गरी स्थानीय तहसम्म कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ । नेपाल बैंक लिमिटेडले प्रदान गरेको कर्जामा धितोको बीमा गर्ने उद्देश्यले विसं २००४ सालमा स्थापित नेपाल मालचलानी तथा बीमा कम्पनी लिमिटेडलाई बीमाको शुरुआतका रूपमा लिन सकिन्छ । बीमा व्यवसाय शुरू भएको ७४ वर्षमा २३ प्रतिशत जनसंख्यामा तथा वैदेशिक रोजगार म्यादी जीवन बीमासमेत गणना गर्दा करीब २७ प्रतिशतमा बीमा पहुँँच विस्तार भएको तथ्याङ्क छ । १ आर्थिक वर्षमा ६ प्रतिशतले कसरी बीमा पहुँच विस्तार हुन सक्छ ? बीमा बजारमा १९ जीवन, २० निर्जीवन र १ पुनर्बीमा गरी ४० ओटा बीमा कम्पनी सञ्चालनमा रहेका छन् । कार्यरत कम्पनीहरूले विशेष गरी शहरी इलाकामा प्रमुखरूपमा कार्यस्थल बनाएको देखिन्छ । जीवन बीमा कम्पनीहरूले ग्रामीण इलाकामा बसोवास गर्ने जनतासम्म सेवा विस्तार गर्न सकेका छैनन् । यसका अतिरिक्त आर्थिक वर्ष २०७६/७७ सम्ममा साविक गाविसहरूलाई समावेश गरी नगरपालिकाहरू बनाइएकाले शहरी जनसंख्या ६२ प्रतिशत पुगेको छ । पालिकाहरूको केन्द्र स्थान र अन्य शहरोन्मुख ग्रामीण इलाकाहरूमा वैदेशिक रोजगारीका कारण आधुनिक शैलीका भवनहरूको निर्माण र मूल्यवान् घरायसी सामानहरूको प्रयोग भइरहेको छ । ती इलाकाहरूसम्म जीवन र निर्जीवन बीमा कम्पनीहरूको पहुँच विस्तार हुन नसकिरहेकाले अधिकांश जनतालाई बीमा के हो ? कसरी बीमा गरिन्छ ? दुर्घटना पछिको दाबी भुक्तानी प्रक्रिया के हुन्छन् ? भन्ने समेत जानकारी छैन । नेपाल सरकार बीमा समिति र बीमा कम्पनीहरूले सर्वप्रथम बीमा शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्छ । बीमा समितिबाट सामाजिक उत्तरदायित्व र बीमा शिक्षा कार्यक्रम सञ्चालन गर्न वार्षिक खुद नाफाको २ प्रतिशत कम्पनीहरूले खर्च गर्ने गरी निर्देशन जारी गर्दा उपयुक्त हुने देखिन्छ । छुट्ट्याइएको रकमबाट बीमाको पहुँच ६० प्रतिशत नपुगेसम्म बीमा शिक्षामा खर्च गर्नुपर्ने र उक्त लक्ष्य पूरा भएपछि १ प्रतिशत बीमा शिक्षा र बाँकी १ प्रतिशत सामाजिक उत्तरदायित्वमा खर्च गर्ने गरी निर्देशन दिनुपर्छ । ६० प्रतिशत बीमा पहुँच वृद्धिपश्चात् १ प्रतिशत मात्रै सामाजिक उत्तरदायित्वमा खर्च गर्दा उपयुक्त हुने देखिन्छ । बीमा शिक्षा कार्यक्रम सञ्चालन गर्दा काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, पर्सा, रूपन्देही, बाँके, कैलाली, सुर्खेत र कास्कीजस्ता ठूला शहर भएका जिल्लामा सबै बीमा कम्पनीहरूले कार्यक्रम सञ्चालन गर्ने र अन्य जिल्लामा आपसी छलफलबाट निक्र्योल गर्न सकिन्छ । स्थानीय निकायहरूको संलग्नतामा प्रत्येक विद्यालयका १०, ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीलाई सहभागी गराउँदा प्रभावकारी हुने देखिन्छ । प्रत्येक स्थानीय तहमा सोही क्षेत्रको स्थानीय युवालाई तालीम प्रदान गरी दैनिक रूपमा बीमा शिक्षा कार्यक्रम सञ्चालन गर्ने तथा मासिक रूपमा प्रगति विवरण सम्बद्ध कम्पनीमा पेश गर्ने व्यवस्था गर्नुपर्छ । योजनाबद्ध रूपमा बीमा शिक्षा कार्यक्रम सञ्चालन गरी सरोकारका विषयहरू सर्वसाधारणलाई जानकारी नगराएसम्म बीमा पहुँचमा विस्तार हुन सक्ने देखिँदैन । बीमासम्बन्धी सर्वसाधारणको धारणालाई परिवर्तन गर्ने सशक्त औजार बीमा शिक्षा नै हो । हालसम्म बीमा पहुँच २३ प्रतिशतमा पुगेको पनि बाध्यकारी व्यवस्थाले हो । कर्मचारीहरूको जीवन बीमा रोजगारदाता वा सरकारले गरिदिने, बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिँदा अनिवार्य रूपमा बीमा गर्नुपर्ने, वैदेशिक रोजगारीमा जाँदा म्यादी जीवन बीमा गर्नुपर्ने, उद्योग, कलकारखाना, व्यापार व्यावसाय र परियोजना धितो राखी कर्जा लिँदा अनिवार्य रूपमा बीमा गर्नुपर्ने व्यवस्था नभएको भए कसैले पनि बीमा गर्ने थिएनन् । गाडी खरीद वा नवीकरणमा कर्जा बीमा वा तेस्रो पक्ष बीमा अनिवार्य गरिएकोले सहजै बीमाको प्रतिशतमा वृद्धि भएको हो । बीमा शिक्षा कार्यक्रमले बाध्यकारी व्यवस्थाविना स्वस्फूर्तरूपमा बीमा गर्नुपर्छ भन्ने आम मानिसको विचारमा परिवर्तन ल्याउन सक्छ । सरकारबाट बीमा पहुँच वृद्धि गर्ने उद्देश्यले आगामी आर्थिक वर्षका लागि गरिएको नीतिगत व्यवस्थाबाट पहुँच वृद्धि गर्न सकिने अवस्था देखिँदैन । नेपालमा आयकर गणना गर्दा बीमा गरेबापतको रू. ५ हजार कट्टी गरी लाभान्वित हुने संख्या कति छ यकिन गर्नुपर्छ । रू. ५ हजार छूट हुने आशले निजी घरको बीमा गर्न मानिसहरू अग्रसर हुन सक्ने देखिँदैन । निजी घरको बीमा गर्ने वातावरण तयार गर्न नेपालको कानूनी व्यवस्था र सरकारी धारणा कस्तो छ भन्ने महŒवपूर्ण विषय हो । सरकारले पूर्ण सुरक्षित घर निमार्णका लागि विभिन्न कानूनी र नीतिगत व्यवस्था गरेको छ । नेपाल राष्ट्रिय भवन संहिता, २०७७ (यसलाई भूकम्प प्रतिरोधी भवन निर्माण ढाँचा) पनि भनिन्छ । उक्त संहितामा भवन निर्माणसम्बन्धी स्ट्रक्चरल डिजाइनको व्यवस्था गरिएको छ । भवन ऐन, २०५५ दफा ११ देखि १४ सम्म, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा २७ (१) भवन नियमावली, २०६६ (पहिलो संशोधन २०७२) नियम ३ र ४ मा पालिकाहरूमा घर निर्माण गर्नुअघि नक्सा तयार गर्ने सोको स्वीकृत गर्नुपर्ने र स्वीकृत नगरी निर्माण गरेमा भत्काउन आदेश दिने वा रू ५० हजारसम्म जरीवाना गर्ने व्यवस्था छ । सोही आधारमा पालिकाहरूले नक्सा पास गरी घर निमार्णको स्वीकृति दिई राजस्व असुलउपर गरिरहेका छन् । नगरवासीहरूले घर निर्माण गरी सम्बद्ध पालिकाहरूबाट निर्माण सम्पन्न प्रमाणपत्र वा उल्लिखित कानूनहरू कार्यान्वयन हुनुपूर्व विविध कारणबाट घर निर्माण सम्पन्न भएको रहेछ भने अभिलेखीकरणको प्रमाणपत्र लिइरहेका छन् । घर निर्माण सम्पन्न वा अभिलेखीकरणको प्रमाणपत्र अनिवार्य रूपमा लिनुुपर्ने व्यवस्थाबाट पालिकाहरूले राम्रै आम्दानी गरिरहेका छन् । भवन नियमावली, २०६६ मा घर निर्माण सम्पन्न वा अभिलेखीकरण प्रमाणपत्र लिँदा बीमालेखको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने बाध्यकारी व्यवस्था थप गर्नुपर्ने तथा बीमा समितिबाट बीमा शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्देशन जारी भएमा बीमाको पहुँच विस्तार भई जोखिम हस्तान्तरण हुने र बचतमा वृद्धि हुन गई लगानीको स्रोतमा समेत सुधार हुनसक्ने देखिन्छ । लेखक बैंकिङ, बीमा तथा आधुनिक भुक्तानी प्रणालीसम्बन्धी जानकार हुन् ।