फागुन २९, काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १०१ अंक बढेको छ । नेप्से परिसूचक २ हजार ६६७ दशमलव ९७ विन्दुमा पुगेको छ ।
यस अवधिमा कारोबारमा आएका २२८ ओटा धितोपत्रमध्ये ५ ओटा धितोपत्रको मूल्यमा सर्किट लागेको छ । एशियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, इमर्जिङ्ग नेपाल लिमिटेड र कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
इर्जिङ्ग नेपाल र कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि र बाँकी तीन कम्पनीको शेयरमूल्य १० प्रतिशका दरले वृद्धि भएसँगै सर्किट लागेको हो ।
यी ५ ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । आइतवार बजार जीवन बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण रहेको देखिन्छ । उक्त समूहको परिसूचक सबैभन्दा बढी ६ दशमलव ९४ प्रतिशत वृद्धि भएको हो । अधिकांश जीवन बीमा कम्पनीहरुको शेयरमूल्यमा उच्च दरले वृद्धि भएको छ ।
नेप्सेमा सूचीकृत १२ ओटा जीवन बीमा कम्पनीमध्ये तीन कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । एशियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यी बाहेकका कम्पनीको शेयरमूल्य पनि उच्च दरले बढेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ८८५ दशलमव ५०, ज्योति लाइफ इन्स्योरेन्सको रू. ६२१ दशमलव ५० र सानिमा लाइफ इन्स्योरेन्सको रू. ५६६ दशमलव ५० पुगेको छ । त्यसैगरी इमर्जिङ्ग नेपालको रू. ३७५ दशलमव ६० र कर्पोरेट डेभलपमेण्ट बैंकको रू. ५४९.४० पुगेको छ ।