साउन २२, काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १३८ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो आवमा कम्पनीले रू. २ करोड ३५ लाख ३३ हजार नाफा कमाएको उक्त कम्पनीले गत आवमा वृद्धि गरेर रू. ५ करोड ६१ लाख ५७ हजार नाफा गरेको हो ।
गत आवको चौथो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि,सञ्चालन नाफामा वृद्धि भएकाले र रू. ५३ लाख ९२ हजार खराब कर्जा उठाउन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ५६ प्रतिशत र सञ्चालन नाफा १४७ प्रतिशतले वृद्धि भएको छ । चुक्तापूँजी रू. १२ करोड १७ लाख ४० हजार रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. १५ करोड २३ लाख ३० हजार सञ्चित गरेको छ ।
कम्पनीको निष्क्रिय कर्जा भने अघिल्लो आवको तुलनामा गत आवमा वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ५९ प्रतिशत रहेकोमा गत आवमा वृद्धि भएर ३ दशमलव ३० प्रतिशत पुगेको हो ।
त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू.४६ दशमलव १३,मूल्य आम्दानी अनुपात ५० दशमलव ८३ गुणा, तरलता अनुपात ८ दशमलव ९५६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.२२५ दशमलव १३ रहेको छ ।