कात्तिक ११, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा नाफा २ दशमलव १७ गुणा बढी भएको छ ।
गत आवको पहिलो त्रैमासमा रू. १ करोड २६ लाख १३ हजार खुद नाफा आर्जन गरेको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २ करोड ७३ लाख ८५ हजार पुगेको हो ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र रू. ३ करोड ८० लाख७७ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
चुक्तापूँजी रू. ८ करोड २१ लाख रहेको उक्त कम्पनीले जगेडामा रू. १२ करोड १२ लाख ३१ हजार सञ्चित गरेको छ ।
चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ५९ करोड ५४ लाख सापटि लिएर,रू. ९७ करोड १२ लाख ५० हजार निक्षेप संकलन गरेर रू. २ अर्ब २२ करोड कर्जा लगानी गरेको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कानस गर्नका लागि असोज ११ गते निवेदन दिएको हो ।
शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।