फागुन ८, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ३० गते २८औं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको फागुन ६ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो । सभा भर्चुअल माध्यमबाट गर्ने तयारी कम्पनीको छ ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल ७ प्रतिशत लाभांशलाई समेत वितरणयोग्य बनाउनेछ ।
यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब १० करोड ३ लाख ३६ हजारको आधारमा ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
यी प्रस्तावहरुसँगै सभाले अन्य कुनै कम्पनीसँग मर्जर तथा प्राप्ति प्रकृयामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते (एक दिन) बुक क्लोजको मिति तय गरेको छ । यस आधारमा फागुन १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।