माघ २०, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर फागुन ८ गतेदेखि निष्कासन गर्ने भएको छ ।
यस हकप्रद शेयर निष्कासन प्रयोजनका लागि पुस ११ गते एक दिन बुक क्लोज गरेको कम्पनीले निष्कासन मिति भने बिहीवार मात्र तय गरेको हो ।
बुक क्लोजको आधारमा पुस ९ र १० गते शेयर कारोबार नहुने भएकाले पुस ८ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयरमा आवेदन दिन योग्य भएका छन् । यस हकप्रद शेयर खरीदका फागुन २९ गतेसम्म आवेदन दिन सकिने जानकारी कम्पनीले दिएको छ ।
कम्पनीले साउन १५ गते २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकोमा मंसिर २९ गते अनुमति पाएको हो ।
हाल रू. ५४ करोड ५९ लाख ४१ हजार चुक्तापूँजी रहेको कम्पनीले रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ८९ लाख ११ हजार ५०० पुग्नेछ ।
यसअघि पनि कम्पनीले २०० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो । कम्पनीले २०७७ साल असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म सो अवधिसम्म कायम चुक्तापूँजी रू. १८ करोड १९ लाख ८० हजार ३०० को आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरेको हो ।
कम्पनीले यस अघि २०० प्रतिशत हकप्रद शेयर जारी गर्दा आर्थिक वर्ष ०७८/७९ भित्र चुक्तापूँजी रू. ८० करोड कायम गर्ने प्रक्षेपण गरेको थियो । सो प्रक्षेपण अनुसार कम्पनीले हकप्रद शेयर निष्कासन गरी पूँजी वृद्धि गर्न लागेको हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले रू.६० लाख २२ हजार खुद नाफा गरेको छ ।