फागुन ८, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद शेयर आज (आइतवार) देखि निष्कासन भएको छ ।
कम्पनीले २ बराबर १ को अनुपातमा रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ५४ करोड ५९ लाख ४१ हजार रहेको छ ।
हकप्रद शेयर निष्कासपछि कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ८९ लाख ११ हजार ५०० पुग्नेछ । कम्पनीले साउन १५ गते उक्त हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकोमा मंसिर २९ गते अनुमति पाएको हो । हकप्रद शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
कम्पनीले यस हकप्रद शेयर निष्कासन प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस ९ र १० गते शेयर कारोबार नहुने भएकाले पुस ८ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयरमा आवेदन दिन योग्य भएका छन् ।
यस हकप्रद शेयर खरीदका फागुन २९ गतेसम्म आवेदन दिन सकिने जानकारी कम्पनीले दिएको छ ।
यसअघि पनि कम्पनीले २०० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो । कम्पनीले २०७७ साल असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म सो अवधिसम्म कायम चुक्तापूँजी रू. १८ करोड १९ लाख ८० हजार ३०० को आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरेको हो ।
कम्पनीले यस अघि २०० प्रतिशत हकप्रद शेयर जारी गर्दा आर्थिक वर्ष ०७८/७९ भित्र चुक्तापूँजी रू. ८० करोड कायम गर्ने प्रक्षेपण गरेको थियो । सो प्रक्षेपण अनुसार कम्पनीले हकप्रद शेयर निष्कासन गरी पूँजी वृद्धि गर्न लागेको हो ।