अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा हिमाल आरोहण गर्न आएका पर्वतारोहीहरूले तिरेको सलामी (रोयल्टी) बाट सरकारले ६६ करोड १३ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो । त्यस्तै, पर्यटन व्यवसायी, होटेल व्यवसायी, सरदार, क्ल्याम्बिङ शेर्पा, रूट गाइड, आइसफल डाक्टर, हाई एल्टिच्युड शेर्पा, कुक, किचन ब्वाई, चौरी–नाक–याक धनी, भरिया र अन्य कामदारहरूले पनि सगरमाथा हिमाल आरोहण गर्न आएका पर्वतारोहीबाट राम्रो आम्दानी गरेका थिए । सबै हिमालबाट सरकारले विभिन्न देशका पर्वतारोहीबाट सलामी (रोयल्टी) दस्तुरबापत ७१ करोड ४८ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो । कोरोना महामारीकै बीच विभिन्न हिमाल आरोहण गर्न आएका पर्वतारोहीहरूबाट यति राजस्व प्राप्त गर्नु चानचुने कुरो पक्कै होइन ।
तर, यो वर्षको वसन्त ऋतुमा हिमाल आरोहणबाट गतवर्षको सिजनमा जस्तो नेपाल सरकार एवम् नेपाली पर्यटन व्यवसायीहरूलाई आम्दानी नहुने देखिन्छ । गएको वैशाख ४ गतेसम्म विभिन्न देशका ९१ पर्वतारोहण दलका ७४० जना पर्वतारोहीले मात्रै नेपालमा रहेको विभिन्न हिमाल आरोहण गर्नका लागि अनुमति लिएका छन् । चैत २३ सम्ममा यो सिजनमा नेपालमा रहेको विश्वकै अग्लो (८ हजार ८ सय ४८.८६ मीटर ) सगरमाथा अर्थात् चोमोलुङमा हिमाल आरोहणका लागि विभिन्न देशका ३२ आरोहण दलका २६२ जना पर्वतारोहीले अनुमति लिइसकेका छन् । ती ३२ पर्वतारोहण दलका ११७ जना पर्वतारोहीमध्ये १८ जना पर्वतारोही त रूसका मात्रै रहेका छन् । रूस–युक्रेन युद्घ शुरू भएपछि युक्रेन सरकारले औपचारिक रूपमै अनुरोध गरेर रूसका पर्वतारोहीहरूलाई प्रतिबन्ध लगाउन नेपाल सरकारलाई आग्रह गरेको थियो । तर, सरकारले युक्रेन सरकारको उक्त आग्रहलाई स्वीकार गरेन । रूसका पर्वतारोहण दललाई नेपाल सरकारले सगरमाथालगायत केही हिमाल आरोहण गर्ने अनुमति दिइसकेको छ । रूस–युक्रेन युद्घ शुरू हुँदा ताका नै नेपालले रूसको विरुद्घमा मत जाहेर गरेको थियो । जे भए तापनि विभिन्न देशका पर्वतारोहीहरू नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्न आउने क्रम जारी रहेको छ । यो क्रम सम्भवत: अप्रिलको तेस्रो हप्तासम्म जारी रहनेछ । हरेक वर्षको अप्रिल महीनाको अन्तिमदेखि मे महीनाको अन्तिम–जुन महीनाको पहिलो हप्तासम्म मात्रै नेपालका हिमाल आरोहण गर्न सकिन्छ । त्यसपछि नेपालमा रहेका प्राय: सबै हिमालमा हिउँ पग्लने क्रम शुरू हुन्छ । त्यसैले नेपालमा जुन महीना लागेपछि प्राय: सबै हिमाल आरोहण गर्न बन्द हुन्छ । त्यसपछि नेपालमा हिमाल आरोहण असम्भव जस्तै हुन्छ ।
विभिन्न देशका ९१ ओटा पर्वतारोहण दलका ७४० जना पर्वतारोहीले नेपालमा रहेका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिइसकेका छन् । त्यसमा सगरमाथासहित नेपालका अन्य २२ ओटा हिमाल रहेका छन् । हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै पर्वतारोही अमेरिकाबाट आएका छन् । अमेरिकाबाट मात्रै ११७ जना पर्वतारोही विश्वकै अग्लो हिमाल सगरमाथासहित नेपालमा रहेका अन्य हिमाल आरोहण गर्न नेपाल आइसकेका छन् । ४२ जना अमेरिकी पर्वतारोही त सगरमाथा आरोहण गर्न मात्रै आएका छन् । यो सिजनमा अमेरिकी पर्र्वतारोहीहरू अरू थपिने सम्भावना पनि रहेको छ ।
गतवर्षको पर्वतारोहणको सिजनको शुरू ताका नै भारतको गुजरात, मुम्बईलगायत राज्यमा समुद्री आँधी र भारतकै पश्चिम बंगाल र बंगलादेशलगायत क्षेत्रमा आएको अर्को समुद्री आँधीका कारण हिमालय क्षेत्रमा अचानक मौसममा नराम्रोसँग परिवर्तन आयो । त्यसको फलस्वरूप हिमालय क्षेत्रमा अचानक चलेको हावाहुरी, हुन्डरी, वर्षा र हिउपातका कारण धेरै दिनसम्म पर्वतारोहण कार्य नै रोकियो । फलत: गएको सिजनमा आधाभन्दा पनि कम पर्वतारोहीहरूले मात्रै सगरमाथालगायत अन्य हिमालमाथि विजय प्राप्त गर्न सकेका थिए ।
विश्वमा हालसम्म मान्यता प्राप्त ८ हजार मीटरभन्दा माथिका १४ ओटा हिमाल एशिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्व पैmलिनु र ती १४ ओटा हिमालमध्ये ८ ओटा हिमाल नेपालमै हुनु पनि हामी नेपालीका लागि सौभाग्य भएको छ । स्मरणीय छ, हिमालय पर्वतमालाको एक तिहाइ भागमै विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथा अर्थात् चोमोलुङमादेखि लिएर हालसम्मको ८ हजार मीटरमध्ये कम उचाइको हिमाल सिसापाङ्मा चीन–नेपाल सीमामा अवस्थित ८ हजार १३ मीटर अग्लोसम्म रहेका छन् । त्यसमाथि गएको वर्ष विश्वकै अग्लो हिमाल सगरमाथा अर्थात् चोमोलुङमाको नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मीटर कायम भएको छ भने, त्यसअघि सगरमाथा अर्थात् चोमोलुङमाको उचाइ ८ हजार ८ सय ४८ मिटरलाई आधिकारिक मानिँदै आएको थियो ।
आशा गरौं, नेपाल सरकार र नेपाली पर्यटन व्यवसायीहरूले पर्वतारोहणबाट यसवर्ष राम्रो कमाइ गर्न सक्ने देखिन्छ । जति पनि विदेशी तथा स्वदेशी पर्वतारोहीले नेपालमा रहेका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन्, सकेसम्म उनीहरू सबैले सफलता पाऊन्, गतवर्ष जस्तोे पर्वतारोहणको सिजनको शुरू ताका नै भारतको गुजरात, मुम्बईलगायत राज्यमा आएका आँधीका कारण नेपालको पर्वतारोहणमा नराम्रोसँग असर पर्यो, यो वर्ष त्यस्तो नहोस् । केवल हाम्रो देशमा रहेका विभिन्न हिमाल आरोहण गर्न आएका विदेशी पर्वतारोहीलाई मात्रै नभएर हामी सबैलाई हिमालकी देवीले खुशीका साथ सफलताका लागि आशीर्वाद दिऊन् ।
यसरी हिमाल आरोहणमा आएका पर्यटकबाट सरकारले यस वर्ष ३९ करोड ५२ लाखभन्दा बढी रुपैयाँ राजस्व प्राप्त गरेको छ । आशा गरौं, हिमाल आरोहणमा आउने पर्यटकको संख्या बढ्दै जाओस् । तर, के बिर्सनु हुँदैन भने सगरमाथा आरोहण गर्नेहरूको भीड जाममा परेको तस्वीर विश्व सञ्चारमाध्यममा जाँदा यसले हिमाल आरोहणमा आउने आरोहीहरूमाझ नकारात्मक सन्देश जान सक्छ । त्यसैले कति आरोहीलाई अनुमति दिने र राजस्व कति लिने भन्नेमा विशेष ध्यान जानु आवश्यक छ ।
लेखक पर्यटनकर्मी हुन् ।