कहाँ हरायो ८ मीटर अग्ला हिमाल थपिने कुरा ?

अहिलेको समय नेपालमा हिमाल आरोहणको सिजन हो । तर, कोरोना महामारी तथा रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण यो सिजनमा अपेक्षित रूपमा विदेशी पर्वतारोहीले नेपालका बुक गरेनन् । खास गरी यूरोप र अमेरिका महादेशका पर्वतारोहीले हिमाल आरोहणमा बढी रुचि राख्छन् । तर, बुक गरिसकेको केही यूरोपेली पर्वतारोही टोलीले पनि आरोहण अभियान स्थगित गरेका छन् । हाम्रो देशमा हालसम्म ८ ओटा मात्रै ८ हजार मीटरमाथिका हिमाल छन् भन्ने आम बुझाइ छ । तर, ८ मीटरमाथिका हिमाल १४ ओटा छन् । हाम्रो देशमा अरू ६ ओटा ८ हजार मीटरभन्दा माथिका हिमाल छन् । तर, त्यसलाई अन्तरराष्ट्रिय स्तरका पर्वतारोहण संघसंस्था र अन्तरराष्ट्रिय समुदायले हालसम्म मान्यता दिएका छैनन् । यस्तो हुनुमा हामी नेपालीकै कमजोरी रहेको छ किनभने यस विषयमा आधिकारिक रूपमा नेपाल सरकारले कहिल्यै पनि प्रयास गरेन । धेरै अघिदेखि नेपाल पर्वतारोहण संघ (एनएमए) र केही अन्तरराष्ट्रिय ख्याति प्राप्त पर्वतारोहीमार्फत ८ हजार मीटरभन्दा अग्लो बाँकी हिमाललाई विश्वस्तरबाट मान्यता दिलाउने प्रयास भइरहेको छ । विगत ८/१० वर्षदेखि औपचारिक रूपमा घोषणा गर्न पहल भइरहेको छ । यसका लागि नेपालमा रहेका ८ हजार मीटरभन्दा अग्ला बाँकी हिमाललाई औपचारिक रूपमा घोषणा गर्नुअघि स्वीट्जरल्यान्डस्थित अन्तरराष्ट्रिय पर्वतारोहण संघका प्राविधिकहरू आएर नापजाँच र अध्ययन गर्ने भन्ने समझदारी भएको हो । तर, यस कार्यमा कोरोना महामारीको असरले केही ढिला हुन गएको छ । पाकिस्तान सरकारले विगत लामो समयदेखि गासेरब्रुम–१, ८०६८ मीटर र गासेरब्रुम–२, ८०३५ मीटर भनी अलगअलग मान्यता पाएको छ । हालसम्म विश्वमा मान्यताप्राप्त ८ हजार मीटरभन्दा माथिका १४ ओटा हिमालमध्ये आठओटा (६० प्रतिशत) नेपालमै छन् । विश्वकै सबैभन्दा अग्लो हिमशिखर चोमोलुङमा अर्थात् सगरमाथा नेपालमा अवस्थित छ, जुन हिमालको उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मीटर रहेको छ । त्यस्तै विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा पनि नेपालमै रहेको छ जुन हिमालको उचाइ ८ हजार ५ सय ८६ मीटर रहेको छ । विश्वको चौथो अग्लो हिमाल ल्होत्से/चे पनि नेपालमै रहेको छ जुन हिमालको उचाइ ८ हजार ५ सय १६ मीटर छ । विश्वको पाँचौं अग्लो हिमाल मकालु पनि नेपालमै छ, जसको उचाइ ८ हजार ४ सय ८६ मीटर छ । त्यस्तै विश्वको छैटांै अग्लो हिमाल चोओ यु पनि नेपालमै छ जुन हिमाल ८ हजार २ सय १ मीटर रहेको छ । विश्वको सातौं अग्लो धवलागिरि हिमालको उचाइ ८ हजार १ सय ६७ मीटर, विश्वको आठौं अग्लो मनास्लु हिमालको उचाइ ८ हजार १ सय ६३ मीटर छ । विश्वको १० औं अग्लो हिमाल अन्नपूर्ण–१ पनि नेपालमै छ । यो हिमालको उचाइ ८०९१ मीटर रहेको छ । विश्वका बाँकी ६ ओटा ८ हजार मीटर अग्ला हिमालमध्ये पाँचओटा पाकिस्तानमा रहेका छन् भने एउटा चाहिँ चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको छ । विश्व पर्वतारोहण संघ र विश्व समुदायले मान्यता दिन बाँकी ६ ओटा ८ हजार मीटरभन्दा अग्ला हिमाल सबै नेपालमै छन् । तीमध्ये चारओटा नयाँ हिमाल कञ्चनजंघा हिमालको वरिपरि छन् भने  दुईओटा नयाँ हिमालचाहिँ ल्होत्से/चे वरिपरि रहेका छन् । निकट भविष्यमा मान्यता पाउने नयाँ हिमालहरू यस प्रकार रहेका छन् : १, यलुङ काङ–८,५०५ मीटर। २, कञ्चनजंघा दक्षिण–८,४७६ मीटर, ३, कञ्चनजंघा मध्य–८,४७३ मीटर, ४, यलुङ काङ पश्चिम–८,०७७ मीटर, ५, ल्होत्से मध्य–८,४१० मीटर, ६, ल्होत्से सार–८,३८३ मीटर । थप हुने यी नयाँ हिमालको उचाइ र नाम ‘नेपाल पर्वत–२०१६, नोभेम्बर अंक’बाट लिइएको हो । वास्तवमा हाम्रो देश नेपाल भूगोल र जनसंख्याको आधारमा विश्वका अन्य देशको तुलनामा मध्यमस्तरको मात्रै भए तापनि हिमाल र हिमाल आरोहणका सम्बन्धमा भने धेरै धनी रहेको छ भन्ने ८ हजार मीटरभन्दा अग्ला हिमालका संख्याले नै बताउँछ । यी हिमाल आरोहणका लागि वर्षेनि नेपाल आउने विदेशी पर्वतारोहीहरूको संख्या पनि कम छैन । हाम्रो देश नेपालमा हिमरेखा भन्दा (५,५०० मीटर) माथिका १७ सय १३ ओटाभन्दा बढी हिमाल छन् भने सरकारले पटकपटक गरेर हालसम्म ४ सय १४ ओटा हिमाल हिमाल आरोहीहरूका लागि खुला गरेको छ । यसरी हेर्दा निकट भविष्यमै थपिने ६ ओटा नयाँ ८ हजार मीटरभन्दा माथिका हिमालले नेपालको पर्वतारोहण पर्यटनमा इँटा थप्ने काम गर्नेछ । यसरी थपिने नयाँ ८ हजार मीटरभन्दा माथिका हिमालले नेपालको हिमाल आरोहण क्षेत्रमा आम्दानी बढ्ने र रोजगारीको अवसर पनि सृजना हुने आशा गर्न सकिन्छ । साथै अन्य पर्यटकीय गतिविधिमा पनि वृद्धि हुने आशा गर्न सकिन्छ । बरु हामी सबै (पर्यटन व्यवसायमा नलागेका प्रबुद्ध वर्गहरू समेत) मिलेर थप हुने भनिएको नयाँ ८ हजार मीटर माथिका हिमाल औपचारिक रूपमा घोषणा गराउन नेपाल सरकारलाई पनि घचघच्याउनेतर्फ लाग्नुपर्ने देखिन्छ । लेखक पर्यटनकर्मी हुन् ।

सम्बन्धित सामग्री

कहाँ हरायो नयाँ हिमाल थपिने कुरा ?

नेपाल सरकारले केही नयाँ हिमाललाई पर्वतारोहीका लागि आरोहण गर्न खुला गर्ने तयारी गर्दै छ भनी पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आफू मन्त्रीबाट हट्नुभन्दा केही दिनअघि बताउनुभएको थियो । सो कुरो उहाँले त्यो बेला भएको नेपाल पर्वतारोहण संघ (एनएमए) को ३२ औं साधारणसभालाई सम्बोधन गर्ने क्रममा बताउनुभएको थियो । उहाँले नेपालमा हालसम्म नचढिएका […]

कहाँ हरायो ८ हजार मिटरमाथिका हिमाल थपिने कुरो ?

हालसम्म विश्वमा मान्यताप्राप्त ८ हजार मिटरभन्दा माथिका हिमाल १४ वटा रहेका छन् । त्यसमध्ये आठवटा (६० प्रतिशत) नेपालमा रहेका छन् । ती हुन्— विश्वकै सबैभन्दा अग्लो हिमशिखर चोमोलुङ्मा अर्थात् सगरमाथा, जुन हिमालको उचाइ ८ हजार ८ सय ४८.८६ मिटर छ । उता विश्वकै तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा पनि नेपालमै रहेको छ, जुन हिमालको उचाइ ८ […]