माधव नेपाल सहितका १४ जना सांसदलाई पदमुक्त गर्न माग गर्दै दायर गरिएको मुद्दामा आज सर्वोच्चमा सुनुवाई हुने भएको छ । उक्त मुद्दाको पेशी आज न्यायधीश इश्वर प्रसाद खतिवडा र न्यायधीश कुमार चुडालको इजलाशमा तोकिएको छ । यो मुद्दा उक्त इजलाशको तेस्रो नम्बरमा रहेकोले आज यस मुद्दामा आदेश आउने सम्भावना छ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध रिट दायर गरेका थिए । एमालेले कारवाही सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले रिट हालेका हुन् । सांसद कारवाही सिफारिसमा रोकेर सभामुखले अधिकारको पालना नगरेकाले उक्त निर्णय विरुद्ध सर्वोच्चमा रिट हालेको हो । रिटमा कारवाही गरेर १४ सांसदलाई मान्यता दिएर दल दर्ता गरेको भन्दै निर्वाचन आयोगलाई पनि विपक्षी बनाइएको छ । एमालेले १४ जनालाई सांसद पदमुक्त गर्न सर्वोच्चसँग अन्तरिम आदेश माग गरेको छ । सभामुखले अधिकार दुरुपयोग गरेर रोकेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने एमालेको तर्क छ । एमालेले १४ सांसदलाई कारवाही गर्ने निर्णय गर्दै पदमुक्त गर्न १ भदौमा संसद सचिवालयमा सिफारिस गरेको थियो । तर सभामुख सापकोटाले कारवाही सिफारिस विचाराधीन राखेर नेकपा (एकीकृत समाजवादी) दल दर्तापछि १३ भदौमा १४ सांसदलाई कारवाही गर्न नपर्ने निर्णय गरेका थिए ।यहि विषयलाई लिएर एमालेले लगातार संसद समेत अवरुद्द गर्दै आएको छ । एमाले या सभामुखले राजिनामा दिनु पर्ने या पार्टीले कारवाही गरेका माधव नेपाल सहितका १४ जना सांसदलाई पदमुक्त गर्नु पर्ने माग राखेर संसद अवरोध गर्दै आएको छ ।