माधव नेपाल सहितका १४ जना सांसदलाई पदमुक्त गर्न माग गर्दै दायर गरिएको मुद्दामा आज सर्वोच्चमा सुनुवाई हुने भएको छ । उक्त मुद्दाको पेशी आज न्यायधीश इश्वर प्रसाद खतिवडा र न्यायधीश कुमार रेग्मीको इजलाशमा तोकिएको छ । यो मुद्दा उक्त इजलाशको दोस्रो नम्बरमा रहेकोले आज यस मुद्दामा आदेश आउने सम्भावना छ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध रिट दायर गरेका थिए । एमालेले कारवाही सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले रिट हालेका हुन् । सांसद कारवाही सिफारिसमा रोकेर सभामुखले अधिकारको पालना नगरेकाले उक्त निर्णय विरुद्ध सर्वोच्चमा रिट हालेको हो । रिटमा कारवाही गरेर १४ सांसदलाई मान्यता दिएर दल दर्ता गरेको भन्दै निर्वाचन आयोगलाई पनि विपक्षी बनाइएको छ । एमालेले १४ जनालाई सांसद पदमुक्त गर्न सर्वोच्चसँग अन्तरिम आदेश माग गरेको छ । सभामुखले अधिकार दुरुपयोग गरेर रोकेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने एमालेको तर्क छ । एमालेले १४ सांसदलाई कारवाही गर्ने निर्णय गर्दै पदमुक्त गर्न १ भदौमा संसद सचिवालयमा सिफारिस गरेको थियो । तर सभामुख सापकोटाले कारवाही सिफारिस विचाराधीन राखेर नेकपा (एकीकृत समाजवादी) दल दर्तापछि १३ भदौमा १४ सांसदलाई कारवाही गर्न नपर्ने निर्णय गरेका थिए ।