काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदर नतोक्ने निर्णय गरेपछि साउनका लागि पाँचओटा बैंकले मात्र निक्षेपको ब्याजदर बढाएका छन् । बैंकहरूले आइतवार सार्वजनिक गरेको सूचनाअनुसार एनएमबि, एन.आई.सी. एशिया, प्राइम कमर्सियल, नबिल र कुमारी बैंकले असारको तुलनामा ब्याजदर बढाएका छन् । ग्लोबल आइएमई, नेपाल एसबीआई, हिमालयन, सिटिजन्स र नेपाल इन्भेष्टमेण्ट मेगा गरी पाँचओटाले ब्याजदर स्थिर राखेका छन् । बाँकी ९ ओटाले घटाएका छन् ।
बैंकहरूले असारमा निक्षेपमा अधिकतम ९ दशमलव ९९ प्रतिशतसम्म ब्याज दिएका थिए । साउनमा सबैभन्दा बढी एनएमबि बैंकले अधिकतम १० दशमलव ९८ प्रतिशत ब्याज दिने सूचना प्रकाशित गरेको छ । यो १० वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर हो । १० वर्षभन्दा कम अवधिमा भने १० दशमलव ७५ प्रतिशत ब्याजदर तोकेको छ ।
यस्तै प्राइम बैंकले ३ महीनाभन्दा बढी अवधिको व्यक्तिगत मुद्दतीमा १० दशमलव ९३ प्रतिशत, एन.आई.सी. एशियाले १५ वर्षसम्मको मुद्दतीमा १० दशमलव ९३, नबिलले २ वर्षभन्दा बढी अवधिका लागि १० दशमलव ४९ र कुमारीले ५ वर्षभन्दा बढी अवधिको लागि १० दशमलव शून्य १ प्रतिशत ब्याजदर तोकेको छ ।
ग्लोबल आइएमई, नेपाल एसबीआई, हिमालयन, सिटिजन्स र नेपाल इन्भेष्टमेण्ट मेगाको अधिकतम ब्याजदर भने असारमै कायम ९ दशमलव ९९ प्रतिशत छ । स्ट्याण्डर्ड चार्टर्डले सबैभन्दा कम ८ दशमलव ९५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले अघिल्लो महीना कायम ब्याजदरमा बढीमा १० प्रतिशत घटबढ गर्न पाउँछन् । संस्थागत मुद्दतीमा व्यक्तिगत मुद्दतीको तुलनामा २ प्रतिशत विन्दु कम र रेमिट्यान्सलाई १ प्रतिशत विन्दु बढी ब्याज दिनुपर्ने व्यवस्था छ ।