असार २१, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएसँगै आउने तयारीमा रहेको हो ।
कम्पनीले ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि बोर्डमा जेठ २५ गते निवेदन दिएको थियो । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । कम्पनीले आव २०७६/७७ को २७ दशमलव ७६ प्रतिशत बोनस शेयर वितरण कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालमा रेटिङ सम्पन्न गराइसकेको छ । इक्रा नेपालले इक्रा एपी आर ए रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कमपनीले समयमा आफ्ना दायित्व पूरा गर्न सक्ने जनाउँछ । कम्पनीको क्रेडिट रिस्क कम रहेको उल्लेख गरेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसेकको छ ।
हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । ३० प्रतिशत हकप्रद शेयर निष्कासन पछि पूँजी रू. २ अर्ब २८ करोड पुग्नेछ । हाल कम्पनीको शेयर संरचना संस्थापक तर्फको ५१ प्रतिशत र सर्वसाधारणतर्फको ४९ प्रतिशत रहेको छ । कम्पनीले १५ लाख ८२ हजार ६७१ कित्ता संस्थापक शेयर सर्वसाधारणका कन्भर्ट गरेपछि उक्त शेयर संरचना कायम भएको हो । कम्पनीको गत अवाको मुनाफाबाट वितरण गरेको २७ दशमलव ७६९ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भइसकेको छ ।
कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू.३६ करोड ३३ लाख २० हजार नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ३२ करोड ९५ लाख नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ६१ करोड ७६ लाख ७१ हजार र बीमा कोषमा रू. १ अर्ब २३ करोड ८९ लाख सञ्चित गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी रू. २७ दशमलव ९३ रहेको छ । सोमवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ९६० कायम भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा २२ रुयैयाँले घटेको हो ।