साउन ३१, काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज अफगानिस्तानको राजधानी काबुल जाने भएको छ ।
पछिल्लो समय विद्रोही समूह तालिवानले त्यहाँका सहरहरु कब्जा जमाउन थालेसँगै नेपालीहरूको उद्धारका लागि निगमको जहाज अफगानिस्तान जाने भएको हो ।
श्रम स्वीकृत लिएर सङ्गठित तथा औपचारिक रुपमा त्यहाँ गएर रहे बसेका नेपाली १ हजार ५०० को हाराहारीमा रहेको बुझिएको छ । आगामी भदौ ११ गते चार्टर उडानमार्फत् निगमको न्यारोबडी जहाज काबुल जाने तय भएको छ ।
फ्लाइट बुकिङ भइसके पनि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै निगमले परराष्ट्र मन्त्रालयसँग अनुमति मागेको स्रोतले बताएको छ । उडान सुरक्षाको प्रत्याभूतिसहित परराष्ट्र मन्त्रालयबाट अनुमति पाए अफगानिस्तानमा चार्टर उडान गर्न तयार रहेको निगमले बताएको छ ।
यसैबीच प्रतिनिधि सभाको अन्तरराष्ट्रिय सम्बन्ध सतिमितले आइवार अफगानिस्तानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षित रुपमा तत्काल उद्धार गर्न कूटनीतिकलगायतका सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिले तालिवान विद्रोहीहरु राजधानी कावुल नियन्त्रणमा लिने प्रयासमा रहेकाले भिडन्तका क्रममा नेपाली नागरिक अप्ठ्यरोस्थितिमा पर्न सक्ने भन्दै छिटोभन्दा छिटो हवाई उद्धार गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो