काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निर्माण व्यवसायीको भुक्तानी रोकिँदा धेरै क्षेत्रमा नकारात्मक असर परेको बताएका छन् । निर्माण उद्योगलाई प्राथमिकतामा राखेर व्यवसायीलाई तत्काल भुक्तानी उपलब्ध गराउन आफूले सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराइसकेको उनले जानकारी दिए । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा गभर्नर अधिकारीले सोमवार यस्तो बताएका हुन् ।
निर्माण व्यवसायीलाई भुक्तानी दिँदा तत्काल सरकारी कोष नै बलियो हुने धारणा गभर्नर अधिकारीले राखे । महासंघले निर्माण उद्योगसँग सम्बन्धित बैंंकिङ क्षेत्रको समस्या समाधानका लागि दिएका सुझावलाई राष्ट्र बैंकले गहन अध्ययन गरी जायज माग सम्बोधन गर्ने उनको प्रतिबद्धता थियो । महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीको ठूलो रकम राज्यले निकासा नगर्दा आपूर्ति शृंखलामै गम्भीर समस्या आएको बताएका थिए । निर्माण व्यवसायीका समस्या समाधानका लागि बैंक लचिलो नभए समस्या अझ विकराल हुन सक्ने उनले बताए । क्रेडिट रेटिङ, ब्याजदर समायोजन, ठेक्का कर्जा, चालू पूँजी कर्जासम्बन्धी मागदर्शन, चेक बाउन्स, कालोसूची, पुनर्कर्जा लगायत विषयमा सिंहले गभर्नर अधिकारीको ध्यानाकर्षण गराएका थिए ।