पदयात्रामा जाने विदेशी पर्यटकलाई पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड दिँदा ट्रेकिङ एजेन्सीहरूले तोकिएको भन्दा बढी शुल्क लिएर ठग्ने गरेको पाइएको छ । पर्यटन क्षेत्रमा विभिन्न प्रकारका ठगी भइरहेको सन्दर्भमा यसले त्यसमा अर्को शृंखला थपेको छ । टिम्स कार्ड वितरणको अनुगमन गर्ने संस्था नेपाल पर्यटन बोर्डको कमजोरी तथा वितरण गर्ने ट्रेकिङ एजेन्सीहरूको गैरजिम्मेवारीका कारण यस्तो भएको बुझ्न गाह्रो छैन । यसरी पर्यटकमाथि हुने ठगीका कारण नेपालको पर्यटन उद्योगको विकासमा गम्भीर आघात पार्नेछ । पदयात्रामा जाने पर्यटकको सुरक्षाको प्रत्याभूति दिन तथा गैरकानूनी पदयात्रालाई रोक्ने उद्देश्यले टिम्सकार्डको व्यवस्था गरिएको हो । तर, यो कार्ड वितरण गर्दा नै पर्यटकसँग बढी शुल्क लिएर गैरकानुनी काम गरिन्छ भने त्यसको प्रभावकारितामा पनि शंका गर्नुपर्ने हुन्छ । पर्यटकको सुरक्षाका लागि लागू गरिएको कार्डलाई पर्यटन व्यवसायीले ठग्ने उपकरणका रूपमा प्रयोग गर्छन् भने त्योभन्दा विडम्बनापूर्ण केही हुन सक्दैन । पर्यटन ह्वात्त आएर सुक्ने बर्खाको खोलाजस्तो व्यवसाय होइन ।
(सम्पादकीयबाट)
वर्ष ६, अंक ७४, आइतवार, १९ मंसिर, २०६७