शिखर इन्स्योरेन्सको शेयरमूल्यमा नकारात्मक सर्किट

साताको कारोबारको तेस्रो दिन बुधबार शिखर इन्स्योरेन्सको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । यस दिन उक्त कम्पनीको शेयरमूल्य १०२ रुपैयाँले घटेर प्रतिकित्ता ९२४ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित सामग्री

मिडियामा आएका नकारात्मक समाचारप्रति सूर्यज्योति लाइफ इन्स्योरेन्सको आपत्ति

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीलाई हानि पुर्याउने गरी केही मिडियामा आएका समाचारप्रति आपत्ति जनाएको छ ।

कात्तिकमा सोनापुर मिनरल्सको सर्वाधिक रकमको कारोबार

काठमाडौं । कात्तिक महिनामा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमवार सार्वजनिक गरेको मासिक तथ्याङ्कको आधारमा यस कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको देखिएको हो । नेप्सेका अनुसार कात्तिकमा सोनापुर मिनरल्सको ४७ करोड ९६ लाख रुपैयाँभन्दा बढीको १९ लाख ३३ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो । प्रिमियम मूल्यसहित सर्वसाधारणमा आईपीओ जारी गरी कात्तिक २ गते कम्पनीले धितोपत्र दोस्रो बजारमा ३ करोड ७ लाख ५० हजार ५०० कित्ता शेयर सूचीकृत गरेको थियो । दशैंको बिदाका कारण सूचीकृत भएको ९ दिनपछि अर्थात् कात्तिक १२ गतेदेखि कम्पनीको शेयर कारोबार शुरु भएको थियो । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयर कारोबार प्रतिकित्ता ३५० मा खुला भएको थियो । कम्पनीले उद्योग प्रभावित स्थानीयमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १२५ रुपैयाँ थप गरी प्रतिकित्ता २२५ रुपैयाँ र सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँमा प्रिमियमबापत १३७ रुपैयाँ ५८ पैसा थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ विक्री गरेको थियो । कारोबारका शुरुआती दिनमा कम्पनीको शेयर मूल्यमा निरन्तर नकारात्मक सर्किट लागेर आईपीओ खरीदकर्ताहरू नै घाटामा पुगेका थिए । पछिल्लो समय भने कम्पनीको शेयर मूल्य ३०० रूपैयाँ ३० पैसा रहेको छ ।  मूल्य बढेको अवस्थामा पछिल्ला कारोबार दिन पनि कम्पनीको शेयर कारोबार सर्वाधिक स्थानमै भइरहेको छ । सोमवार पनि १ अर्ब १९ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा सोनापुर मिनरल्सको सर्वाधिक ७ करोड ४६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । कात्तिकमा सर्वाधिक रकमको शेयर कारोबार हुने १० कम्पनीभित्र सोनापुर मिनरल्ससँगै सोल्टी होटल, हाथवे इन्भेष्टमेण्ट, सानिमा जिआईसी इन्स्योरेन्स, नबिल बैंक, सिटिजन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, एनआईसी एशिया बैंक, हिमालयन बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स छ । हिमालयन बैंकको भने संस्थापक तर्फको १७ करोड ९८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो ।  सर्वाधिक दोस्रोमा भने यो महिना सोल्टी होटलको शेयर कारोबार भएको छ । सोल्टी होटलको २७ करोड १७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । त्यस्तै हाथवे इन्भेष्टमेण्टको २६ करोड ९८ लाख रुपैयाँभन्दा बढी, सानिमा जिआईसी इन्स्योरेन्सको २६ करोड ६० लाख रुपैयाँभन्दा बढी, नबिल बैैंकको २४ करोड १९ लाख रुपैयाँभन्दा बढी, सिटिजन लाइफ इन्स्योरेन्सको २० करोड रुपैयाँभन्दा बढी, शिवम् सिमेन्टको १९ करोड ६० लाख रुपैयाँभन्दा बढी, एनआईसी एशिया बैंकको १८ करोड ३४ लाख रुपैयाँभन्दा बढी र रिलायबल नेपाल लाइफको १७ करोड ६० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको नेप्सेको तथ्याङ्कले पुष्टि गरेको छ । कात्तिक महीनामा दशै र तिहारको बिदा परेकाले जम्मा १२ कारोबार दिन मात्र धितोपत्र दोस्रो बजार खुला भएको थियो । १२ कारोबार दिनमा कात्तिक महीनामा धितोपत्र दोस्रो बजारमा १० अर्ब २१ करोड ७३ लाख रुपैयाँभन्दा बढीको ३ करोड ९८ लाख ८२ हजारभन्दा बढी धितोपत्र कारोबार भएको जानकारी नेप्सेले दिएको छ । कात्तिकमा सर्वाधिक रकमको कारोबार भएका १० कम्पनी स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

महालेखाको प्रतिवेदनमा सेबोनको असन्तुष्टि

काठमाडौं । महालेखा परीक्षककको कार्यालयले सार्वजनिक गरेको ६०औं प्रतिवेदनमा नेपाल धितोपत्र बोर्ड (SEBON)ले असन्तुष्टि व्यक्त गरेको छ ।  महालेखा परीक्षकको कार्यालयले (Office of the Auditor General) सार्वजनिक गरेको प्रतिवेदनमा बोर्डले प्रभावकारी ढंगबाट नियमन, अनुगमन, निरीक्षण तथा जाँचबुझ नगरेको उल्लेख छ । प्रतिवेदनमा कैफियत जनाइएकामध्ये धेरै काम सम्पन्न गरिसकेको बोर्डले दाबी गरेको छ । बोर्डका अध्यक्ष रमेशकुमार हमालले बोर्डले धेरै काम गर्न बाँकी रहे पनि महालेखाको प्रतिवेदनमा उल्लेख भएकामध्ये धेरैजसो सम्पन्न भएको बताए ।  यो १ वर्षमा पूँजीबजारको थप विकास र विस्तारका लागि महत्त्वपूर्ण काम बोर्डबाट भएको दाबी गर्दै हमालले ती कुरा प्रतिवेदनमा नसमेटिएको भन्दै दु:ख व्यक्त गरे ।  अति संवेदनशील धितोपत्र बजार (Stock Exchange) को नियमन गर्ने जिम्मेवारी पाएको बोर्डको काम कारबाही प्रभावकारी नभएको महालेखाको टिप्प्णीले आम लगानीकर्तामा (Investor) नकारात्मक सन्देश जाने बुझाइ हमालको छ । सूचनाको आधारमा चल्ने धितोपत्र बजारका लागि बोर्डबाट भएका सकारात्मक कदमलाई महालेखा परीक्षकको प्रतिवेदनमा समेत समेट्न पाएको भए सुनमा सुगन्ध हुने उनले बताए । २०७९ असारसम्मको अवस्थामा आधारित महालेखाको प्रतिवेदनकै आधारमा बोर्डलाई ‘जज’ नगर्न हमालले सरोकारवालालाई सुझाएका छन् ।  उपमहालेखा परीक्षक वामदेव शर्मा अधिकारीले नेपाल धितोपत्र बोर्डको २०७९ असार मसान्तसम्मको काम कारबाही हेरेर प्रतिवेदन तयार भएकाले नयाँ कुरा अपडेट नभएको बताए । उनका अनुसार बोर्डको सम्बन्धमा प्रतिवेदन तयार गर्न एक जना चार्टर्ड एकाउन्टेन्ट (CA) ‘हायर’ गरी काम गराएकाले प्राप्त लिखित जानकारीका आधारमा मात्र प्रतिवेदन तयार भएको अधिकारीको भनाइ छ । बोर्डबाट पछिल्ला समय भएका नीतिगत सुधारका विषयमा मौखिक जानकारी प्राप्त भए पनि लिखित जानकारी प्राप्त भएको उनले बताए । आगामी दिनमा महालेखाले प्रतिवेदन सार्वजनिक गर्ने अवधिसम्म असार मसान्तपछि थपिएका गतिविधिलाई समेत समेट्ने अनुभव प्राप्त गरेको भनाइ अधिकारीको छ । महालेखाले धितोपत्र बजार तथा दलालको अनलाइन रियल टाइम अनुगमन कार्यका लागि नेपाल अनलाइन ट्रेडिङ सिस्टम जडान गरे पनि धितोपत्र दलाल व्यवसायीले प्रयोग गर्ने सफैटवेयर र नेप्सेको कारोबार प्रणालीको तथ्यांकमा भिन्नता देखिएको औंल्याएको छ । त्यस्तै आईपीओ बाँडफाँट सफैटवेयरको न्यूनतम विशेषता निर्धारण नभएको, सूचीकृत संस्थाको कोषको उपयोग प्रतिवेदनले समेट्न नसकेको तथा धितोपत्र व्यवसायीको वित्तीय विवरणको ढाँचामा विविधता हुँदा पनि टिप्पणी नगरिएको र मर्जरमा गएका बैंकहरूले तोकेको समयमा वित्तीय विवरण पेश नगरेको प्रतिवेदनमा उल्लेख छ । धितोपत्र बजार सहभागीको लक्ष्यअनुसार स्थलगत अनुगमन नगरेको, आस्बा सदस्य, सूचीकृत संस्था र संस्थागत लगानीकर्ताको अनुगमन नगरेको, सूचीकृत संस्थाले निर्देशिकाअनुसारको सुशासन प्रतिवेदन पेश नगरेकोमा कारबाही नगरेको, आईपीओ, हकप्रद तथा बोनस शेयर र ऋणपत्र स्वीकृति तोकिएको समयमा नदिएको, भित्री कारोबार नियन्त्रण गर्ने जस्ता विषयमा प्रभावकारी अनुगमन, सुपरिवेक्षण र नियमन नभएको समेत महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखाको प्रतिवेदनमा बोर्डमा प्राप्त शंकास्पद कारोबार तथा गुनासोअन्तर्गत २०७८ जेठ ५ गते एक इन्स्योरेन्सको कारोबारमा ११ प्रतिशत फरक परेको, एक हाइड्रोपावरको शेयरधनीले २०७८ भदौ ४ गते धितोपत्रको दोस्रो बजारमा कारोबार गरेको, १२ कम्पनीमा बजारको निजी कारोबार तथा कोडउपर सञ्चालक तथा पदाधिकारीको संलग्नता रहेको, शेयर कर्नरिङमा एक व्यक्तिको भूमिका, दुई जलविद्युत् कम्पनीका अध्यक्षले नै कारोबार गरेकोलगायत विषयमा परेका उजुरी सम्बन्धमा टुंगो नलगाएको उल्लेख छ । महालेखाले उल्लेख गरेमध्येका केही काम बोर्डले सम्पन्न गर्न बाँकी छ । तर, पछिल्लो समय बोर्डले धितोपत्रको प्राथमिक बजार खाली नहुने गरी आईपीओ, सामूहिक लगानी कोषका एकाइ, ऋणपत्रलाई स्वीकृति दिँदै आएको बताइएको छ । बोर्डले बजारको नियमनमा कडाइ गर्दै पछिल्लो समय विभिन्न ब्रोकर कम्पनी, क्रेडिट रेटिङ कम्पनी र मर्चेन्ट बैंकरलाई समेत कारबाही गरेको छ । आईपीओ सबैलाई पर्न नसक्ने हालको अवस्थामा आवेदकलाई राहत हुने गरी बोर्डले आस्बा शुल्क घटाएर बढीमा ५ रुपैयाँसम्म लिन सक्ने व्यवस्था गरेको छ । यसअघि अधिकतम सय रुपैयाँसम्म आस्बा शुल्क लिन सक्ने व्यवस्था थियो ।  त्यस्तै बोर्डले मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिका लागू गरी लामो समय धितोपत्र बन्धक हुने समस्याको अन्त्य गरेको छ । देशव्यापी रूपमा धितोपत्र बजारको पहँुच विस्तार गर्ने उद्देश्यले बोर्डले पछिल्लो समय धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका समेत लागू गरेको छ । उक्त निर्देशिका लागू भएसँगै बोर्डले २० स्थानमा ब्रोकरलाई शाखा खोल्न अनुमति दिइसकेको छ ।

अजोड इन्स्योरेन्सको खुद नाफामा ६०.३३ प्रतिशत वृद्धि

काठमाडौँ – अजोड इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस तथा सोको कारणबाट भएको असरले समग्र अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका बावजुद कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा कुल बीमा शुल्क रु १.३१ अर्ब आर्जन गरेको छ। त्यस्तै कम्पनीले खुद नाफा रु १०.२० करोड गरेको र बीमा कोषमा रु ११.२१ […]

बीमा बजारमा अब फरक प्रकारको चेतना ल्याउन आवश्यक छ

हालै युनाइटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएकी उपासना पौडेल नेपाली बीमा बजारका लागि नयाँ व्यक्ति हुन् । भारतीय बीमा बजारमा लामो समय काम गरेकी पौडेलसँग नेपाली बीमा बजारको अनुभव भने छोटो छ । यस अवस्थामा उनले कम्पनीलाई कसरी अगाडि बढाउँदै छिन् ? प्रस्तुत छ, यस्तै समसामयिक विषयमा आर्थिक अभियानका मिलन विश्वकर्माले पौडेलसँग गरेको कुराकानीको सार : नेपालको बीमा क्षेत्रमा यसअघि कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा महिला थिएनन् । त्यो अवस्थामा तपाईं युनाइटेड इन्स्योरेन्सको सीईओमा नियुक्त हुनुभएको छ । कस्तो लागिरहेको छ ? यस कम्पनीको सीईओ भएर आउँदा एकदम उत्साहित भएको छु । तर, उत्साहसँगै जिम्मेवारी पनि बढेको महसुस भएको छ । महिला भएको हुनाले बजारले के गर्न सक्ला भन्ने पनि हुन सक्छ । यसमा महिला/पुरुषले यसमा खास अर्थ त राख्दैन । तर, केही फरक भने हुन्छ । यद्यपि, महिला भएको कारण हाम्रो आवाज सुनिन्छन् । तर, काम गर्ने मामलामा महिला/पुरुषलाई आधार बनाउनु हुँदैन । काम गर्न सक्नेलाई स्थान दिनुपर्छ । नेपालमा यस्तो संस्कार बल्ल शुरू हुन खोजेको छ । अहिले भारतका ठूला बैंक तथा बीमा कम्पनीहरूमा महिलाले पनि नेतृत्व गरेका छन् । तर, केही समयअघि त्यहाँ पनि महिलाको सहभागिता न्यून थियो । धेरै लामो समयपछि त्यहाँको बजारमा महिलाहरू नेतृत्वमा आएका हुन् । म भारतीय बीमा बजारमा २०१२ मा प्रवेश गरेको हुँ । त्यस बेला त्यहाँ महिला नेतृत्व अत्यन्त कम थियो । तर, अहिले त्यहाँ महिलाहरू नेतृत्वमा आइसकेका छन् । अब नेपालमा पनि त्यो परिवर्तन आउँदै छ । केही समयअघि युनाइटेडमा महिला कर्मचारी संख्या कम थियो । तर, अहिले कुल कर्मचारीमा महिला कर्मचारीको हिस्सा ३५ प्रतिशत पुगिसकेको छ । नेतृत्व तथा विभागीय प्रमुखहरूमा त महिलाको संख्या ५० प्रतिशतभन्दा बढी छ । यद्यपि, हामीले महिला नै भएर उनीहरूलाई स्थान दिएका भने होइनौं । महिलाले एकदम प्रतिबद्ध एवं समर्पित भएर काम गर्छन् । त्यसैले, महिलालाई महिलाको रूपमा मात्र हेर्नु हुँदैन । अझ भनौं, काम गर्ने मामलामा महिला/पुरुष भनेर भन्नु हुँदैन । बीमा क्षेत्रमा प्रवेश गरेर छोटो समयमै व्यवस्थापकीय रूपमा एक कम्पनीको नेतृत्व गर्दै हुनुहुन्छ । यहाँसम्मको यात्रा कस्तो रह्यो ? मैले ब्याचलरसम्म नेपालमै पढेको हुँ । मास्टर डिग्री भने भारतको दिल्ली युनिभर्सिटी फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिजमा गरेको हुँ । त्यो कलेज भारतको उत्कृष्ट ५ भित्र पर्छ । त्यसकारण मलार्ई त्यहाँ जागिर खोज्दै हिँड्नु परेन । त्यहाँ राम्रा कलेजहरूमा कम्पनीहरू आफै इन्टर्नशिपको अवसर लिएर आउने गर्छन् । सोही क्रममा मैले त्यहाँको एक म्यानुफ्याक्चरिङ कम्पनी कुम्मिन्स इन्डिया लिमिटेडमा जोडिने अवसर पाएँ । त्यहाँ मेरो कार्यसम्पादनलाई मूल्यांकन गर्दै कम्पनीले पूर्णकालीन रूपमै काम गर्ने अवसर दियो । यसै क्रममा नेपालीसँग नै मेरो विवाह पनि भयो । थप करिअरका लागि म २०१२ मा मुम्बई गए । त्यहाँ गएर जागिर खोज्ने क्रममा आईसीआईसीआई नामक निर्जीवन बीमा कम्पनीमा जोडिएँ । त्यही कम्पनीबाट बीमा क्षेत्रमा मेरो प्रवेश भएको हो । त्यस कम्पनीमा ६ महिना मात्र काम पाएमा पनि धेरै राम्रो हुने थियो । तर, त्यहाँ पनि मैले राम्रै कार्यसम्पादन गर्न सकेँ । त्यहाँ कार्यसम्पादनको आधारमा ३/३ वर्षमा मात्र कर्मचारीको प्रमोसन हुन्थ्यो । तर, मेरो १/१ वर्षमै प्रमोसन हुन्थ्यो । त्यहाँ काम गर्दा मेरो व्यक्तिगत जीवनलाई पनि धेरै फाइदा गर्‍यो । म त्यहाँ म्यानेजमेन्ट तहबाटै सेवा शुरू गरेको थिएँ । त्यसको प्रभावले नै मलाई अहिले युनाइटेड इन्स्योरेन्सको सीईओ हुन मद्दत पुगेको हो । त्यस कम्पनीमा काम गर्दा गर्दै म फेरि भोडाफोन नामक टेलिकम कम्पनीमा जोडिन पुगेँ । त्यहाँ काम राम्रो गरे पनि उत्साह भने भएन । त्यहाँ ६ महिनाजति काम गरेर म बीमा बजारमै फर्किएँ । त्यसपछि मैले आईसीआईसीआईसँग मर्ज हुन लागेको भारतीय एक्सा नामक बीमा कम्पनीमा काम शुरू गरेँ । तर, भारतमा लामो समयसम्म बस्न मन भएन । अन्ततः हामी (श्रीमान् समेत)ले २०१९ डिसेम्बरमा नेपाल आउने निर्णय गर्‍यौं । नेपाल आएर सानिमा जनरल इन्स्योरेन्समा महाप्रबन्धकको रूपमा काम शुरू गरेँ । त्यसपछि युनाइटेड इन्स्योरेन्समा डीसीईओ रूपमा नियुक्त भएर डेढ वर्षअघि आएको हुँ । लामो समय भारतीय बीमा बजारमा काम गर्नुभयो । अहिले नेपाली बीमा बजारमा सक्रिय हुनुहुन्छ ? नेपाल र भारतीय बीमा बजारमा महिला सहभागिता, पहु“च, प्रविधि लगायतको अवस्था कस्तो छ ? भारतमा अहिले महिला कर्मचारीको हिस्सा बढी नै छ । त्यहाँ कम्पनीमा ३५ प्रतिशत महिला कर्मचारी हुनुपर्ने प्रावधान पनि छ । त्यसको कारणले पनि त्यहाँ अहिले महिला कर्मचारीको हिस्सा राम्रो छ । तर, उनीहरूले महिला नै भएर जागिर पाएका भने होइनन् । काम गर्न सक्ने भएर नै पाएका हुन् । तर, नेपालमा भने महिलाको सहभागिता कम नै छ । तर, विस्तारै बढ्दै गएको पनि देखिन्छ । तर, महिलाले काम भने गर्न सक्नुपर्छ । अहिले यहाँ महिलाको हिस्सा ३५ प्रतिशत हुनुपर्छ भनियो भने काम गर्ने सक्ने मान्छे पाउन गाह्रो हुन्छ । त्यो कोटा परिपूर्ति गर्दा प्रभावकारिता पनि घट्न सक्छ । महिला कर्मचारीको हकमा विस्तारै विकास हुन्छ जस्तो लाग्छ । हाम्रो कम्पनीमा त भइपनि सक्यो । केही समय यहाँ १० प्रतिशत महिला कर्मचारी थिए । अहिले त्यो ३०÷३५ प्रतिशत पुगेको छ । विभागीय प्रमुखहरूमा त ५० प्रतिशतभन्दा बढी छ । अरूले शुरू नगरे पनि हामीले शुरू गरेका छौं । अब यसको नतीजा कस्तो आउँछ, त्यो पनि विस्तारै देखिन्छ । नतीजा राम्रै आयो भने अन्य कम्पनीले पनि यस्तो अभ्यास गर्न सक्छन् । कम्पनीले राम्रो व्यवसाय गर्दै गयो भने महिलामैत्री कार्यालय पनि बनाउँछौं । तर, अहिले कम्पनीसँग पर्याप्त पूँजी नहुँदा त्यो गर्न सकिएको छैन । निकट भविष्यमा हुन सक्छ । नेपालका कम्पनी महिलामैत्री भने छैनन् । भारतमा यस्ता कम्पनीहरूमा ‘चाइल्डकेयर सेन्टरहरू’ पनि छन्, ता कि बच्चा भएका महिला कर्मचारीले पनि कार्यालयमा आएर काम गर्न सकून् । बच्चा हेर्नकै लागि जागिर छोड्न नपरोस् । तर, नेपालमा त्यस्तो संस्कृतिको विकास भएको छैन । करियर राम्रो भएका महिला साथीहरू पनि बच्चा हेरचाह गर्नकै लागि जागिर छोडेका विभिन्न उदाहरण छन् । परम्परागत मान्यतालाई ध्यानमा राखेर बच्चा हेरचाह गर्न श्रीमतीलाई नै जागिर छोड्न लगाइन्छ । यस अवस्थामा महिलामैत्री कार्यालय बनाउन आवश्यक छ । साथै, हामी विमन ब्रान्च नै बनाउने योजनामा छौं । महिलाले मात्र काम गर्ने तथा महिलासम्बन्धी बीमा गर्नेगरी विमन ब्रान्च स्थापना गर्ने योजनामा छौं । बजारका कुरा गर्दा हामी भारतीय बीमा बजार भन्दा पछाडि नै छौं । म सन् २०१२ मा भारतीय बजारमा प्रवेश गरेको हुँ । त्यसबेला त्यहाँ म्यानुअल रूपमै बीमा पोलिसी जारी गरिन्थ्यो । तर, केही वर्षमै त्यहाँ त्यो अवस्था अन्त्य भयो । सूचनाप्रविधिमा एकदम राम्रो परिवर्तन आयो । तर, नेपाली बीमा बजार यस मामलामा अझै पछाडि छ । अब प्रविधिको विकास गर्न सकियो भने राम्रो हुन्छ । कम्पनीहरूको खर्च पनि घट्छ । त्यसरी बचेको पैसा अन्य क्षेत्रमा लगानी गरेर फाइदा कमाउन सकिन्छ । त्यसकारण अब नेपाली बजारलाई डिजिटाइजेशन गर्न आवश्यक छ । अबको केही वर्षमै त्यो पूरा हुने देखिन्छ । केही समय पहिला यस कम्पनीको व्यावसायिक गतिविधि त्यति राम्रो थिएन । तर, अहिले राम्रो देखिएको छ । यसका कारण के के हुन् ? कम्पनीको ग्रोथ राम्रो थिएन नै । त्यसैले नै म य यहाँ आएको हुँ । मलाई मेहनत गर्न, चुनौती लिन मन लाग्छ । कम्पनीलाई राम्रो बनाउने चुनौती लिएरै म यहाँ आएको हुँ । २७ वर्ष पूरा गरेको कम्पनी अहिले जुन स्थानमा हुनुपर्ने थियो, त्यो स्थानमा छैन । बजारको हामीप्रतिको धारणा पनि त्यति राम्रो छैन । हामी बजारमा त्यति भिजिबल नै थिएनौं । यस अवस्थामा कम्पनीलाई माथि उकास्न निकै चुनैतीपूर्ण छ । त्यस चुनौतीलाई सामना गर्नेगरी केही रणनीति पनि बनाएर अगाडि बढेका छौं । युनाइटेड स्थापनाको आधारमा पाँचौं र पुरानो कम्पनी पनि हो । त्यो हिसाबले पहिला हामीसँग ठूला पोर्टफोलियो कारोबार गर्ने ग्राहक पनि थिए । तर, विस्तारै उनीहरूले हामीसँग कारोबार गर्न छाड्दै गए । सामान्यतया कम्पनीप्रति सकारात्मक र नकारात्मक दुवै धारणा भएका ग्राहक हुन्छन् नै । तर, हाम्रोमा नकारात्मक धारणा भएका ग्राहक हावी भएर समस्या भएको हो । त्यो अवस्थामा हामीले ग्रोथ बढाउनुभन्दा पनि हामीप्रति ग्राहको धारणा परिवर्तन गर्नुपर्ने मुख्य चुनौती छ । त्यसैले हामीले लागो नै परिवर्तन गरेर कम्पनीलाई रिब्रान्डिङ गर्दै गएका छौं । यो नेपाली बजारमा नयाँ अभ्यास हो । लोगो परिवर्तन गरेपछि हामीलाई बजारमा जान धेरै सजिलो पनि भएको छ । अहिले बजारमा पुरानो छवि करीब हटेको अवस्था छ । साथै, हाम्रो टिम समेत नयाँ छ । त्यसले गर्दा पनि हामीलाई काम गर्न सहज भएको छ । हामीप्रति नकारात्मक धारणा बनाएका ग्राहक पनि सानो सानो बीमा लिएर आउन थालेका छन् । यस्तै, म आएपछि कम्पनीको आन्तरिक व्यावसायिक रणनीति पनि बनायौं । नाफा दिन नसक्ने शाखा बन्द गर्ने, काम गर्न नसक्ने कर्मचारीलाई आन्तरिक रूपमै प्लेसमेन्ट गर्ने काम पनि गरेका छौं । हामीले व्यवसाय विस्तारको मामलामा काठमाडौंभन्दा बाहिरको शहरलाई प्राथमिकता दिएका छौं । अहिले काठमाडौंको बजार ‘अकुपाई’ भइसकेको छ । त्यसैले हामी काठमाडौं बाहिर व्यवसाय विस्तारका लागि आक्रामक रूपमा लागेका छौं । नारायणगढ, हेटाैंडा, वीरगञ्ज, नेपालगञ्ज, विराटनगर जस्ता शहरलाई बढी प्राथमिकतामा राखेका छौं । पछि अन्य ठाउँमा पनि व्यवसाय विस्तार गर्नेछौं । विस्तारै काठमाडौंको मार्केटलाई रिभाइव गर्छाैं । हामीले कम्पनीको आन्तरिक कामलाई पनि अटोमेशन गरेका छौं । इन्टरनेट, प्रविधिबाट गर्न सक्ने जति सबै कामलाई अटोमेशन गरेका छौं । पहिला १५ दिनमा गरिने काम अहिले एक दिनमै हुन्छ । यस्तै, हामीले महिलालाई लक्षित गरेर घरदेखि नै काम गर्ने परिपाटी विकास गरेका छौं । अहिले यो कम्पनीमा काम गरिरहेका कर्मचारी छाडेर जान चाहँदैनन् । तर, हामी नयाँ इन्नोभेशन गर्ने अवस्थामा अझै पुग्न सकेको छैनौं । हामीले पहिले बिग्रेका कामलाई नै सुधार गर्दै गएका छौं । समग्रमा अहिले हामी दाबी भुक्तानीमा बढी ध्यान दिएका छौं । यसलाई राम्रो गर्न सकियो भने व्यवसाय बढाउन समस्या हुँदैन । त्यसपछि हामी इन्नोभेशनमा पनि जानेछौं । हामीले अधिकारलाई पनि विकेन्द्रित गरेका छौं । सीईओ भए पनि मैले सबै अधिकार लिएको छैन । केही अन्य साथीहरूलाई पनि विभिन्न विषयमा निर्णय गर्न सक्ने अधिकार दिइएको छ । त्यसले गर्दा उहाँहरूलाई पनि जिम्मेवारी बोध हुन्छ र कम्पनीलाई अगाडि बढाउन सहज हुन्छ । कम्पनीले लामो समयदेखि शेयरधनीलाई लाभांश दिन सकेको छैन । अब हामी हरेक लाभांश दिनेगरी हामी काम गर्छाैं । यस्तै, हामीले कर्मचारीमा पनि लगानी गर्न आवश्यक छ । उनीहरूमा लगानी गर्न सकिएन भने कम्पनी अगाडि बढ्न सक्दैन । अहिले कम्पनीको व्यावसायिक गतिविधि राम्रो छ भन्नुभयो । अबको २–४ वर्षमा कम्पनीलाई कस्तो रूपमा देख्न सकिन्छ ? इच्छाशक्ति त नम्बर एक नै बनाउने हो । तर, उत्कृष्ट पाँचसम्म पुग्न सकिन्छ जस्तो लाग्छ । पहिला हामी १८औं स्थानमा थियौं । अहिले १३ नम्बरमा आएका छौं । गत वैशाखको मात्र व्यवसायलाई आधार मान्ने हो भने हामी छैटौं स्थानमा छौं । त्यसअनुसार कम्पनी छिट्टै माथि आउने देखिन्छ । यो वर्ष अर्ब क्लबमा पुग्ने लक्ष्य थियो । तर, कोरोनाका कारण त्यसमा चुनौती देखिएको छ । अहिले व्यवसायमा ६२ प्रतिशतको वृद्धिदर देखिएको छ । तर, यो सधैं कायम रहँदैन । तर, बजार १२/१३ प्रतिशतको वृद्धिदरमा अगाडि बढ्दा हामी २० प्रतिशतसम्मको वृद्धिमा अगाडि बढ्छौं । पहिला युनाइटेड इन्स्योरेन्समा काम गर्न सहज थिएन भन्ने सुनिन्थ्यो । अहिले कस्तो अवस्था छ ? त्यस्तो मैले पनि सुनेको थिएँ । तर, मैले यहाँ डीसीईओदेखि काम गर्दा त्यस्तो महसुस गरिनँ । यहाँ हामी पारिवारिक वातावरणमै काम गर्छाैं । सञ्चालक समितिको काम भनेको सञ्चालन गर्ने र हामीलाई बीमा समितिको दायरामा रहेर विभिन्न निर्देशन दिने हो । तर, हाम्रो कम्पनीको अध्यक्षज्यू, हाम्रो प्रवर्द्धक समूह र सञ्चालक समितिबाट व्यवसाय बढाउन धेरै सहज वातावरण प्राप्त भएको छ । बोर्ड र म्यानेजमेन्ट टीम बीच एकदम राम्रो सहकार्य छ । कर्मचारी र म्यानेजमेन्ट टीमबीचको सहकार्य पनि राम्रो छ । त्यसैले हामी पछिल्लो समय कम्पनीको गतिविधि राम्रो बनाउन सफल भएका छौं । अब नेपाली बीमा बजार कसरी अगाडि बढ्नुपर्छ होला ? अहिले आममानिसमा बीमाको जागरण आइसकेको छ । कोरोना बीमाको दाबी भुक्तानीको विषयलाई नकारात्मक वा सकारात्मक कुुन रूपमा हेर्ने, आफ्नो ठाउँमा छ । बीमा कम्पनीले दाबी भुक्तानी दिएका नै छन् । कोरोना बीमाको कारण गाउँ गाउँमा बीमाको पहुँच तथा सचेतना बढेको छ । यो सकारात्मक पक्ष हो । त्यसअनुसार अब बीमा जागरण आइसकेको छ । अब नयाँ नयाँ प्रडक्ट ल्याउने, बीमाको फरक जागरण दिने काम गर्नुपर्छ । अहिले मोटर बीमामा थर्ट पार्टीको मात्र बीमा हुन्छ । तर, मोटरसाइकल दुर्घटना भएर बिग्रिँदा पनि बीमाले कभर गर्छ भन्नेबारे धेरैलाई थाहा छैन । यस्ता विषयमा पनि सचेतना ल्याउन आवश्यक छ । यसैगरी नयाँ नयाँ प्रडक्ट पनि ल्याउनुपर्छ । विशेषगरी ग्याजेट्स बीमालाई प्रवर्द्धन गर्नुपर्छ । नेपालमा अहिले मोबाइलको प्रयोग व्यापक छ । तर, त्यो खसेर फुट्दा, कुनै पाटपुर्जा बिग्रिँदा ठूलो रकम खर्च हुने गरेको छ । त्यसको बीमा गरेको भए ग्राहकको पैसा खर्च हुने थिएन, बीमाले भुक्तानी गर्ने थियो । अब यस्तै प्रकारका बीमाहरू प्रचलनमा ल्याउनुपर्छ । साथै, ४ वर्षअघि ७ प्रतिशत रहेको बीमाको पहुँच अहिले करीब २४ प्रतिशत पुगेको छ । यो ठूलो उपलब्धि हो । अब त्यो ५० प्रतिशत पुग्न कुनै समस्या हुँदैन । तपाईंहरू पनि कुनै नयाँ प्रडक्ट ल्याउने तयारीमा हुनुहुन्छ कि ? विशेषगरी हामीले महिलामा हुने क्यान्सरलाई लक्षित गरेर एउटा बीमा पोलिसी बनाउने तयारी गरेका छौं । यस विषयमा काम भइरहेको छ । यसका अलावा अन्य योजनाहरू पनि बनाउने तयारी छ ।