सगरमाथा इन्स्योरेन्सको यसवर्षको लाभांश हालसम्मकै कम, शेयरमूल्यमा नकारात्मक प्रभाव

जेठ ५, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले यसवर्ष हालसम्मकै कम लाभांश प्रस्ताव गरेको छ ।  कम्पनीले गत आर्थिक वर्ष २०७६/ ७७ को सञ्चित मुनाफाबाट कुल ११ दशमलव ५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको जेठ ४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ लाख २३ हजार रहेको छ । प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।  गत वर्ष भने कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेको थिएन । गत वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७४/ ७५ को सञ्चित मुनाफाबाट भने ८६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।  पछिल्लो पाँच आर्थिक वर्षको लाभांश इतिहासलाई हेर्दा अघिल्लो आर्थिक वर्षनै सर्वाधिक लाभांश कम्पनीले वितरण गरेको थियो । त्यस अघि आर्थिक वर्ष २०६८/ ६९ को सञ्चित मुनाफाबाट १०० प्रतिशत बोनस शेयर र २९ दशमलव ६२ प्रतिशत करसहितको नगद लाभांश कम्पनीले वितरण गरेको थियो ।  बीमा समितिको निर्देशन बमोजिम निर्जीवन कम्पनीहरुले कायम गर्नुपर्ने रू. १ अर्ब चुक्तापूँजीका लागि कम्पनीले गत वर्ष ८६ प्रतिशत बोनस शेयर वितरण गरेको हो । लाभांश प्रस्ताव सार्वजनिक भएको दिन कम्पनीको शेयरमूल्य ४ दशमलव शून्य ५ प्रतिशत घटेको छ ।  यसदिन बजार दोहोरो अंकले घटेको छ । प्रतिकित्ता रू. १ हजार ७७० मा खुलेको कम्पनीको शेयर मूल्य अधिकतम रू. १ हजार ७७५ सम्म पुगेको थियो । अन्तिममा अघिल्लो कारोबार दिनको तुलनामा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७२ ले घटेर अन्तिम मूल्य रू. १ हजार ७०५ कायम भएको हो । कम्पनीको विगतको पाँच वर्षको लाभांश विवरण :                                                                स्रोतः कम्पनीले जारी गरेको सूचना