असार १५, काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुबै योजनाले जेठ मसान्तको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेका छन् ।
उक्त वित्तीय विवरण अनुसार दुबै योजनाको एनएभी वैशाख मसान्तको तुलनामा जेठ मसान्तमा वृद्धि भएको छ । लक्ष्मी उन्नति कोषको एनएभी जेठ महीनामा रू. १५ दशमलव २५ पुगेको छ । उक्त योजनाको एनएभी वैशाख महीनामा रू. १४ दशमलव शून्य २ पुगेको थियो ।
त्यसैगरी लक्ष्मी इक्विटी फण्डको एनएभी वैशाख मसान्तको तुलनामा जेठ महीनामा शून्य दशमलव ७८ पैसा बढेको हो ।
योजनाको एनएभी वैशाख मसान्तमा रू. १५ दशमलव ३५ रहेकोमा जेठ मसान्तमा वृद्धि भएर रू. १६ दशमलव १३ पुगेको हो । एनएभी सँगै यस योजनाको नाफामा पनि वृद्धि भएको छ ।
वैशाख महीनामा रू. ५६ करोड ७ लाख ७५ हजार नाफा कमाएको उक्त योजनाले जेठ महीनामा वृद्धि गरेर रू. ६५ करोड ७४ लाख ३३ हजार कमाएको हो । साथै योजनाको जेठ महीनाको कुल लगानीको लागत मूल्य रू. ५९ करोड ३० लाख ४२ हजार रहेकोमा यसको बजार मूल्य रू. ९३ करोड ७९ लाख ५७ हजार पुगेको हो ।
त्यसैगरी लक्ष्मी उन्नति कोषले जेठ मसान्तसम्ममा रू.३४ करोड २५ लाख ७ हजार नाफा कमाएको छ । वैशाख मसान्तमा योजनाले रू.२६ करोड २५ लाख ३९ हजार नाफा कमाएको थियो ।
उक्त योजनाले जेठ महीनामा गरेको कुल लगानीको लागत मूल्य रू. ३७ करोड १ लाख ४२ हजार रहेकोमा यसको बजार मूल्य रू. ५५ करोड ६१ लाख ७३ हजार पुगेको हो ।