सर्वोच्च अदालतले संवैधानिक नियुक्तिमाथि परेको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । कामु प्रधानन्यायधिश दीपककुमार कार्की, तथा न्यायधिशहरु मीरा खडका, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलाशले अन्तरिम आदेश दिन अस्विकार गर्दै कारण देखाउ आदेश मात्र जारी गरेको हो ।निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत संवैधानिक अंगमा गरिएका नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । निवेदकहरुले संसद विघटन गरेर अध्यादेशमार्फत संवैधानिक परिषद्को नियम परिवर्तन गरेर संवैधानिक अंगमा नियुक्ति गर्नु असंवैधानिक र गैरकानुनी भन्दै नियुक्त गरिएका पदाधिकारीलाई काममा रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए । ओली सरकारले सबै सदस्य उपस्थित हुनुपर्ने संवैधानिक परिषद्को व्यवस्थालाई अध्यादेशमार्फत बहुमत सदस्य उपस्थित भएर नियुक्ति सिफारिस गर्नसक्ने गरी परिवर्तन गरेर दुई चरणमा संवैधानिक अंगमा ५२ जना नियुक्ति गरेको थियो। त्यसविरुद्ध अधिवक्ताहरु ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी, समृत खरेलले रिट निवेदन दायर गरेका थिए।