साउन ३१, काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आइतवार हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको साउन ३१ गतेको सञ्चालन समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यस अघि कम्पनीले १० दशमलव ५३ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो ।
यस वर्ष हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको कम्पनीले बोनस पछि कायम चुक्तापूँजीको आधारमा २०० प्रतिशत हकप्रद शेयर वितरण गर्ने निर्णय समेत गरेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
कम्पनीले विक्री गर्ने निर्णय गरेको हकप्रद शेयर भने आगामी वार्षिक साधारण सभाले पारित गरेपछि नियामक निकायले स्वीकृति दिएपछि मात्र सार्वजनिक निष्कासनमा आउनेछ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ५८ करोड ९१ लाख १० हजार रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. १३ करोड ६३ लाख ३ हजार रहेको छ ।
उक्त अवधिसम्म कम्पनीले रू. १२ करोड २७ लाख ७१ हजार खुद नाफा गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. २४ दशमलव ९३ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १२३ दशमलव १४ रहेको छ ।