पुस २४, काठमाडौं । ज्योति विकास बैंकले शुक्रवार कुल १५ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।
बैंकले १४औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न गरी ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को वितरणयोग्य रकम रू. ५९ करोड ६९ लाख ३८ हजार ८१८ बाट हाल कायम चुक्तापूँजी रू. ३ अर्ब ८४ करोड ४८ लाख २२ हजारको आधारमा उक्त लाभांश वितरण गर्ने बाटो खुलाएको हो ।
कम्पनीको यस वर्षको लाभांश हालसम्मकै उच्च हो । गतवर्ष १० प्रतिशत बोनस शेयर वितरण गरेको कम्पनीको हालसम्मको लाभांश इतिहासलाई हेर्दा यसअघि अघिल्लो वर्ष १२ दशमलव ७५ प्रतिशत लाभांश वितरण गरेको देखिन्छ । आर्थिक वर्ष ०७५/७६ को मुनाफबाट कम्पनीले यस अघिको उच्च लाभांश वितरण गरेको थियो ।
सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरुलाई समेत स्वीकृति प्रदान गरेको छ ।
साथै, सभामार्फतनै तम्घास, मुर्गिया र टाँडी स्थित सञ्चालनमा आएको थप तीन नयाँ शाखा कार्यालयहरुको उद्घाटन समेत भएको छ । यी तीन शाखासँगै बैंकको शाखा कार्यालयहरुको संख्या १०८ पुगेको छ ।