हालसम्मकै उच्च विन्दुमा राधी विद्युत् कम्पनीको शेयरमूल्य, प्रतिकित्ता शेयर मूल्य १०६५

जेठ १४, काठमाडौं । राधी विद्युत् कम्पनीको शेयर मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।  कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ६५ पुगेको हो । कम्पनीले आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै शेयरमूल्यमा वृद्धि भएको हो ।  कम्पनीले शेयरधनीलाई गत आवको मुनाफाबाट ३६ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले उक्तलाभांशवितरण गर्र्ने प्रस्ताव गरेको थियो ।कम्पनीले आकर्षक लाभांश वितरण गर्ने घोषणा गरेसँगै शेयर मूल्य ९ प्रतिशतका दरले वृद्धि हुँदै आएको छ ।   कम्पनीले प्रस्ताव गरेको लाभांश नियामक निकाय र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी रू.४७ करोड ३५ लाख ५६ हजार रहेको छ । ३६ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण पछि पूँजी रू. ६४ करोड ६४ लाख भन्दा बढी पुग्नेछ । दुई वर्ष अगाडि कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १३० मा थियो । एक सातादेखि हाइड्रोपावर समूहको बजार बुलिस ट्रेण्डमा रहेको छ । जसका कारण  लगानीकर्ताको आकर्षण हाइड्रोपावर कम्पनीहरुमा रहेको छ । सोही कारण पनि कम्पनीको शेयरमूल्य बढ्न टेवा पुगेको हो ।  हाल नेप्सेमा ४० ओटा हाइड्रोपावर कम्पनीहरु सूचीकृत छन् ।  पछिल्लो सयम सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा बढी शेयरमूल्य भएको कम्पनी पनि राधी विद्युत् कम्पनी नै बनेको छ ।  केहिदिन अगाडि अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य बढी रहेको थियो तर हालैका दिनमा राधी विद्युत् कम्पनी सबैभन्दा बढी शेयरमूल्य भएको कम्पनी बनेको छ । उक्त कम्पनीले यसभन्दा अगाडि आव २०७४/ ७५ को मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिएको थियो ।