लाभांश सुरक्षित गर्ने अन्तिम दिन ३ ओटा कम्पनीको शेयरमूल्यसँगै कारोबार रकम पनि बढ्यो

कात्तिक ७, काठमाडौं । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरुको लाभांश सुरक्षित गर्ने क्रम पनि यतिवेला दैनिक जसो चलिरहेको छ । कम्पनीहरुले तय गरेको बुक क्लोजको मितिको आधारमा लगानीकर्ताहरुले लाभांश सुरक्षितका लागि बुक क्लोजको मितिको अघिल्लो कारोबार दिनसम्म शेयर कायम गर्नुपर्ने हुन्छ ।  सोमवार कुमारी बैंक, गुराँस लघुवित्त र शिवम् सिमेन्ट्सले आगामी साधारण सभाका लागि बुक क्लोज गर्दैछन् । बुक क्लोजको आधारमा आइतवार यी कम्पनीहरुको शेयर कायम गर्नुपर्ने अन्तिम दिन रहेको थियो ।  लाभांश सुरक्षित गर्नुपर्ने अन्तिम दिन तीन ओटै कम्पनीको शेयरमूल्यसँगै कारोबार रकम पनि बढेको छ । कुमारी बैंकको अघिल्लो कारोबार दिनकोभन्दा शेयरमूल्य प्रतिकित्ता रू.१ दशमलव १० अर्थात शून्य दशमलव ३९ प्रतिशतले बढेर अन्तिम मूल्य रू. २७९ दशमलव ९० कायम भएको छ । यो दिन कुमारी बैंकको रू. ४ करोड ७७ लाखभन्दा बढीको शेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन कुमारी बैंकको रू. १ करोड ५० लाखभन्दा बढीको शेयर कारोबार भएको थियो ।  त्यस्तै गुराँस लघुवित्तको आइतवार रू. २६ लाख ८० हजार बराबरको शेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन गुराँस लघुवित्तको रू. २५ लाख ४३ हजार बराबरको कारोबार भएको थियो । शेयरमूल्य पनि यो दिन अघिल्लो कारोबार दिनको भन्दा प्रतिकित्ता रू. ३२ दशमलव ५० अर्थात २ दशमलव १२ प्रतिशतले बढेको छ । यस वर्ष हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको शिवम् सिमेन्ट्सको लाभांशप्रति पनि लगानीकर्ताको आकर्षण देखिएको छ । आइतवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४० अर्थात् ३ दशमलव २७ प्रतिशतले बढेर अन्तिम मूल्य रू. १ हजार २६५ कायम भएको छ । अघिल्लो कारोबार दिन रू. १ करोड ४५ लाखभन्दा बढीको शेयर कारोबार भएको शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रू. २ करोड ९० हजारभन्दा बढीको शेयर कारोबार भएको हो ।  गुराँस लघुवित्तले कात्तिक २२ गते छैटौं वार्षिक साधारण सभा बोलाएको छ । सभाका लागि कम्पनीले १६ दशमलव ९०६४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।  त्यस्तै कुमारी बैंकले कात्तिक १६ गते २१औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभाका लागि ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि २ दशमलव ६७ प्रतिशत नगद लाभांश प्रस्तावसहित अन्य विविध प्रस्ताव पारित गर्नेछ । शिवम् सिमेन्ट्ले यस वर्ष २९ प्रतिशत करसमेत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि उक्त कम्पनीले कात्तिक १६ गते छैटौं वार्षिक साधारण सभा बोलाएको छ ।

सम्बन्धित सामग्री