काठमाडौं । लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्ड, लक्ष्मी उन्नति कोष र शुभ लक्ष्मी कोषले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् ।
विवरणअनुसार तीन ओटै फण्ड नोक्सानीमा रहेका छन् । वैशाख मसान्तसम्म शुभ लक्ष्मी कोष रू. २ करोड ८ लाख, लक्ष्मी उन्नति कोष रू. ८ करोड ८१ लाख र लक्ष्मी इक्विटी फण्ड रू. २४ करोड ६ लाख नोक्सानीमा रहेका हुन् । वैशाख मसान्तमा यी तीन ओटै फण्डको जम्मा आम्दानी ऋणात्मक रहेको छ भने जम्मा खर्च पनि चैत महीनाको तुलनामा वैशाखमा बढेको छ । यस कारण फण्डहरू नोक्सानीमा रहेका हुन् । चैत महीनामा पनि यी फण्ड नोक्सानीमा थिए ।
लक्ष्मी इक्विटी फण्डको न्याभ चैत महीनाको तुलनामा वैशाखमा घटेको छ । फण्डको न्याभ चैत मसान्तसम्म १० रुपैयाँ ३ पैसा रहेकोमा वैशाख मसान्तमा ९ रुपैयाँ ७२ पैसामा झरेको हो । त्यस्तै गरी फण्डको सूचीकृत शेयरमा लगानी पनि घटेको छ । चैत मसान्तसम्म यस फण्डले सूचीकृत धितोपत्रमा रू. ७७ करोड ६७ लाख लगानी गरेकोमा वैशाख मसान्तसम्म रू. ७५ करोड ९ लाखमा झरेको हो ।
त्यस्तै लक्ष्मी उन्नति कोषको न्याभ पनि चैत मसान्तको तुलनामा वैशाख मसान्तमा घटेको छ । चैत मसान्तसम्म फण्डको न्याभ १० रुपैयाँ २५ पैसा रहेकोमा वैशाख मसान्तमा ९ रुपैयाँ ९७ पैसा कायम भएको हो । यस फण्डले वैशाख मसान्तसम्म सूचीकृत धितोपत्रमा रू. ३६ करोड ६ लाख लगानी गरेको छ । यो लगानी चैत मसान्तसम्म रू. ३६ करोड ८८ लाख थियो ।
शुभ लक्ष्मी कोषको न्याभ पनि घटेको छ । फण्डको न्याभ चैत मसान्तसम्म ९ रुपैयाँ ६७ पैसा रहेकोमा वैशाख मसान्तमा ९ रुपैयाँ २६ पैसा कायम भएको हो । त्यस्तै यस फण्डले वैशाख मसान्तसम्म सूचीकृत शेयरमा रू. १७ करोड २२ लाख लगानी गरेको छ ।
लक्ष्मी इक्विटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
लक्ष्मी उन्नति कोषको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
शुभ लक्ष्मी कोषको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्